11/07/2026
गणेश नेपालीको घटनाले मलाई निकै स्तब्ध बनाएको छ।
प्रिय गणेश,
तिमी आफ्नो शरीरमा आगो लगाउने निर्णयसम्म पुग्दा कति पीडा, अपमान, घृणा, तिरस्कार, हेपाइ र चेपाइ सहनुपरेको होला! तिमीले आफैंसँग, परिवारसँग, आफन्तसँग, साथीभाइसँग, समाजसँग र राज्यसँग कति संघर्ष गर्यौ होला! कति विभेद भोग्यौ होला!
एकातिर तिम्रा दुःख र भोगाइ थिए होलान्, अर्कोतिर तिम्रा सपना पनि थिए होलान्। ती सपनासँगै परिवारप्रतिको जिम्मेवारी पनि थियो होला। तर आज, मैले यी शब्दहरू टाइप गरिरहँदा तिमी हामीबीच छैनौ।
हरेक शब्द लेख्दै गर्दा म एउटै कुरा कल्पना गरिरहेको छु—प्रिय गणेश, तिमी यी सबै पीडा र अन्यायले कति थिचियौ होला, जसका कारण अन्ततः आफ्नै जीवन अन्त्य गर्ने निर्णय गर्नुपर्यो।
विडम्बना त के छ भने, जसले तिमीलाई त्यो अवस्थासम्म पुर्याए, आज तिनै मानिसहरू तिम्रो मृत्युमाथि राजनीति गरिरहेका छन्। एकअर्कालाई आरोप लगाइरहेका छन्, आलोचना गरिरहेका छन्।
दुःख लाग्छ—तिमी जीवित हुँदा तिमीलाई नचिन्नेहरू आज तिम्रो मृत्युमा सबैभन्दा धेरै बोलिरहेका छन्। तिम्रो जीवनभन्दा तिम्रो मृत्यु उनीहरूका लागि राजनीतिक विषय बनेको छ।
तर गणेश, तिमी एक्ला होइनौ। तिमीजस्तै हजारौँ युवाहरू हरेक दिन बिस्तारै भित्रभित्रै जलिरहेका छन्। रोजगारी नपाएर, लाखौँ रुपैयाँ ऋण गरेर विदेशिएका युवाहरू विदेशी भूमिमा शारीरिक रूपमा होइन, मानसिक रूपमा जलिरहेका छन्। उनीहरू यति धेरै पीडामा छन् कि न त तिमीजस्तै आत्मदाह गर्न सक्छन्, न आफ्ना पीडा खुलेर व्यक्त गर्न सक्छन्।
आज तिम्रो शवमाथि राजनीति गर्ने नेपालका राजनीतिक दलहरूका नेताहरूले तिमी जीवित हुँदा तिम्रो पीडा देखेनन्। तर आज तिम्रो मृत्युमा उनीहरू संवेदना व्यक्त गरिरहेका छन्।
एउटा युवा किन यस्तो अवस्थासम्म पुग्छ? किन उसले आफ्नै जीवन अन्त्य गर्न बाध्य हुन्छ? यसबारे गम्भीर बहस, आत्मसमीक्षा र समाधान खोज्ने प्रयास भने निकै कम देखिन्छ। यही सबैभन्दा दुःखद पक्ष हो।
यदि एउटा नागरिक समाज र राज्यकै कारण आफ्नो जीवन समाप्त गर्न बाध्य हुन्छ भने, त्यस्तो राजनीति, त्यस्तो शासन र त्यस्तो क्रान्तिले आफ्नो उद्देश्य पूरा गर्न सकेको भन्न सकिँदैन।
गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली।
यस्ता घटनाहरू फेरि नदोहोरिऊन् भन्ने जिम्मेवारी हामी सबैको हो।
कुनै पनि राजनीतिक आस्था वा विचारभन्दा माथि उठेर, एउटा युवाको जीवन किन यति निराशाजनक मोडमा पुग्यो भन्ने प्रश्नमा सबैले गम्भीर भएर सोच्ने समय आएको छ।
तिमि जस्तै म एउटा दिपक .........