18/08/2026
मन्त्रीहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई वर्षमानको सुझाव
**** ****
नेकपा सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन्। मन्त्रीका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको सांसद पुनले बताए।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति दिदै हिडेको बताए। ज्वरो आउँदा मन्त्रीले हेलिकोप्टर मगाउने, जनताले आफ्ना माग पूरा गरिदिनुस् भन्दा भोट फिर्ता लिनुस् भन्ने अभिव्यक्ति मन्त्रीबाट आउनु सही नभएको उनको भनाइ थियो।
सुर्खेतमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा आउने विपद्मा उद्धार र राहतका लागि खटाउन राखिएको हेलिकोप्टर मन्त्रीको उद्धारमा प्रयोग भएको भन्दै सांसद पुनले प्रश्न उठाए। 'एकातिर विपद् छ। रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनु पर्ने छ तर एक जना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ। रेस्क्युको काम हुँदैन। पुनःस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ। उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ,' पुनले भने, 'यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु। आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुस्।'
मन्त्री पुनले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको प्रसंगमा यस्तो भनेका हुन्। उनी सुदूरपश्चिम गएको बेला बिरामी भएपछि सेनाको हेलिकोप्टरबाट बैतडीबाट धनगढी ल्याइएको थियो। धनगढीबाट सेनाकै स्काइ विमानमा काठमाडौँ ल्याइएको थियो।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति पनि सांसद पुनले असन्तुष्टि जनाए। 'गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ। जनताले विगतका प्रतिबद्धताको जवाफ खोज्छन् तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नुभएको छ,' सांसद पुनले भने, 'विपदमा देशभरि के भइरहेको छ? प्रतिकार्य के भइरहेको छ? घटना कहाँ के भइरहेका छन्? रेस्क्यु पुनर्निर्माण, पुनःस्थापना कामका लागि के तयारी भइरहेको छ? राहत सामग्री कसरी पुर्याइएका छन्? त्यस सम्बन्धी जानकारी गृहमन्त्रीले यस सदनलाई दिनुपर्छ।'
ग्यास, मल, पासपोर्टका लागि जनता लाइनमा लाग्नुपर्ने अवस्था आएको तर सरकारले त्यसमा व्यवस्थापन गर्न नसकेको सांसद पुनको भनाइ छ। नयाँ राजनीतिक दल र नयाँ सरकार सञ्चालक भएको भन्दै शंकाको लाभ दिइएको तर त्यसअनुसार काम भने नभएको पुनको भनाइ थियो। 'अब तपाईंहरूले देशको नेतृत्व गरिरहनुभएको छ। अब पुरानो स्थापित पार्टीहरूलाई दोष दिएर हुँदैन। ग्यास, मल, पुराना पार्टीले गर्दा नपाइएको होइन,' पुनले भने।
पुनले परराष्ट्र नीतिबारे पनि गम्भीर बन्नका लागि सरकारलाई सुझाव दिएका छन्। विश्वभर भूराजनीतिक द्वन्द्व चलिरहेको उल्लेख गर्दै उनले संयमित भएर परराष्ट्र नीति अगाडि बढाउनुपर्ने उनको भनाइ छ। 'छिमेकसँगको नीतिमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको छैन। कहिले दलाई लामाको जन्मदिन मनाउन दिन्छ, कहिले तिब्बतसम्बन्धी सम्मेलन आयोजना गर्ने अनि आफै रोक्ने गर्छ,' पुनले भने, 'यो के हो? दोहोरो चरित्र हो वा अपरिपक्वता हो? हामीले छिमेक नीति स्पष्ट गर्नुपर्छ। संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट भनेको छ। त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ।'
विकासका लागि सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध राख्नुपर्ने तर कुनै पनि सैन्य गठबन्धन र एकातिर मात्रै ढल्किने नीति लिन नहुने पुनको भनाइ थियो।