17/06/2026
Notice from Embassy of Nepal Seoul.
Thanks for sharing.
अध्ययनका लागि कोरिया आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी:
कोरियका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययनका लागि आउनुहुने/आइपुग्नु भएका नेपाली विद्यार्थीहरू र सम्बन्धित सबैको सचेतनाका लागि यो जानकारी प्रकाशित गरिएको छ।
१. विद्यार्थीहरूले कोरिया आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै कोरिया आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ। कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक सञ्जालमा राखिएको विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ।
२. कोरियामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन्।पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, विश्वविद्यालयको समग्र Rank, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ।केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका कोरियमा रहनुहुने इष्टमित्र, साथीभाई, कोरियामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ।
३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। कोरिया पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ। कोरियमा आएको भोलीपल्टबाट नै काममा जाने र पैसा कमाउने मनसाय बोकेर आउने विद्यार्थीहरुले बेलाबेलामा अध्यागमनको फन्दामा परी पहिलो पटक नेपाली दुई लाख वा सो भन्दा बढि जरीवाना तिर्ने र दोस्रो पटक फन्दामा परेको खण्डमा नेपाल फर्कन बाध्य हुने गरेकाले यसमा सजग हुनुपर्दछ।
४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज/विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा, थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ। अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ।
५. नेपालमा 12 पास गर्ने वित्तकै कोरियामा अध्ययनका लागि आएका धेरै जसो विद्यार्थीहरु कोरियाका विश्वविद्यालयहरु मध्ये निकै न्यून Ranking प्राप्त विश्वविद्यालयहरुमा भर्ना हुने गरेको पाइएकोले कोरिया अध्ययनका लागि आउने सम्पूर्ण विद्यार्थीहरुले आफूले पढ्न चाहेको विश्वविद्यलयको Ranking, अन्य देशका विद्यार्थीहरु सो विश्वविद्यालयमा पढेका छन् या छैनन्, पढाइने Credit Hours लगायत विविध कुरामा ध्यान दिएर मात्र आउनुपर्दछ।
६. कार्यस्थलमा श्रम शोषण/दुर्व्यवहार/ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ। यहाँका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ।ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।
७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज/युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, Society of Nepalese Students In Korea-SONSIK, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ कोरिया एवं आ-आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।
नेपाली राजदूतावास,
सउल
You can contact us for more information about study in Korea.