01/08/2026
कालेबुङ केयरद्वारा धर्ना कार्यक्रम स्थगित, श्रमिकका अधिकांश माग सम्बोधन हुने प्रतिबद्धता।
कालेबुङ, ३१ जुलाई: कालेबुङ जिल्ला अस्पतालमा कार्यरत स्काभेन्जर (सफाइ) कर्मचारीहरूको हक, हित तथा अधिकारको संरक्षणको माग गर्दै कालेबुङ केयरले १ अगस्ट २०२६ देखि जिल्ला अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर, सम्बन्धित पक्षबीच भएको छलफलमा श्रमिकहरूले उठाएका अधिकांश मागहरू सम्बोधन गर्ने सहमति तथा आवश्यक प्रतिबद्धता व्यक्त गरिएपछि उक्त धर्ना कार्यक्रम फिर्ता लिइएको छ।
३१ जुलाईका दिन जोइन्ट लेबर कमिश्नर तथा डेपुटी लेबर कमिश्नरको उपस्थितिमा सम्पन्न बैठकमा कालेबुङ केयरका प्रतिनिधि विकास क्षेत्री, कालेबुङ डिस्ट्रिक्ट सिभिल कन्स्ट्रक्सन वर्कर्स युनियनका प्रतिनिधि विकास क्षेत्री, रिचा इन्टरप्राइजका तर्फबाट उपस्थित अधिवक्ता तथा कालेबुङ जिल्ला अस्पतालका अस्पताल सुपरिन्टेन्डेन्ट, सहायक सुपरिन्टेन्डेन्टलगायत सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो।
बैठकमा श्रमिक पक्षले उठाएका अधिकांश मागहरू स्वीकार गरिनुका साथै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइएकाले कालेबुङ केयरले १ अगस्टदेखि गर्ने भनिएको धर्ना कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
यसैबीच, तलब नपाएको कारण अस्पताल सुपरिन्टेन्डेन्टबाट बिदा स्वीकृत गराई बसेका १३ जना सफाइ कर्मचारी भोलिदेखि पुनः आफ्नो नियमित ड्युटीमा फर्किने जानकारी दिइएको छ। उनीहरू ड्युटीमा फर्किने क्रममा ज्योति कार्कीकी छोरी टिट्टू वा रिचा इन्टरप्राइजको तर्फबाट कुनै प्रकारको अवरोध, दुर्व्यवहार, तमासा वा कानून तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि भए त्यसको सम्पूर्ण जिम्मेवारी रिचा इन्टरप्राइज र अस्पताल प्रशासनले नै वहन गर्नुपर्ने कालेबुङ केयरले चेतावनी दिएको छ।
कालेबुङ केयरले आफू सधैं श्रमिकहरूको हक, अधिकार र सम्मानको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै भविष्यमा पनि कानुनी तथा शान्तिपूर्ण माध्यमबाट श्रमिकहरूको न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।