
27/08/2025
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक समाज हो। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन सबै धर्म मान्ने नागरिकहरू छन्। सबैलाई आफ्नो विश्वास र परम्परा अनुसार चाडपर्व मनाउने अधिकार छ। तर एउटा गम्भीर प्रश्न उठ्छ, किन आलोचनाको बाण प्रायः हिन्दू चाडपर्वतिर मात्रै तिरिन्छ ?
तीज, दशैँ, तिहार जस्ता पर्व आउँदा अनिवार्यजस्तै गरी विभिन्न पत्रपत्रिकामा आलोचनात्मक लेखहरू देखिन्छन्। कतै व्रत बस्नु महिलामाथिको शोषण भनिन्छ, कतै पशुबलि अमानविक प्रथा भनिन्छ, कतै तडकभडक संस्कृतिलाई अपव्यय भनिन्छ। आलोचना गर्ने कुरा नभएका होइनन्, तर प्रश्न के हो भने, अन्य धर्मका परम्परामाथि यसरी लेख किन आउँदैन ?
मुस्लिम धर्म मान्नेहरूले रमजानमा महिनौँ दिन पानी समेत नखाई व्रत बस्छन्। विज्ञानको दृष्टिले स्वास्थ्यका लागि त्यति लामो निराहार रहनु जोखिमपूर्ण पनि हुन सक्छ। तर त्यस्तो व्रतलाई ‘शोषण’ भन्ने लेखहरू हाम्रो समाजमा देखिँदैनन्। बकर ईदमा हजारौँ पशु काटिन्छन्, ठूलो स्तरमा मासु उपभोग हुन्छ, तर यसलाई लिएर पत्रपत्रिकामा धर्मको नकारात्मक व्याख्या क्वचितै पाइन्छ।
त्यस्तै, क्रिश्चियन समुदायमा क्रिसमस वा इस्टरका अवसरमा ठूलो खर्च र उपभोग हुन्छ। तर त्यो विषयलाई "आर्थिक भार" भनेर आलोचना गर्ने प्रवृत्ति खासै देखिँदैन।
तर दशैँमा मात्र पशु बलि भयो भने 'हिन्दू क्रूर संस्कृति' भन्ने लेखन हुन्छ। तीजमा महिलाले निराहार बसे भने 'हिन्दू महिलामाथिको दमन' भन्ने आरोप लाग्छ। किन समान दृष्टि प्रयोग हुँदैन ?
यो प्रश्न उठाउनुको अर्थ, कुनै धर्मको परम्परालाई आलोचना गर्नै हुँदैन भन्ने होइन। गलत अभ्यास जहाँ भए पनि प्रश्न गर्नुपर्छ। तर आलोचनाको लक्ष्य एउटै धर्मतिर मात्र केन्द्रित हुनु पक्षपाती अभ्यास हो।
नेपाल धर्मनिरपेक्ष मुलुक हो, त्यसैले आलोचना वा सुधारको कुरा गर्दा सबै धर्मलाई समान दृष्टिले हेर्नुपर्छ। हिन्दू धर्मकै परम्परा मात्र आलोचनाको निशाना बन्नु भनेको सांस्कृतिक असन्तुलन सिर्जना गर्नु हो।
आज आवश्यकता छ, सबै धर्मका परम्परालाई बराबरी तरिकाले समीक्षा गर्ने। गलत जहाँ भए पनि त्यसलाई सुधार्ने। तर आलोचना चयनात्मक भए, त्यो आलोचना भन्दा बढी पूर्वाग्रह ठहरिन्छ।
हिन्दू धर्ममाथि मात्र प्रहार गरेर आधुनिकता वा महिला अधिकारको बहस पूरा हुँदैन। बरु सबै धर्मका अभ्यासलाई समान रूपले मूल्यांकन गर्ने र सुधार गर्ने परिपाटी विकास गर्न सके मात्रै हाम्रो समाज साँच्चिकै समान र न्यायपूर्ण बन्न सक्छ।