13/05/2026
विदेशी व्यवसाय भिसामा जापान कडा: आवेदन ९६% ले घट्यो ।
टोकियो । जापानमा व्यवसाय सुरु गर्ने विदेशी व्यवस्थापकहरूका लागि दिइने “व्यवस्थापन・प्रशासन भिसा (経営・管理ビザ)” सम्बन्धी नियम कडा बनाइएपछि, आवेदन संख्या करिब ९६ प्रतिशतले घटेको जापानको अध्यागमन सेवा एजेन्सीले जनाएको छ । गत वर्ष अक्टोबरदेखि लागू गरिएको नयाँ नियमले प्रणालीको वास्तविक उद्देश्यभन्दा बाहिर गएर जापान प्रवेश गर्न खोज्ने विदेशीहरूको संख्या नियन्त्रण गर्न केही प्रभाव देखाएको मानिएको छ । एजेन्सीका अनुसार, पहिले मासिक औसत करिब १७०० वटा आवेदन पर्ने गर्थ्यो। तर, गत वर्ष अक्टोबरमा नियम कडा बनाइएपछि मासिक औसत आवेदन संख्या करिब ७० मा झरेको छ । विदेशी नीतिका जिम्मेवार मन्त्री Kimi Onoda ले May १२ तारिखको पत्रकार सम्मेलनमा, “आप्रवासन उद्देश्यका लागि यो भिसाको दुरुपयोग हुने चिन्ता केही हदसम्म हटेको छ, र अहिले यो प्रणाली मूल उद्देश्यअनुसार सञ्चालन हुन थालेको छ,” भनेर बताएका छन्।
नयाँ मापदण्डअनुसार, यो भिसा प्राप्त गर्न आवश्यक पूँजी रकम पुरानो नियमको ६ गुणा बढाएर “३० मिलियन येन (करिब ३ करोड येन) भन्दा बढी” बनाइएको छ। साथै, कम्तीमा १ जना जापानी नागरिक वा स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिलाई पूर्णकालीन रूपमा रोजगार दिन अनिवार्य गरिएको छ। यसका अतिरिक्त, जापानी भाषा क्षमता, व्यवसाय सञ्चालन अनुभव, तथा शैक्षिक योग्यता सम्बन्धी नयाँ शर्तहरू पनि थपिएका छन्।