12/06/2026
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले दोस्रो चरणको परिभ्रमण अन्तर्गत शुक्रबार, १२ जुन २०२६ का दिन दार्जीलिङ हिल्स विश्वविद्यालय, मङ्गपुको भ्रमण गरेको छ।
विद्यार्थी मोर्चाका केन्द्रीय सभापति देवेन्द्र सुब्बा, उपसभापति दिपिका मुखिया, मूल सचिव पल्लव भुजेल, प्रवक्ता उमङ छेत्री, मङ्गपु–लाब्दा समष्टिका संयोजक स्वरूप गुरुङ तथा विद्यार्थी मोर्चाका पदाधिकारीहरूका साथै गोर्खा जनमुक्ति युवा मोर्चाका केन्द्रीय उपसचिव अनमोल थापा र दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनका मूल सचिव सञ्जीव सुबेदी छेत्रीको उपस्थितिमा उक्त परिभ्रमण सम्पन्न भएको हो।
भ्रमणका क्रममा विश्वविद्यालयको वर्तमान सञ्चालन अवस्था, शैक्षिक तथा प्रशासनिक गतिविधि, आगामी दिनमा संस्थालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने योजना तथा विश्वविद्यालयको समग्र विकासका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ।
साथै, विगतमा भएका कथित पार्टीगत नियुक्ति लगायतका विवादित अभ्यासलाई अन्त्य गर्दै दार्जीलिङ हिल्स विश्वविद्यालयलाई पहाडको एउटा महत्वपूर्ण शैक्षिक धरोहरका रूपमा पारदर्शी, निष्पक्ष र सुचारु ढङ्गले सञ्चालन गर्नुपर्ने विषयमा समेत विमर्श गरिएको जानकारी प्राप्त भएको छ।