13/01/2025
हायमनदास राई किरात स्मृति पुरस्कार शुरु गरिने घोषणा
जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना एवं सांस्कृतिक विभागले आज नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकार तथा शताब्दी पुरुष हायमनदास राई किरातको नाममा आगामी वर्षदेखि पुरस्कार दिइने घोषणा गरेकोमा साझा साहित्य संरक्षण संस्था, गोरुबथानले आभार प्रकट गरेको छ।
साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’-को नाममा जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा पुरस्कार घोषणा गरिनुपर्ने मागलाई साझा साहित्य संरक्षण संस्थाले धेरै वर्ष अघिदेखि उठान गर्दै आइरहेको थियो। गत 28 दिसम्बर 2024 को दिन एक टोलीले डुवर्सको साहित्यिक कार्यक्रममा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापासित भेट गरेर यस विषयबारे पुनः स्मरण गराएका थिए। कार्यकारी सभासद थापाले नै १३ जनवरी घोषणा गरिने जानकारी गराएका थिए। त्यसरी नै गत जनवरी पहिलो साता सिलगढीस्थित पिंटल भिलेजमा जीटीए मुख्य कार्यपाल अनित थापासित भेट गर्दा पनि यस विषयमा मुख्य कार्यपाल थापालाई पुनः जानकारी गराइएको थियो। मुख्य कार्यपाल थापाले यस विषयमा चाँडै घोषणा गरिने बताएका थिए।
जीटीएले नेपाली भाषा साहित्यका श्रीपेच हायमनदास राई किरातको स्मृतिमा पुरस्कार शुरु गरिने घोषणा गरेर महान कार्य गरेको मन्तव्य गर्दै साझा साहित्य संरक्षण संस्था गोरुबथानका सभापति तरूण राई अनि सचिव रूस्तम शर्माले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मुख्य कार्यपाल अनित थापा, सूचना एवं सांस्कृतिक विभागीय कार्यकारी सभासद अनोस थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। जीटीएकै सहयोगमा गोरुबथानमा आगामी १६ जनवरीको दिन पूर्णाङ्ग सालिकको पनि अनावरण भइरहेको छ।
स्मरण रहोस् आज जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा गाडीधुरामा आयोजित एक कार्यक्रममा नेपाली भाषा साहित्यका शताब्दी पुरुष हायमनदास राई किरात अनि एमएम गुरुङको स्मृतिमा आगामी वर्षदेखि पुरस्कार शुरु गरिने भारप्राप्त सभासद अनोस थापाले घोषणा गरेका छन्।
स्रोत :- Souraj Butang Rai