28/02/2026
‘गिजिनकोकु’ भिसा नियम कडा हुँदै,
टोकियो, जापान – Immigration Services Agency of Japan ले ‘प्राविधिक, मानविकी र अन्तर्राष्ट्रिय सेवा’ (गिजिनकोकु) भिसा अन्तर्गत विदेशी कामदार भर्ना गर्ने नियममा कडाइ गर्ने तयारी गरेको छ। नयाँ निर्देशिका आगामी अप्रिलदेखि लागू हुने बताइएको छ।
नयाँ नीति अनुसार, यदि कुनै कम्पनीले ‘निर्दिष्ट कुशल श्रमिक’ (Specified Skilled Worker) वा अन्य भिसामा रहेका विदेशी कामदारलाई तलब नदिने, सम्झौता विपरीत काममा लगाउने, वा गम्भीर श्रम उल्लङ्घन गरेको पाइएमा, त्यस्ता कम्पनीलाई ‘गिजिनकोकु’ भिसामा समेत नयाँ विदेशी कामदार भर्ना गर्न रोक लगाइनेछ।
विशेषगरी दक्ष जनशक्तिलाई अदक्ष काममा लगाउने, पारिश्रमिक रोक्ने तथा अनुचित हक्केन (dispatch) प्रणालीको दुरुपयोग बढ्दै गएपछि सरकारले यस्तो कदम चाल्न लागेको हो। अब हक्केन कम्पनीहरूले कामदार पठाउँदा उनीहरूले कुन कम्पनी र कुन कार्यस्थलमा काम गर्ने भन्ने विवरण पहिले नै स्पष्ट रूपमा कागजातमा उल्लेख गर्नुपर्नेछ।
सरकारी तथ्याङ्कअनुसार हाल जापानमा ‘गिजिनकोकु’ भिसामा रहेका विदेशीको संख्या करिब ४ लाख ५० हजार पुगेको छ। यो संख्या ‘स्थायी आवासीय’ (PR) पछि दोस्रो ठूलो समूह मानिन्छ।
नयाँ व्यवस्थाअनुसार, यदि कुनै कम्पनीले विदेशी कामदार राख्न ५ वर्षसम्म प्रतिबन्ध पाएको छ भने, उक्त अवधिभर ‘गिजिनकोकु’ अन्तर्गत पनि कसैलाई भर्ना गर्न पाउने छैन। साथै सरकारले ‘बिजनेस म्यानेजमेन्ट’, ‘विद्यार्थी’ तथा ‘पीआर’ भिसाका नियमहरूलाई समेत थप व्यवस्थित र कडा बनाउने तयारी गरिरहेको जनाएको छ।
सरकारको यो कदमले विदेशी कामदारको हकहित संरक्षण, श्रम बजारको पारदर्शिता तथा रोजगार प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।