24/04/2025
राष्ट्रवादी अडानले एमालेमाथि आक्रमण : प्रधानमन्त्री ओली
काठमाडौँ —लोकतन्त्र दिवसको अवसर पारेर एमालेले बिहीबार काठमाडौंमा ‘युथ सेलेब्रेसन’ सभा आयोजना गरेको छ । लोकतान्त्रिक गणतन्त्रलाई युवासँग जोड्न तथा लोकतन्त्रबारे भ्रम फैलाउने काम भइरहेकाले युवालाई प्रस्ट्याउन सभा आयोजना गरेको एमालेले जनाएको छ ।
एमालेले लोकतान्त्रिक गणतन्त्रबारे मन्तव्य दिन ४० वर्षमुनिका वक्ताहरू चयन गरेको थियो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियू सभापति अश्विनी शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेललगायतले मन्तव्य राखेका थिए । पार्टीका सबैजसो पदाधिकारी उपस्थित भए पनि नेतृत्वका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मात्र सम्बोधन गरेका थिए ।
सभामा प्रधानमन्त्री ओलीले राष्ट्रवादी अडानका कारण एमालेमाथि आक्रमण भइरहेको बताए । ‘कुनै भ्रममा नपर्नूस्, हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्त्वहरू एमालेविरुद्ध खनिएका छन्,’ उनले भने, ‘लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्ति हामीसँग भयभीत भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्नेबारे चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्नै लागेको भनेर दिएको अभिव्यक्ति सन्दर्भमा उनले राजनीतिक स्थायित्वका लागि बनेको सरकारले त्यहीअनुसार काम गरिरहेको बताए । संसद्को बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयास आफ्नो दलले गरिरहेको उनको भनाइ थियो ।
उनले कार्यकर्तालाई २०८४ को निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । ‘एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौ, २०७४ को चुनाव भन्यौ, २०७९ को चुनाव भन्यौ र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं । ढुक्कले मिसन, ०८४ मा लाग्नुस् ।’
प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि युवालाई संघर्षमा उत्रने मानसिकता बनाउन निर्देशन दिए । ‘यदि आवश्यकता पर्छ भने संघर्षको मैदानमा उत्रिन तयार हुनुपर्छ र हाम्रा अग्रजले, पुर्खाले जुन संघर्ष गरेर देशलाई यहाँसम्म ल्याएका छन्,’ उनको भनाइ थियो, ‘आज ती उपलब्धिको रक्षा गर्दै अगाडि बढ्न युवा पुस्ताको संकल्प र त्यसका निम्ति सक्रिय प्रयास जरुरी छ ।’ मुलुकमा साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्न प्रधानमन्त्रीले आग्रह गरे ।
‘अनेक ढंगले साम्प्रदायिक विद्वेष भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन् । जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूगोल र अनेक नाममा फुटाउने प्रयास भइराखेका छन्,’ उनले भने, ‘यस्ता कुप्रयास र कुचेष्टाबाट हामी स्पष्ट हुनुपर्दछ र देशलाई एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्दै, संविधानको रक्षा गर्दै समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनुपर्दछ ।’
राजतन्त्र फर्काउने प्रयासलाई उनले ‘पाखण्डी सिद्धान्त’ को संज्ञा दिए । उनले प्रतिगमनतर्फ देशलाई लैजान जनताको हत्या, तोडफोड, आगजनी, व्यक्तिका घर, पार्टीका कार्यालय, व्यापारिक प्रतिष्ठान, सञ्चार गृहमाथि आक्रमण गरी जंगली शासन थप्न खोजेका बताए । ‘युवाले यस्ता कुरालाई अस्वीकार गर्न आँट गर्नुपर्छ,’ उनले भने, ‘संविधानको रक्षा गर्ने र देशलाई सुशासन तथा समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्छ ।’ एमाले महासचिव शंकर पोखरेलले स्वाधीनता, स्वाभिमानको पक्षमा दह्रो गरी उभिएका कारण एमालेमाथि घेराबन्दी र आक्रमण भएको दाबी गरे ।
पछिल्लो समय राजावादी समूह तथा पार्टीले हालको व्यवस्थामाथि प्रश्न उठाएर प्रदर्शन बढाएपछि सत्तामा रहेको एमालेले त्यसको जवाफ सडक प्रदर्शनबाटै दिन खोजेको छ । एमालेले यसअघि नै बुटवल, दमक र काठमाडौंको दरबारमार्गमा ‘जागरणसभा’ गरिसकेको छ । एमालेले ‘जरा केन्द्रित’ अभियान पनि चलाइरहेको छ ।
- By Nepal Aajtak