21/12/2025
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन्।
विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग भएको छलफलमा उनले सरकारसँगै राजनीतिक दल र कार्यकर्ताहरूले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे।
त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचन सम्भव नहुने उल्लेख गर्दै कोइरालाले भने, “गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा फरार भएका करिब पाँच हजार कैदीबन्दी अझै करागार बाहिर छन्। साथै प्रहरीबाट लुटिएका पाँचदेखि सात हजार हतियारसमेत अझै बरामद भएका छैनन्, जसले आमजनतामा भयको वातावरण सिर्जना गरेको छ।”
उनले यस्तो अवस्थामा सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायहरू सबै मिलेर निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
डा. कोइरालाले नेपाली कांग्रेस एक जिम्मेवार र जनचाहनाअनुसार चल्ने पार्टी भएकाले निर्वाचनको वातावरण निर्माणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ पनि केन्द्रित रहेको बताए।