17/05/2025
Godangel bani 17 May 2025
प्रिय आमा बाबा युवा नानुहरु सबैको कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।
संसारमा आज धर्मको नाममा लडाई, अशान्ति, घृणा बढिरहेको छ, एक धर्मले अर्को धर्मलाई चढाई गरीरहेको छ । संसारमा आज कहिँ कतै शान्ति छैन, मेरो भगवान मात्रै ठुलो, मेरो धर्म मात्रै ठुलो भन्ने भावनाले गर्दा झन्-झन् संसारमा प्रेम र धार्मिक सहिष्णुताको खडेरी गइरहेको छ । यो विकराल समयमा अप्रेम र घृणाको बीच रुँदै गरेको संसारको आँसु पुछ्न प्रेमवाद दर्शनले सबै धर्महरुलाई रंगीचंगी एउटै माला झै प्रेमको दधागोमा उन्दै धार्मिक सहिष्णुताको मध्यस्थताको भुमिका निभाई रहेको छ । सबै धर्म शास्त्रहरुको राम्रो कुराहरुलाई ग्रहण गर्दै र गराउदै शान्तिमय प्रेममय संसार बनाउन सबै धर्महरुलाई प्रेमले अंगाल्दै सर्बधर्मको पथयात्रामा आउन आव्हान गरिरहेको छ ।
प्रेमवाद दर्शनले हामीलाई सर्बधर्मको पथमा अगुवाइ गरिरहेको छ, जसरी विभिन्न सात नदिहरु बहदै सबैको मिलन बिन्दुमा सप्तकोसी बन्छ, त्यस्तै प्रकारले सबै धर्महरु हिन्दु, मुस्लिम, क्रीस्चियन, बौद्ध र अन्य धर्महरुको मिलन बिन्दु सर्बधर्म हो। सारा नदिहरुको फरक नाम रहे पनि सबैको गुण बहने पानी हो र पानीको धर्म सारा प्राणीहरु लगायत बनस्पतिको तृष्णा मेटाई बचाउनु हो । सोही प्रकारले प्रेमवाद दर्शनको दृष्टिकोणमा हरेक धर्मको नाम अलग भएता पनि सबै धर्महरुको गुण भनेको प्रेम हो र सबै धर्महरुको धर्म भनेको सेवा हो ।
प्रेमवादले भन्छ एक धर्मले अर्को धर्मलाई घृणा गर्नु हुँदैन, एक धर्मले अर्को धर्मलाई अंगाल्नु पर्छ, सबै भगवानहरुले असल ज्ञान् दिनु हुन्छ भने ती सबै भगवानहरु हाम्रो भगवान हो, सारा धर्म शास्त्रहरुमा भगवानहरुको ज्ञान् छ, भने त्यो सारा धर्म शास्त्र हाम्रो धर्म शास्त्र हो, सबै धर्महरुले असल मार्ग देखाउछ भने सारा धर्म हाम्रो धर्म हो, यसर्थ हाम्रो धर्म सर्बधर्म हो । सर्बधर्मले हामीलाई सबै धर्महरुको असल कुराहरु ग्रहण गराउदछ र जुनसुकै धर्मलम्वी भए पनि प्रेममा जिउन अपिल गर्दछ । सर्बधर्म दु:खहरण पुजामा राखिने निहिन पनि कुनै विशेष एउटा धर्मको मात्रै होइन, निहिन सर्बधर्मको प्रतिक हो ।
प्रिय यात्रीजन हामी प्रेमवादीहरु जस्तोसुकै अशान्तिको बीचमा भए पनि हामी शान्तिको बिरुवा बन्नु पर्छ, घृणाको बीचमा पनि प्रेमको मुस्कान छर्नु पर्छ र काँडै-काँडाको बिचमा भए पनि करुणाको फुल बनी फुल्नु पर्छ । हाम्रो प्रेमवाद दर्शनमा यो धर्म यो जात,वंश भन्ने कुरा यहाँ छैन, हिन्दु पनि मेरो हो बुद्धिष्ट पनि मेरै हो,ख्रीष्ट्यन पनि मेरो हो इस्लाम पनि मेरै हो, किराँत पनि मेरो हो यसर्थ सबै धर्महरु संस्कारहरु मेरै हो। प्रेमवाद दर्शनको लागि सबै धर्म संस्कार एउटै हो, प्रेमवाद दर्शनले यो धर्तीमा रहेका हामी सबैलाई आफ्नै परिवारको रुपमा हेर्दछ नाकी यो धर्मको मान्छे, त्यो संस्कारको मान्छे,यो जातको मान्छे, त्यो वंशको मान्छे,न यो देश न त्यो देश, सबैलाई एउटै प्रेमको अंगालोले अंगाल्दछ प्रेमवादले, जहाँ प्रेमै -प्रेमको कुरा छ,जहाँ सर्बधर्मको कुरा छ त्यो हो प्रेमवाद दर्शन ।
Jai prem!
Love and blessings
With guruhajur