26/09/2026
काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा देवेन्द्र लामाको दाबी
राप्ती चितवन । नेपाली कांग्रेसका नेता देवेन्द्र लामाले पार्टीको १५औँ महाधिवेशनका लागि खुल्लातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका लामा पार्टी संगठन हुँदै स्थानीय तहको जनप्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा प्रवेश गरेका लामाले पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण र नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनले क्षेत्रीय सदस्य, प्रदेश सभापति तथा क्षेत्रीय उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका छन्। त्यसपछि उनी नेपाली कांग्रेस राप्ती नगर समितिको सभापतिको जिम्मेवारीमा पुगेका थिए।
लामाको राजनीतिक यात्रामा १५औँ अधिवेशनका क्रममा राप्ती नगरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गराउन सफल हुनु पनि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
पार्टी राजनीतिसँगै लामाले स्थानीय सरकारको नेतृत्व र जनप्रतिनिधिका रूपमा समेत काम गरेका छन्। राप्ती नगरपालिका–९ का वडाध्यक्षको जिम्मेवारी पूरा गरेपछि उनी राप्ती नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए। उपमेयरका रूपमा उनले नगरको विकास निर्माण तथा न्यायिक समितिसँग सम्बन्धित जिम्मेवारीसमेत सम्हालेका थिए।
लामाले आफ्नो लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गराउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। खुल्लातर्फको उनको उम्मेदवारीसँगै पूर्वी चितवनको कांग्रेस राजनीतिमा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर चर्चा बढेको छ।