08/09/2026
आजभन्दा ठीक एक वर्षअघि यही दिन, मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र राजनीतिक विकृतिविरुद्ध एउटा नयाँ चेतनाको आँधी आएको थियो। आफ्नो उज्ज्वल भविष्य, सुशासन र न्यायपूर्ण समाजको सपना बोकेर सडकमा ओर्लिएका 'जेन जी' (Gen Z) युवाहरूले देश परिवर्तनको संवाहक बन्ने हिम्मत देखाए। तर, जनविरोधी सत्ता र क्रूर दमनका अगाडि उनीहरूका सपनालाई निसाना बनाइयो। ताकी-ताकी चलाइएका गोलीका अगाडि छाती थापेर मुलुकका लागि जीवन आहुति दिने ती वीर जेन्जी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उनीहरूको बलिदान केवल एउटा आन्दोलनको कथा मात्र थिएन, त्यो त यो देशको अस्तित्व र स्वाभिमान जोगाउन रचिएको ऐतिहासिक गाथा थियो।
तर, यस आन्दोलनको अर्को दुखद् र तितो यथार्थ पनि छ—आन्दोलनको मैदानमा मुमफली फुटेझैँ युवाहरूको दिमाग भुटेर, उनीहरूलाई उपयोग गरी मार्न र मर्न बाध्य पारियो। आन्दोलनमा होसिएका कतिपय अबोध युवा र स्कुलको झोला बोकेर हिँडेका बालबालिकालाई त आफू किन र कसको स्वार्थका लागि सडकमा पुगेका छौँ भन्ने सम्म थाहा थिएन। आज तिनै स्कुले विद्यार्थी र निर्दोष युवाहरूको लास माथि टेकेर राजनीतिक फाइदा उठाइएको छ। कोही "हामी सुध्रिन्छौँ" भन्दै त कोही "हामी सुध्रिएर आयौँ" भन्दै तिनै शहीदको रगतको जगमा सदन र सत्ताको कुर्सीमा छिरेका छन्।
विडम्बनाको कुरा, जुन जेन्जी आन्दोलन र युवाहरूको रगत-पसिनाको जगमा उभिएर आज सत्ताको बागडोर सम्हाल्नेहरू कुर्सीमा विराजमान छन्, उनीहरूले नै शहीदको बलिदान र आन्दोलनको मर्म बिर्सिँदै गएका छन्। आन्दोलनका क्रममा ताकी-ताकी गोली हान्ने र अराजकता फैलाउने दोषीहरूलाई कारबाही गर्न त परै जाओस्, परिवर्तनको नारा दिएर सत्तामा पुगेकाहरू पनि उही पुराना राजनीतिक शक्तिहरू जस्तै सत्ताको खेल र खिचातानीमा लिप्त भएका छन्। जसको जगमा अधिकार र न्यायको नयाँ युग सुरु हुनुपर्ने थियो, उनीहरूकै बलिदानलाई आज सत्तामा पुग्ने भर्याङ मात्र बनाइएको छ।
जेन्जी आन्दोलनको मुख्य मर्म भनेकै देशबाट भ्रष्टाचारको निर्मूल गरी युवा पलायन रोक्नु, स्वदेशमै स्वरोजगार र उद्यमशीलताको वातावरण सिर्जना गर्नु, र राष्ट्रिय स्वाभिमानलाई विश्व सामु उच्च बनाउनु थियो। देशको ऊर्जाशील जनशक्ति दैनिक हजारौँको सङ्ख्यामा विदेशिन बाध्य छ। युवाहरूलाई आफ्नै माटोमा सीप, स्रोत र रोजगारीको अवसर दिलाएर देशको समृद्धिमा जोड्नुपर्नेमा, वर्तमान सत्ता र पुराना शक्तिहरू अझै पनि रेमिट्यान्सकै भरमा देश चलाउने बिचौलिया मानसिकताबाट मुक्त हुन सकेका छैनन्। योग्यता प्रणाली (Meritocracy), गुणस्तरीय शिक्षा, र पारदर्शी प्रशासन जस्ता मूलभूत मागहरू आज पनि अलपत्रै छन्।
जेन्जी पुस्ताले बालेको क्रान्तिको ज्वाला केवल कुर्सी वा अनुहार फेर्नका लागि मात्र थिएन, सिङ्गो व्यवस्था र प्रवृत्ति सुधारका लागि थियो। यदि सत्ता पक्ष र पुराना शक्तिहरूले अझै पनि निर्दोष युवाहरूको बलिदानलाई भर्याङ मात्र बनाएर उनीहरूको मर्मलाई बेवास्ता गरिरहे भने, यो देशमा अर्को चेतनाको आँधी सिर्जना हुनेछ। शहीदप्रतिको सच्चा श्रद्धाञ्जली त्यतिबेला मात्र हुनेछ, जब युवाहरूलाई प्रयोग र शोषण गर्ने राजनीति बन्द हुनेछ, देश भ्रष्टाचारमुक्त बन्नेछ र विश्व सामु नेपालको शीर उँचो हुनेछ।