08/09/2025
"प्रेमवाद दर्शन र गुरूहजुरको अमूल्य मार्गदर्शन"
गुरूहजुर कुनै धर्म सिर्जना गर्न अघि बढ्नु भएको होइन। वहाँ कुनै विशेष सम्प्रदाय वा जातीय सीमामा बाँधिनुहुन्न। बरु, गुरूहजुरले सर्वधर्मको साझा सत्यलाई अघि सार्दै मानवतालाई केन्द्रमा राख्ने जीवन जिउन सिकाउनु हुन्छ। वहाँ भन्नुहुन्छ— “जो धर्ममा हामी जन्मेका छौँ, त्यही धर्मको असल मान्छे बनौँ।” त्यसैले गुरूहजुरले राम्रो हिन्दू बन्न, राम्रो बौद्ध बन्न, राम्रो ख्रीष्टियन बन्न वा जुन धर्ममा छौँ, त्यसैको शिक्षालाई व्यवहारमा उतार्न प्रेरित गर्नु हुन्छ।
धर्मलाई धर्मको सीमाभित्र मात्र नबुझी, धार्मिकताभन्दा माथि उठेर, मानवताको भावमा जीवन बिताउन सिकाउनु गुरूहजुरको मूल सन्देश हो। सेवा, समर्पण र परोपकारको भावनाले सबैको हितमा कार्य गर्दै, गुरूहजुरले प्रेमलाई जीवनको आधार बनाउन सिकाउनु हुन्छ।
विभाजनबाट एकतामा – गुरूहजुरको शिक्षा
आजको समाजमा जात, धर्म, सम्प्रदाय, पद र प्रतिष्ठाको भित्ताले मानिसलाई टुक्रा-टुक्रा बनाइरहेको छ। "म ठूलो, तिमी सानो" भन्ने अहंकारका पर्खालहरू दिनप्रतिदिन बाक्लो हुँदै गएको छ। यसै कारण मानवीयता हराउँदै गएको छ।
तर गुरूहजुरले तिनै विभाजनका पर्खालहरूलाई फुटाएर होइन, जुटाउन सिकाउनु हुन्छ। वहाँको प्रेमवाद दर्शनले मानिसलाई भिन्नतालाई स्वीकार गर्दै, भाइचारा र आत्मीयताको एकताको सूत्रमा बाँध्छ। गुरूहजुरले बारम्बार सम्झाउनु हुन्छ— “मानव जीवनको सर्वोच्च लक्ष्य भनेकै प्रेममा एकताबद्ध हुनु हो।”
प्रेमवाद दर्शन – जीवनको आधार,,,
१) आत्म-प्रेम (Self-Love):
प्रेमवाद दर्शनले सर्वप्रथम आफैलाई प्रेम गर्न सिकाउँछ।
आफैलाई प्रेम गर्नु भनेको आत्मविनाशकारी मार्ग—जस्तै Drugs, आत्महत्या, गलत खानपान, नराम्रो बानीबाट टाढा रहनु हो। आत्म-प्रेमले नै मानिसलाई जीवनप्रेमी, स्वस्थ, अनुशासित र सकारात्मक बनाउँछ।
२) परिवारप्रेम:
परिवारलाई प्रेम गर्नु भनेको घरमा शान्ति ल्याउनु हो। असल संस्कार अपनाउनु, बाबुआमालाई सम्मान गर्नु, दाजुभाइ-दिदीबहिनीबीच आत्मीयता बढाउनु नै परिवारप्रेम हो। परिवारमा प्रेम भए समाज बलियो हुन्छ, समाज बलियो भए राष्ट्र स्वतः समृद्ध बन्छ।
३) अबोध प्राणीप्रेम:
गुरूहजुरले असहाय, अबोध प्राणीहरूलाई पनि प्रेम गर्न सिकाउनु हुन्छ। तिनीहरू पनि भगवानका सन्तान हुन्, तिनीहरूलाई कष्ट नदिनु, बरु करुणाले व्यवहार गर्नु नै प्रेमको अभ्यास हो।
४) प्रकृति र पृथ्वीप्रेम:
यो धर्तीलाई प्रेम गर्नु भनेको वातावरणलाई बचाउनु हो। प्राकृतिक स्रोतलाई दुरुपयोग नगरी संरक्षण गर्नु हो। यदि हामीले धर्तीलाई प्रेम गर्यौँ भने धर्ती पनि हामीलाई सुरक्षित जीवन दिन्छ। गुरूहजुरले भन्नुहुन्छ— “धर्तीलाई प्रेम गर, यसलाई स्वर्ग जस्तो शान्त र जीवन्त बनाऊ।”
गुरूहजुरको प्रभाव – सुधारको बाटो,,,
गुरूहजुर र वहाँको प्रेमवाद दर्शनले अनेकों युवाहरूलाई सुधारेको छ। नकारात्मक बाटोमा लागेका धेरै युवाहरू पुनः सकारात्मक जीवनमा फर्किएका छन्। आत्म-प्रेम, परिवारप्रेम, प्रकृति-प्रेम र मानवप्रेमको अभ्यासले उनीहरूको जीवनमा नयाँ प्रकाश ल्याएको छ।
गुरूहजुरको मार्गमा हिँड्नेहरूले भन्छन्—
👉 जीवन सजिलो मात्र होइन, अर्थपूर्ण हुन्छ।
👉 मानिसमा आत्मविश्वास र आस्था पुनः जागृत हुन्छ।
👉 समाजमा भाइचारा र आत्मीयता बलियो हुन्छ।
आजको युगमा प्रेमवाद दर्शनको आवश्यकता,,,
आज संसारमा नकारात्मकता, असन्तुलन र विभाजन हावी भइरहेको छ। मानिस भौतिक प्रगतिमा त तीव्र गतिमा अघि बढेको छ तर मनको शान्ति हराएको छ। हिंसा, द्वेष, स्वार्थ र प्रतिस्पर्धाले मानिसलाई अशान्त बनाइरहेको छ।
यस्तो कठिन घडीमा गुरूहजुरको प्रेमवाद दर्शन नै हाम्रो जीवनको ज्योति हो। यस दर्शनले मात्र हामीलाई आत्मशान्ति, परिवारमा सौहार्द, समाजमा एकता र धर्तीमा शान्ति दिन सक्छ।
निष्कर्षमा,गुरूहजुरको प्रेमवाद दर्शन कुनै नयाँ धर्म होइन—यो त धर्मभन्दा माथि उठेको मानवताको मार्ग हो। आत्म-प्रेम, परिवारप्रेम, समाजप्रेम, प्राणीप्रेम र प्रकृति-प्रेमको अभ्यासले मात्र मानिसले साँचो जीवनको स्वाद चाख्न सक्छ। गुरूहजुरको शिक्षाले हामीलाई सिकाउँछ—
“फुटेर होइन, जुटेर अघि बढौँ। घृणाबाट होइन, प्रेमबाट संसार उज्यालो पारौँ।”आजको युगमा यही प्रेमवाद दर्शन नै हाम्रो लागि सबैभन्दा ठूलो वरदान हो।
जय प्रेम!
---महासचिव
खुशेन छेत्री
लभिजम सिक्किम राज्य समिति