09/09/2025
                                            राजापुर नगरपालिका–८ लाई बाल विवाहमुक्त वडा घोषणा गर्ने तयारी, सरोकारवालासँग छलफल सम्पन्न
बर्दिया, राजापुर – सशक्त बालिका परियोजना कार्यक्रम अन्तर्गत राधा कृष्ण थारू जनसेवा केन्द्रको समन्वयमा राजापुर नगरपालिका–८ लाई बाल विवाहमुक्त वडा घोषणा गर्ने उद्देश्यले सरोकारवालासँग विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।वडा अध्यक्ष राजेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाघर, युवा क्लब, महिला सञ्जाल, शिक्षक, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वडामा बाल विवाहको अवस्था, चुनौती, समाधान र बाल विवाहमुक्त वडा घोषणा सम्भव छ वा छैन भन्ने विषयमा गम्भीर छलफल गरिएको थियो।
छलफलमा सहभागीहरूले गाउँमा बाल विवाहबारे सचेतना फैलाउन जाँदा अभिभावकहरूबाट अवरोध हुने गरेको अनुभव सुनाउँदै, अबको दिनमा बाल विवाह गराउने गाउँलाई केही समयका लागि सरकारी सेवा तथा सुविधा कटौती गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए।
कार्यपालिका सदस्य तथा वडा सदस्य कृष्णकला ढुङ्गनाले वडा स्तरीय बाल संरक्षण समितिले प्रभावकारी काम नगरेको उल्लेख गर्दै समितिलाई कागजमा मात्र सीमित नराखी समुदायमा सक्रिय बनाउनुपर्ने सुझाव दिइन्। उनले कानून कार्यान्वयनमा देखिएको लैंगिक विभेद (बालकलाई जेल हाल्ने, बालिकालाई घर पठाउने) लाई हटाएर समता मूलक कानुनी अभ्यास गर्नुपर्ने आवश्यकता औंल्याइन्।वडा सदस्य राजाराम थारूले अभिभावकहरूले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी आवश्यक रहेको बताउँदै बाल विवाह रोकथामका लागि वडा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराए।
कार्यक्रम समापन गर्दै वडा अध्यक्ष राजेश थारूले वडामा बाल विवाहका कारण कुपोषण समस्या देखिएको उल्लेख गर्दै, अबदेखि बाल विवाह न्यूनीकरण र बाल विवाहमुक्त वडा घोषणाका लागि गाउँगाउँमा सचेतनामूलक कार्यक्रम, पोषणयुक्त लिटो वितरण, र सरोकारवालासहित प्रत्यक्ष संवादका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरी कार्यक्रम सम्पन गरिएको छ।