20/06/2025
✍️ सेतो कलमको अन्त्यष्टी
~~~~~•••••••~~~~~•••••••~~~~~
कसैबाट मलाई प्राप्त भएको थियो मैले धेरै माया र जतनले आजसम्म प्रयोग गरेको सेतो कलम । हेर्दा सामान्य लाग्ने तर उसको अक्षरसँग दौडने क्षमता र गुणले मलाई प्रभावित पारेको थियो । सेतो रङको उसको शरीर पारदर्शी थियो । उसका शारीरिक अङ्गप्रत्यङ्गहरु पनि प्रष्ट रुपमा देखिन्थे । रगत भने कालो थियो । उसको प्राणपखेरु त्यो कालो रगतमा नै अडेको थियो । उसको रगत पनि दिनदिनै घट्दैजाँदै थियो । यसको अर्थ उसको जीवन छोटिदै थियो। हामी मानिसजस्तै उसको पनि रगत र जीवनबीचको नाता थियो ।रगतको समाप्तिसँगै उसको जीवन अन्त्य हुने निश्चित थियो । रगत प्रत्यारोपण र शुद्दिकरणको सम्भावना थिएन ।
मैले त्यस कलमलाई करिब १५ दिन साथमा राखे र मलाई उसले लेखनमा साथ दिईनैरहयो। त्यो कलम मेरो कामको सिलसिलामा बिशेष गरेर डिस्प्याच सर्टिफिकेट तयार पार्दा प्रयोग गर्ने गर्थे। करिब २२० भन्दा बढि सर्टिफिकेट त्यो कलमले सजिए। सर्टिफिकेट जस्तो मुल्यवान कागजातमा त्यो कलमले लेख्न पायो, उसलाई पनि गर्वानुभूति भएकै हुनुपर्छ । लेख्नु उसको धर्म थियो, लेख्यो पनि तर अन्य समय भने मैले लगाउने जक्कर सुरुवालको खल्ती भित्र सुतेरै उसको जीवनको धेरै समय काट्यो उसले ।
हुन त कलमको आफनै घर पनि थियो तर मैले उसलाई त्यो घरमा कहिल्यै बस्न दिईन । उसको आफ्नो घर हुँदाहुँदै उसलाई त्यहाँ बस्न नदिनु मेरो ठूलो भूल थियो होला । यसको पछाडि म मा एउटा स्वार्थ लुकेको थियो । त्यो स्वार्थ के थियो भने मैले उसलाई उसकै घरमा राख्ने गर्दा उसको साथ मैले कहिलेकाँही नपाउन सक्ने अवस्था पनि हुन सक्दथ्यो । मैले उसलाई उसकै घरमा बिर्सेर छोडेको हुन सक्दथे । यो मेरो डर पनि थियो र मलाई यस कुराले अलिकति स्वार्थी बनाएको थियो होला । तर आज भने मलाई मेरो त्यो गल्तिको बोध भएको छ र म मा उब्जेको हिनताबोधले मलाई गलाएको छ, कमजोर बनाएको छङ। म कहिलेकाँही आफैलाई प्रश्न गर्ने गर्दछु, ''किन मैले उसलाई घरविहिन बनाए?'' म दोषी हो, म पापी हो, म स्वार्थी हो, हो हो म अरुको जीवन नचिन्ने, आफनै बारे मात्र सोच्ने तुच्छ, म तुच्छ ।
आज जुन २० तारिख,२०२५- मेरो सेतो कलमको अन्त्यष्टी !
मलाई उसको अन्त्यष्टीको चेतावनी जनाऊ मिलिसकेको थियो बिहानै । जब जब कलममा रक्तअल्पताले च्याप्न थाल्यो, मलाई मेरो कलम मृत्यूसय्यामा मृत्यूको दुःखद् पर्खाईमा रहेको मानिस जस्तै लाग्न थालिसकेको थियो । म पनि डराउँदै थिए कतिखेर चाँही कलमले प्राण त्याग्ला भनेर । म यतिखेर हाम्रा प्रियजनको अनन्त विछोडको संघारमा भोगिने वेदनामाजस्तै अनुभूती गरिरहेको थिए ।
उसलाई हिजो अस्ती खुब दबाएर लेख्न बाध्य बनाउने गर्थे भने आज यतिबेला हल्का तरिकाले कोरेजस्तो गर्दै खुबै मायालुभावले ओतप्रोत हुँदै कोरिरहन्थे । यसरी लेखन गर्दा कतिखेर घ्यारघ्यार गर्दै कलमको सास जाला जस्तो लाग्थ्यो । यसरी त्रासयुक्त मनोभावनामा हराईरहदाँको बखत हनुमानको जस्तो शारीरिक सुसंगठन भएको राम नाम गरेको अर्कै सेक्सनको सुपरभाईजर आएर मैले नजिकबाट नियाली रहेको, ख्याल गरिरहेको मेरो प्यारो कलम लगेर गए । म मनमनै डराई रहेको थिए मेरो कलमले रामको हातमै प्राण छोड्ला कि भनेर तर धन्न त्यसो भएन । फेरी एकैछिनपछि राम आए कलम लिन । यसबेला म झनै डराएको थिए र मैले होसियारीकासाँथ लेख्नुहोला भने उसलाई । बिचारा राम, उसलाई के थाहा, केवल लेख्नु थियो, हतारमा थियो ऊ । यसपल्ट पनि लेख्यो यो मृत्यूसय्यामा छट्पटाईरहेको कलमले ।
अब भने केवल तीन फ्लाईटका लागि बाँकी थियो तयार पार्नुपर्ने ६ प्रति डिस्प्याच सर्टिफिकेट । तयार पार्दै गए, सबै भयो । यत्तिन्जेल कलमले अन्तिम सास फेर्दैथियो पक्कै । अब, कलम रक्तरहित, पूर्णतः पारदर्शी भैसकेको थियो जस्तो कि मानिस मृत अवस्थामा पुग्दछ ।म भावुक हुँदै कलमलाई समाती रहे र सोच्दै थिए सेतो कलमले मेरो साथ छोड्यो, मलाई छाडेर गयो सँधैका लागि , मेलै साह्रै मनपराएको कलम !
सेतो कलमको मृत्यु भैसकेको थियो । कलमको पार्थिब शरीर मैले मेरो हत्केलामा टाउको अगाडि पट्टी र खुट्टा म तिर पारेर सुताएर राखे । यस बखत म एक्लै थिए । अन्त्यष्टीका लागि मृत कलमको घाट ( डस्टविन) यत्रतत्र थिए तर मैले केजको नजिकै रहेको अलिक पवित्र घाट यानिकि डस्टविनको एक कुनामा विस्तारै राखेर अन्त्यष्टी सम्पन्न गरे ।
त्यत्तिन्जेल सम्म म घर फर्किने बेला पनि भैसकेको थियो र म घर फर्के, एक्लै फर्के, नितान्त एक्लै।