16/09/2025
दिपा सिमखडाले प्रधानमन्त्री सुशिला कार्की लाई लेखेको प्रत्र अहिले भाईरल छ।
प्रिय , प्रधानमन्त्री आमा 🇳🇵
नेपाल आमाले आज आफ्नो घर सम्हाल्न आफ्नै छोरीलाई अगाडि पठाएकी छिन् । म तपाईंलाई “नेपाल आमाको छोरी” र हाम्री आमा भनी बोलाउँछु है । आज तपाईंको काँधमा एउटा घाइते घरको जिम्मेवारी आएको छ। म तपाईंलाई बधाई भन्न चाहन्नँ किनभने देश उत्सवमा छैन, पीडामा छ। त्यसैले “बधाई” भन्दा “विश्वास” शब्द उपयुक्त हुन्छ होला । तर आमा, तपाईंलाई जिम्मा दिइएकोमा गर्व भने गर्छु।
घरमा जब संकट आउँछ, आमा जति उमेरकी भए पनि, उनी नै आँखा खोल्छिन्, दिमाग लगाउँछिन् र घर सम्हाल्छिन्। तपाईंको जिम्मेवारी आज प्रधानमन्त्री हुनु मात्र होइन, नयाँ प्रधानमन्त्री जन्माउने आमा हुनु हो। देशलाई सम्हालेर, नियम बसालेर, जनतालाई आशा दिलाएर तपाईंले नयाँ पुस्ताको नेतृत्व जन्माउनुपर्छ।
आमा, जापान दोस्रो विश्वयुद्धपछि खरानी भयो। तर आज विश्वकै शक्तिशाली राष्ट्र बन्यो। नेपाल पनि सक्छ। तपाईं संसारलाई देखाउनुहोस् नेपाल पनि इमान्दार बन्न सक्छ, भ्रष्टाचारमुक्त बन्न सक्छ, र फेरि उठ्न सक्छ।
धेरैले भनिरहेका छन्“उमेर बढी भयो, अब पुराना मानिसलाई किन ल्याउने?” तर सत्य के हो भने, समस्या कहिल्यै उमेरमा थिएन, समस्या दिमागमा थियो । पुराना नेताहरूको समस्या उमेर होइन, सोच बिग्रिएको थियो, त्यसैले देश डुब्यो।
आमा, तपाईं अब आमाको रूपमा मात्र होइन, देशको छोरी पनि हुनुहुन्छ। कृपया, कुनै निर्णय गर्नु अघि ती अनुहार सम्झनुहोस् जसलाई गोली हानियो, जसले रगत बगायर देशलाई जिवित राखे। उनीहरूले आफ्नो प्राण दिए, ताकि हामी सुरक्षित भएर बाँच्न सकौं। हरेक निर्णय गर्नु अघि, पहिलो मानव बनेर सोच्नु , दोस्रो नेपाली बनिदिनु त्यसपछि मात्र महिला हुनु है आमा किनकि देशलाई अहिले लिङ्ग होइन, मानवता, जिम्मेवारी र ममतामय हृदय चाहिएको छ।
अन्तत : आमा, मलाई राजनीतिमा चासो छैन तर मलाई व्यक्तिगत रूपमा एउटा सपना छ। यदि भविष्यमा म छोरीकी आमा भएँ भने, म उसलाई तपाईंलाई देखाएर भन्न चाहन्छु “हेर छोरी, त्यो बेला देश पीडामा थियो, सबैले हार मानिसकेका थिए, तर एकजना आमाले राष्ट्रलाई फेरि उठाइन्। यही हो महिला हुने सौभाग्य।
आशावादि
नेपालि छोरि