Nepal Aajtak

Nepal Aajtak Nepal Aajtak Media is a trusted digital news platform committed to delivering accurate, timely, and impactful journalism.

Behind the Truth and Realities of the Nation

वीरगन्जमा मेनरोड विस्तार तत्काल रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशवीरगन्ज, २९ साउन । वीरगन्जको मुख्य सडक (मेनरोड)...
14/08/2026

वीरगन्जमा मेनरोड विस्तार तत्काल रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

वीरगन्ज, २९ साउन । वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारसम्बन्धी विवादमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले तत्कालका लागि सडक विस्तारको काम रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तर्फबाट संगीता अर्याल पहाडीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार न्यायाधीश निर्मला पौडेल भट्टराईको एकल इजलासले उक्त आदेश जारी गरेको हो। उक्त मुद्दाको दायरी नम्बर ०८३-WO-००८५ रहेको छ।

रिट निवेदकले सडक विस्तारको कार्य रोक्न माग गर्दै प्रतिषेध, उत्प्रेषण तथा परमादेशलगायतका उपयुक्त आदेशसहित अन्तरिम आदेश जारी गर्न अदालतसमक्ष माग गरेका थिए। निवेदकका तर्फबाट अधिवक्ता डा. गजेन्द्र अर्याल र अधिवक्ता राजेश पण्डितले बहस गरेका थिए।

निवेदनमा उल्लेखित विषयवस्तु तथा निवेदक पक्षको बहस सुनेपछि अदालतले विपक्षीहरूलाई मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। जिल्ला प्रशासन कार्यालयसहितका विपक्षीहरूले म्याद सूचना तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने अदालतको आदेशमा उल्लेख छ।

विषयवस्तुको प्रकृति तथा संवेदनशीलतालाई ध्यानमा राख्दै अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई उपस्थित गराई छलफल गर्नु उपयुक्त देखिएको अदालतले जनाएको छ।

अदालतले अन्तरिम आदेशसम्बन्धी छलफलका लागि भदौ १ गते पेशी तोकेको छ। उक्त मितिसम्म रिट निवेदनमा उल्लेखित सडक क्षेत्रमा बाटो विस्तारसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको अदालतले स्पष्ट पारेको छ।

अब भदौ १ गते हुने दुवै पक्षबीचको छलफलपछि अदालतले जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा थप निर्णय गर्नेछ।

यस आदेशसँगै वीरगन्जको मुख्य सडक विस्तारको विषय तत्कालका लागि न्यायिक प्रक्रियाको दायरामा पुगेको छ भने सडक विस्तारसम्बन्धी आगामी कदम अदालतको निर्णयमा निर्भर रहने भएको छ।

- By Nepal Aajtak

12/08/2026

वीरगञ्जमा सडक सीमांकनमाथि फेरि प्रश्न : पाँच पटक नाप्दा पनि त्रुटि कायमै, “नक्सा र सीमांकनमा चलखेल भयो” भन्दै स्थानीयको छानबिन माग

वीरगञ्ज, पर्सा । वीरगञ्जको घण्टाघरदेखि माईस्थानसम्म सडक विस्तार तथा सीमांकनको विषयलाई लिएर फेरि विवाद चर्किएको छ। सडक विभागले पटक–पटक नापी तथा सीमांकन गरिसकेको भए पनि सीमांकनमा देखिएको भनिएको त्रुटि अहिलेसम्म समाधान नभएको भन्दै स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन्।

स्थानीयवासीका अनुसार उक्त सडकखण्डमा चार–पाँच पटकसम्म नापी तथा सीमांकनको काम भइसकेको भए पनि प्रत्येक पटकको नापीपछि पनि विवादित विषय यथावत् रहेको छ। उनीहरूले सडकको वास्तविक केन्द्रबिन्दु र सीमांकन निर्धारण गर्ने क्रममा प्राविधिक त्रुटि मात्र नभई चलखेलसमेत भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

विशेषगरी घण्टाघरदेखि माईस्थानसम्मको सडकको केन्द्ररेखा कसरी निर्धारण गरियो? भन्ने प्रश्न अहिले मुख्य रूपमा उठेको छ।

स्थानीयहरूको आरोपअनुसार ऐतिहासिक रूपमा पूर्वतर्फबाट जाने भनिएको त्रिभुवन राजमार्गको सडक सीमांकन पछिल्लो नक्सा तथा सीमांकन प्रक्रियामा पश्चिमतर्फ सारिएको देखिन्छ। उनीहरूको दाबीअनुसार घण्टाघरदेखि पानगलीसम्म सडकको दिशा एउटा अवस्थिति हुँदै अघि बढाइएको र पानगलीबाट पश्चिमतर्फ अस्वाभाविक रूपमा मोडिएको देखिन्छ। त्यसपछि माईस्थानतर्फ पुग्दा पुनः सडकको केन्द्रबिन्दु पुरानै दिशातर्फ ल्याइएको स्थानीयहरूको आरोप छ।

स्थानीयहरू प्रश्न गर्छन्—

“सिधा रूपमा अघि बढ्नुपर्ने सडक पानगली पुगेपछि एक्कासि पश्चिमतर्फ किन मोडियो? फेरि माईस्थानमा पुगेर सडकको केन्द्ररेखा किन बीचमा ल्याइयो?”

उनीहरूका अनुसार सडकको सेतो केन्द्ररेखा अर्थात् ह्वाइट लाइनलाई समेत आधार मान्दा केही स्थानमा सडकको केन्द्रबिन्दु पश्चिमतर्फ निकै भित्रसम्म लगिएको र त्यसपछि पुनः बराल मार्केट आसपासबाट केन्द्ररेखा माथि उठाउँदै माईस्थानतर्फ जोडिएको देखिन्छ।

यसरी हेर्दा सडकको केन्द्ररेखा प्राकृतिक तथा प्राविधिक रूपमा सीधा नभई अस्वाभाविक रूपमा मोडिएको देखिएको स्थानीयहरूको दाबी छ।

स्थानीयवासीको प्रश्न छ—

“सडकको केन्द्ररेखा यसरी एकातिर गएर फेरि अर्कोतिर फर्किने गरी युटर्न लिन सक्छ? सडक निर्माण तथा सीमांकनको प्राविधिक मापदण्डमा यस्तो अस्वाभाविक मोडको आधार के हो?”

यही विषयलाई लिएर स्थानीयहरूले सीमांकन प्रक्रियाको निष्पक्ष प्राविधिक परीक्षणको माग गरेका छन्।

२५ मिटर सडक विस्तारमा स्थानीयको विरोध छैन, तर समान नियम चाहियो

स्थानीयवासीले सडक विस्तारको अवधारणाको विरोध नगरेको स्पष्ट पारेका छन्। वीरगञ्जजस्तो महत्वपूर्ण व्यापारिक शहरमा सडक फराकिलो हुनु, यातायात व्यवस्थित हुनु र पूर्वाधार विकास हुनु आवश्यक रहेको उनीहरूको भनाइ छ।

२५ मिटर दायाँ–बायाँ सडक क्षेत्र कायम गर्ने वा सडक विस्तार गर्ने सरकारी नीति भए त्यसको कार्यान्वयनमा आफूहरूको आपत्ति नरहेको, तर त्यसका लागि सबै नागरिकमाथि एउटै नियम लागू हुनुपर्ने उनीहरूको माग छ।

स्थानीयहरूको भनाइ छ—

“विकास हुनुपर्छ, सडक फराकिलो हुनुपर्छ। तर विकासका नाममा कसैको सम्पत्ति मात्र हडप्ने र कसैको सम्पत्ति जोगाउने हुनुहुँदैन।”

नाला, ड्रेन तथा सार्वजनिक क्षेत्रमाथिका संरचनाको नापीबारे पनि प्रश्न

स्थानीयहरूले सडक सीमांकनसँगै नाला, ड्रेन तथा सार्वजनिक क्षेत्रमाथि बनेका संरचनाहरूको नापीबारे समेत प्रश्न उठाएका छन्।

उनीहरूको आरोपअनुसार कतिपय संरचना नाला वा ड्रेनमाथि बनेका भए पनि तिनलाई समेत जग्गासँगै नापी गरिएको देखिन्छ। स्थानीयहरूको माग छ—यदि कुनै संरचना सार्वजनिक नाला, ड्रेन वा सडक क्षेत्रमाथि बनेको हो भने त्यसको कानुनी अवस्था पहिले स्पष्ट गरिनुपर्छ।

नाला तथा ड्रेनको वास्तविक सीमाना निर्धारण नगरी संरचनासहित जग्गाको नापी गर्दा वास्तविक निजी जग्गा र सार्वजनिक क्षेत्रबीचको सीमा नै प्रभावित हुनसक्ने उनीहरूको तर्क छ।

स्थानीयहरू प्रश्न गर्छन्—

“ड्रेन वा नालामाथि बनेको संरचनाको समेत जग्गासँगै नापी गर्ने, तर कानुनी रूपमा कायम रहेको घर–जग्गामा बसोबास गरिरहेका नागरिकको सम्पत्ति ठूलो मात्रामा सडक क्षेत्रमा पार्ने आधार के हो?”

उनीहरूले सबै संरचनाको कानुनी हैसियत समान रूपमा जाँच गर्नुपर्ने माग गरेका छन्।

२०४६/४७ को नक्सामाथि प्रश्न, २०२१ सालको नक्साबाट पुनः नापीको माग

सडक सीमांकन विवादको अर्को महत्वपूर्ण विषय नक्सा बनेको छ।

स्थानीयवासीको आरोपअनुसार २०४६/४७ सालको नक्सा तयार गर्ने वा प्रयोग गर्ने क्रममा चलखेल भएको र त्यसकै आधारमा घण्टाघरदेखि माईस्थानसम्मको सडक सीमांकन प्रभावित भएको हुनसक्ने आशंका छ।

स्थानीयहरूले अब २०२१ सालको आधिकारिक नक्सालाई आधार बनाएर पुनः नापी तथा सीमांकन गर्नुपर्ने माग गरेका छन्।

उनीहरूको भनाइअनुसार २०२१ सालको नक्सामा त्रिभुवन राजमार्गको अवस्थिति पूर्वतर्फ स्पष्ट रूपमा देखिएको छ। तर त्यसपछिको नक्सामा सडकको अवस्थिति परिवर्तन भएको देखिएको दाबी उनीहरूको छ।

यदि पुरानो र नयाँ नक्साबीच सडकको केन्द्ररेखा तथा सीमांकनमा ठूलो अन्तर देखिन्छ भने त्यसको कारण, निर्णय प्रक्रिया र प्राविधिक आधार सार्वजनिक गर्नुपर्ने स्थानीयहरूको माग छ।

“कसैको सम्पत्ति जोगाउन अर्को व्यक्तिको सम्पत्ति किन खाली गराउने?”

स्थानीयहरूको मुख्य आरोप यही छ कि सडक सीमांकनमा समान मापदण्ड लागू नभएको कारण केही व्यक्तिको सम्पत्ति जोगाउन अर्को व्यक्तिको घर तथा जग्गा ठूलो मात्रामा प्रभावित पारिएको हुनसक्छ।

उनीहरूका अनुसार यदि सडकको वास्तविक केन्द्रबिन्दु र सीमांकन वैज्ञानिक रूपमा निर्धारण गरिएको हो भने त्यसको प्रभाव सबै पक्षमा समान रूपमा देखिनुपर्ने हो।

तर कतै सामान्य क्षति मात्र हुने र कतै पूरै घर तथा जग्गा खाली गर्नुपर्ने अवस्था देखिनुले सीमांकन प्रक्रियामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ।

त्यसैले स्थानीयहरूले पुराना नक्सा, हालको नक्सा, सडकको ह्वाइट लाइन, केन्द्ररेखा, स्थलगत अवस्था तथा प्रत्येक घर–जग्गाको नापी विवरणलाई एकै ठाउँमा राखेर तुलनात्मक अध्ययन गर्न माग गरेका छन्।

अमिन र इन्जिनियरको भूमिकामाथि छानबिनको माग

सडक सीमांकनमा देखिएको भनिएको विवादका कारण स्थानीयहरूले नापीमा संलग्न अमिन, इन्जिनियर तथा सम्बन्धित प्राविधिक र अधिकारीहरूको भूमिका छानबिन गर्नुपर्ने माग गरेका छन्।

यदि सीमांकनका क्रममा प्राविधिक त्रुटि मात्र भएको हो भने त्यसलाई सच्याउनुपर्ने र यदि नियोजित रूपमा कसैलाई लाभ पुर्‍याउने गरी नक्सा, केन्द्ररेखा वा सीमांकन परिवर्तन गरिएको प्रमाणित भएमा दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयहरूको माग छ।

त्यसैगरी सीमांकन वा सडक विस्तार प्रक्रियामा आर्थिक चलखेल भएको प्रमाण भेटिएमा सम्बन्धित निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलगायत प्रचलित कानुनअनुसार अनुसन्धान गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।

तर यस्ता आरोप प्रमाणित हुनुअघि सम्बन्धित व्यक्ति वा अधिकारीलाई दोषी ठहर गर्न नहुने र निष्पक्ष अनुसन्धानबाट तथ्य बाहिर ल्याउनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ।

अब निष्पक्ष प्राविधिक छानबिन आवश्यक

घण्टाघरदेखि माईस्थानसम्मको सडक सीमांकनमा उठेका प्रश्न सामान्य प्राविधिक विवाद मात्र हुन् वा वास्तवमै नक्सा तथा सीमांकन प्रक्रियामा अनियमितता भएको हो भन्ने विषय अब आधिकारिक छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

स्थानीयवासीको मागअनुसार सरकारले—

- २०२१ सालको नक्सा र हाल प्रयोग भएको नक्साबीच तुलना गर्नुपर्ने,
- २०४६/४७ सालको नक्सा तयार तथा प्रयोग भएको प्रक्रिया जाँच गर्नुपर्ने,
- सडकको वास्तविक केन्द्रबिन्दु तथा ह्वाइट लाइनको प्राविधिक परीक्षण गर्नुपर्ने,
- घण्टाघर–पानगली–माईस्थान सडकखण्डको स्थलगत पुनः नापी गर्नुपर्ने,
- नाला, ड्रेन तथा सार्वजनिक क्षेत्रमाथिका संरचनाको कानुनी अवस्था जाँच गर्नुपर्ने,
- सडक सीमांकनमा संलग्न अमिन, इन्जिनियर तथा सम्बन्धित अधिकारीको भूमिका छानबिन गर्नुपर्ने,
- र अनियमितता वा आर्थिक चलखेल प्रमाणित भएमा दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

वीरगञ्जको सडक विस्तार विकासका लागि आवश्यक भए पनि विकासको नाममा नागरिकको सम्पत्तिमाथि अन्याय हुनु नहुने स्थानीयहरूको स्पष्ट धारणा छ।

अब मुख्य प्रश्न यही हो—चार–पाँच पटक नापी भइसकेपछि पनि सीमांकनमा देखिएको विवाद किन समाधान भएन? घण्टाघरदेखि पानगली हुँदै माईस्थानसम्म सडकको केन्द्ररेखा किन अस्वाभाविक रूपमा मोडिएको देखिन्छ? २०२१ सालको नक्सा र २०४६/४७ सालको नक्साबीच फरक किन आयो? र यदि कुनै चलखेल भएको छैन भने त्यसको प्राविधिक तथा कानुनी आधार सरकारले सार्वजनिक गर्न किन ढिलाइ गरिरहेको छ?

यी प्रश्नको जवाफ सम्बन्धित निकायले तथ्य, नक्सा र प्राविधिक प्रमाणसहित दिनुपर्ने स्थानीयवासीको माग छ।

विकास चाहिन्छ, सडक विस्तार चाहिन्छ; तर विकासका नाममा विभेद, अपारदर्शिता र अन्याय स्वीकार्य हुँदैन।

Nepal Aajtak — विशेष खोज रिपोर्ट।

जग्गाधनीको हक मिचेर सडक निर्माण नगर्न सर्वोच्चको निर्देशनकाठमाडौं, २७ साउन । सर्वोच्च अदालतले जग्गाधनीको सहमति वा प्रचलि...
12/08/2026

जग्गाधनीको हक मिचेर सडक निर्माण नगर्न सर्वोच्चको निर्देशन

काठमाडौं, २७ साउन । सर्वोच्च अदालतले जग्गाधनीको सहमति वा प्रचलित कानुनबमोजिम उचित मुआब्जा नदिई निजी जग्गामा सडक निर्माण गर्नु गैरकानुनी तथा संविधानप्रदत्त सम्पत्तिको हकविपरीत हुने स्पष्ट गरेको छ।

ओखलढुंगाका चोपिन्द्रबहादुर तामाङले दायर गरेको रिटमा फैसला गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले निजी सम्पत्ति सार्वजनिक प्रयोजनमा प्रयोग गर्दा कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने व्याख्या गरेको हो। फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ।

चम्पादेवी गाउँपालिकास्थित पलापु–ताप्केडाँडा–कोषभञ्ज्याङ–ककनी सडक निर्माणका क्रममा तामाङको निजी जग्गा प्रभावित भएको ठहर गर्दै सर्वोच्चले कानुनबमोजिम मुआब्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको छ।

तामाङले साविक कालिकादेवी गाविस–६, हाल चम्पादेवी गाउँपालिका–३ मा रहेको कित्ता नम्बर ४४ र ४६ को जग्गामा आफ्नो सहमति तथा मुआब्जाबिना सडक निर्माण गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सडक निर्माणका कारण आफ्नो जग्गा दुई भागमा विभाजित हुनुका साथै खेतीयोग्य जमिन र बसोबासको स्थानसमेत प्रभावित भएको उनको दाबी थियो।

रिटको विपक्षमा रहेका सडक डिभिजन कार्यालय हर्कपुर र चम्पादेवी गाउँपालिकाले भने उक्त बाटो पहिलेदेखि नै सार्वजनिक रूपमा प्रयोग हुँदै आएको र जनसहभागितामा सडक निर्माण गरिएको भन्दै रिट खारेज गर्न माग गरेका थिए।

तर सर्वोच्चले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हकको व्याख्या गर्दै सार्वजनिक प्रयोजनका लागि राज्यले निजी सम्पत्ति प्राप्त गर्न सक्ने भए पनि त्यसका लागि कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गर्नुपर्ने र जग्गाधनीलाई उचित मुआब्जा दिनुपर्ने स्पष्ट गरेको छ।

अदालतले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिमको प्रक्रिया पूरा नगरी वा जग्गाधनीलाई क्षतिपूर्ति नदिई निजी सम्पत्ति सार्वजनिक प्रयोजनमा प्रयोग गर्न नमिल्ने ठहर गरेको हो। विकास निर्माणका नाममा नागरिकको मौलिक हक र कानुनी प्रक्रियालाई बेवास्ता गर्न नसकिने सर्वोच्चको निष्कर्ष छ।

यद्यपि, निजी जग्गामा सडक वा अन्य सार्वजनिक संरचना निर्माण भइसकेर लामो समयदेखि सार्वजनिक प्रयोगमा आइसकेको अवस्थामा त्यस्तो संरचना तत्काल भत्काउनु व्यावहारिक नहुने अदालतले जनाएको छ। यस्तो अवस्थामा सार्वजनिक हित र निजी सम्पत्तिको अधिकारबीच सन्तुलन कायम गर्दै सम्बन्धित जग्गाधनीलाई उचित क्षतिपूर्ति वा मुआब्जा उपलब्ध गराउनु न्यायोचित हुने सर्वोच्चको ठहर छ।

सोही आधारमा सर्वोच्चले निर्माण भइसकेको सडक हटाउनेभन्दा मुआब्जा निर्धारण समितिमार्फत कानुनी प्रक्रिया अघि बढाई जग्गाधनीलाई उचित मुआब्जा उपलब्ध गराउन आदेश दिएको हो।

सर्वोच्चले सार्वजनिक प्रयोजनका लागि निजी जग्गा प्राप्त गर्दा जग्गाधनी तथा प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने, उनीहरूलाई पर्याप्त सुनुवाइको अवसर दिनुपर्ने र जग्गाको वास्तविक आर्थिक मूल्यका साथै बसोबास वा कारोबार अन्यत्र सार्दा हुन सक्ने क्षतिको समेत मूल्याङ्कन गरी पर्याप्त मुआब्जा निर्धारण गर्नुपर्ने जनाएको छ।

त्यसैगरी, जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया निश्चित समयभित्र सम्पन्न हुने व्यवस्था गर्न तथा मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवाद शीघ्र समाधान गर्न संघ, प्रदेश र स्थानीय तहमा उपयुक्त संयन्त्र तथा कार्यविधि निर्माण गर्न अदालतले सरकारलाई निर्देशन दिएको छ।

सर्वोच्चले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सडक विभागका नाममा छ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको छ। विकास आयोजनाको जिम्मेवारी कुन तहको सरकारअन्तर्गत रहने भन्ने स्पष्ट मापदण्ड निर्धारण गर्न तथा सम्बन्धित तहको सरकारले नै जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाउन पनि अदालतले निर्देशन दिएको छ।

अदालतले मुआब्जा निर्धारण, वितरण, उजुरी तथा विवाद समाधानको प्रक्रियालाई संघीय संरचनाअनुकूल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रभावित नागरिकको पुनःस्थापना र पुनर्वासलाई समेत सुनिश्चित गर्ने गरी विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्न सरकारलाई सुझाव दिएको छ।

सर्वोच्चको यो फैसलाले सडक, राजमार्ग तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका क्रममा निजी जग्गा प्रभावित हुने विषयमा राज्यका निकायले कानुनी प्रक्रिया, जग्गाधनीको सम्पत्तिको अधिकार र उचित मुआब्जाको सुनिश्चितता अनिवार्य रूपमा पालना गर्नुपर्ने नजिर स्थापित गरेको छ।

- By Nepal Aajtak

12/07/2026

देश कता जाँदैछ? विकासको नाममा विनाश कि समृद्धिको यात्रा?

आज एउटा साधारण नेपाली नागरिकको मनमा सबैभन्दा ठूलो प्रश्न यही छ—देश आखिर कता जाँदैछ? कसलाई विश्वास गर्ने? कसको पछि लाग्ने? कसलाई आफ्नो भविष्य सुम्पिने?

विगतका सरकारहरूप्रति जनतामा असन्तुष्टि थियो। भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र विकासको सुस्त गतिले जनता दिक्क भइसकेका थिए। त्यसैले परिवर्तनको आशामा जनताले नयाँ नेतृत्वलाई विश्वास गरे। जनताले सोचे—अब देशमा नयाँ सोच आउनेछ, नयाँ योजना बन्नेछ, नयाँ नेपाल निर्माण हुनेछ।

जनताले विश्वास गरेका थिए कि नेपालमै रोजगारी सिर्जना हुनेछ। विदेशमा पसिना बगाउन बाध्य भएका लाखौँ नेपाली स्वदेश फर्कने वातावरण बन्नेछ। उद्योग, कलकारखाना, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र अन्य क्षेत्रमा लगानी बढ्नेछ। युवाले आफ्नो भविष्य विदेशमा होइन, आफ्नै देशमा देख्नेछन्। गरिब, किसान, मजदुर, व्यापारी, विद्यार्थी, कर्मचारी, महिला, वृद्ध र सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बन्नेछ।

तर आज धेरै नागरिकको अनुभूति फरक छ।

विकासको नाममा सडक फराकिलो बनाउने, सार्वजनिक संरचना सुधार्ने वा शहर व्यवस्थित गर्ने काम आवश्यक हुन सक्छ। तर विकास भनेको केवल डोजर चलाउनु मात्र होइन। विकास भनेको मानिसको जीवन सहज बनाउनु हो। यदि विकासका क्रममा नागरिकको घर भत्किन्छ भने त्यसको उचित कानुनी प्रक्रिया, पर्याप्त सूचना, संवाद, पुनर्वास र आवश्यक क्षतिपूर्तिको व्यवस्था पनि हुनुपर्छ। विकासले नागरिकलाई असुरक्षित होइन, सुरक्षित महसुस गराउनुपर्छ।

जब कुनै परिवारको जीवनभरको कमाइले बनाएको घर एकै दिनमा भत्किन्छ, त्यो केवल एउटा भवनको विनाश होइन; त्यो एउटा परिवारको सपना, भविष्य र आत्मविश्वासमाथिको ठूलो चोट पनि हुन सक्छ। साना व्यापारीको पसल हट्दा केवल एउटा व्यवसाय बन्द हुँदैन, एउटा परिवारको जीविकोपार्जन संकटमा पर्न सक्छ। यस्ता निर्णय गर्दा राज्यले मानव संवेदना, सामाजिक न्याय र कानुनी प्रक्रियालाई सधैँ प्राथमिकता दिनुपर्छ।

आज धेरै नागरिकले महसुस गरिरहेका छन् कि सरकारको प्राथमिकता जनताको पीडा सुन्नुभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित देखिन्छ। सामाजिक सञ्जाल र सञ्चार माध्यममा विकासका दृश्य धेरै देखाइन्छन्, तर प्रभावित नागरिकका समस्या, गुनासा र पीडाले सधैँ पर्याप्त स्थान पाउँदैनन् भन्ने आलोचना पनि सुनिन्छ।

मिडिया लोकतन्त्रको चौथो अंग हो। त्यसैले मिडियाले सरकारको प्रशंसा मात्र होइन, सरकारका कमजोरी, जनताका समस्या, भ्रष्टाचार, अन्याय र नीति कार्यान्वयनका चुनौतीहरूलाई पनि निष्पक्ष रूपमा प्रस्तुत गर्नुपर्छ। सत्यलाई सम्पूर्ण रूपमा देखाउने जिम्मेवारी मिडियाको हो।

लोकतन्त्रमा संसद् जनताको आवाज बोल्ने सर्वोच्च संस्था हो। संसद्मा व्यक्तिगत आरोप–प्रत्यारोप, अनावश्यक विवाद वा राजनीतिक प्रदर्शनभन्दा देशका वास्तविक समस्या—महँगी, बेरोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक विकास—मुख्य बहसको विषय बन्नुपर्छ। जनताले सांसदहरूलाई ताली बजाउन वा नाराबाजी गर्न होइन, आफ्नो आवाज उठाउन र समाधान खोज्नका लागि चुनेका हुन्।

भ्रष्टाचारविरुद्धको अभियान पनि निष्पक्ष हुनुपर्छ। कानुन सबैका लागि समान हुनुपर्छ। शक्तिशाली होस् वा कमजोर, सरकारपक्ष होस् वा प्रतिपक्ष—कानुनले सबैलाई समान व्यवहार गर्नुपर्छ। यदि नागरिकले कानुन केवल कमजोरमाथि लागू भएको र शक्तिशालीमाथि नरम भएको अनुभूति गर्न थाले भने राज्यप्रतिको विश्वास कमजोर बन्छ।

इतिहासले देखाएको छ कि शक्ति आफैँमा खराब होइन, तर शक्ति उत्तरदायित्वविहीन हुँदा दुरुपयोगको सम्भावना बढ्छ। त्यसैले लोकतन्त्रमा स्वतन्त्र न्यायपालिका, सक्रिय प्रतिपक्ष, स्वतन्त्र सञ्चार माध्यम, नागरिक समाज र जनताको सचेत सहभागिता अत्यन्त आवश्यक हुन्छ। यिनै संस्थाले राज्यलाई सन्तुलित, पारदर्शी र उत्तरदायी बनाउँछन्।

विकास भनेको सडक, पुल र भवन मात्र होइन। विकास भनेको नागरिकको जीवनस्तरमा आएको सुधार हो। विकास भनेको बेरोजगार युवाले रोजगारी पाउनु हो। किसानले उत्पादनको उचित मूल्य पाउनु हो। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु हो। बिरामीले सहज स्वास्थ्य सेवा पाउनु हो। महिलाले सुरक्षित महसुस गर्नु हो। वृद्धले सम्मानपूर्वक बाँच्न पाउनु हो। गरिबले न्याय पाउनु हो। अनि प्रत्येक नागरिकले राज्यलाई आफ्नै अभिभावकको रूपमा महसुस गर्नु हो।

नेपाल आज अनेक चुनौतीहरूको सामना गरिरहेको छ। आर्थिक संकट, वैदेशिक रोजगारीमा निर्भरता, युवापलायन, भ्रष्टाचार, राजनीतिक ध्रुवीकरण, सुशासनको चुनौती र जनविश्वासको कमी जस्ता विषय गम्भीर छन्। यस्ता समस्याको समाधान आवेगले होइन, दीर्घकालीन नीति, समावेशी योजना, पारदर्शिता, कानुनी शासन र जनसहभागिताबाट मात्र सम्भव हुन्छ।

सरकारले जनताको आलोचनालाई विरोध होइन, सुझावका रूपमा लिनुपर्छ। प्रतिपक्षले पनि केवल विरोधका लागि विरोध होइन, रचनात्मक विकल्प दिनुपर्छ। मिडियाले निष्पक्ष सूचना दिनुपर्छ। नागरिकले पनि तथ्यमा आधारित बहस र लोकतान्त्रिक सहभागितालाई बलियो बनाउनुपर्छ।

हामी सबैको सपना एउटै हो—समृद्ध, न्यायपूर्ण, सुरक्षित र अवसरले भरिएको नेपाल। त्यो नेपाल तब मात्र बन्न सक्छ जब विकासले कसैलाई पछाडि नछोडोस्, कानुन सबैका लागि समान होस्, सरकार उत्तरदायी होस्, प्रतिपक्ष जिम्मेवार होस्, मिडिया स्वतन्त्र होस् र जनता सचेत रहून्।

देश कुनै एक व्यक्ति, एक दल वा एक सरकारको मात्र होइन। यो हामी सबैको साझा घर हो। त्यसैले विकासको यात्रामा सबै नागरिकको सम्मान, अधिकार र भविष्यलाई केन्द्रमा राखेर अघि बढ्न आवश्यक छ।

जय नेपाल।

विशेष रिपोर्ट - नेपाल आजतक

26/05/2026

वीरगञ्जको सडक विस्तारमा ‘विकाससँगै न्याय’को माग

मुख्य सडकका व्यवसायी सर्राफद्वारा प्रधानमन्त्री बालेनलाई खुला पत्र

वीरगञ्ज, १२ जेठ । वीरगञ्ज महानगरपालिकाले अघि बढाएको मुख्य सडक विस्तार अभियानका बीच स्थानीय व्यवसायी तथा घरधनीहरूले विकाससँगै न्यायपूर्ण व्यवस्थापनको माग गरेका छन् । यसैक्रममा वीरगञ्जका व्यवसायी तथा मुख्य सडक क्षेत्रका घरधनी प्रमोद कुमार सर्राफले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेख्दै विकासका नाममा स्थानीय बासिन्दामाथि अन्याय हुन नहुने बताएका छन् ।

सर्राफले आफ्नो पत्रमा काठमाडौँमा बालेन शाहले अघि बढाएको सुधार र विकास अभियानप्रति वीरगञ्जबासीले सकारात्मक आशा राखेको उल्लेख गर्दै वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा सिर्जित अवस्थाले स्थानीय नागरिक र व्यवसायीहरू चिन्तित बनेको बताएका छन् ।

उनले विकास र सडक विस्तारको आवश्यकता स्वीकार गर्दै “सडक चौडा हुनुपर्छ भन्नेमा कसैको दुई मत नरहेको” उल्लेख गरेका छन् । तर वैकल्पिक सडक मार्गहरू उपलब्ध हुँदाहुँदै ऐतिहासिक तथा व्यापारिक महत्व बोकेको मुख्य बजार क्षेत्रलाई पूर्ण रूपमा भत्काउने शैली उचित नभएको उनको भनाइ छ ।

सर्राफले मुख्य सडक आसपासका नागरिकहरूले पुस्तौंदेखि दुःखजिलो गरेर बनाएको घर तथा व्यवसायको संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् । मुख्य सडकलाई पूर्ण रूपमा हटाउनेभन्दा ‘सहरी मार्ग’को अवधारणाअनुसार व्यवस्थित विकास गरेर सहरको मौलिकता, व्यापारिक संरचना र ऐतिहासिक पहिचान जोगाउनुपर्ने सुझाव उनले दिएका छन् ।

“विकासले जनतालाई न्याय दिनुपर्छ, उठिबास लगाउनु हुँदैन,” भन्दै उनले विकास र मानवीय संवेदनाबीच सन्तुलन कायम गर्न सरकारसँग आग्रह गरेका छन् ।

खुला पत्रमार्फत उनले प्रभावित नागरिकका लागि उचित क्षतिपूर्ति, कानुनी प्रक्रियाअनुसार व्यवस्थापन तथा पारदर्शी निर्णय प्रक्रियाको सुनिश्चितता गर्न माग गरेका छन् । मुख्य सडक क्षेत्रका बासिन्दाको भावना, सम्पत्ति र ऐतिहासिक महत्वको सम्मान गर्दै निर्णय लिनुपर्ने उनको जोड छ ।

अन्त्यमा सर्राफले प्रधानमन्त्री बालेनलाई वीरगञ्जबासीको भरोसा कायम रहने गरी न्यायपूर्ण विकासको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन् ।

सडक विस्तारको पृष्ठभूमि

सङ्घीय सरकारअन्तर्गत सडक विभागको सडक डिभिजन कार्यालय हेटौँडाले गत वैशाख ६ गतेदेखि वीरगञ्जको मुख्य सडक दायाँ–बायाँ २५/२५ मिटर विस्तार गर्ने अभियान सुरु गरेको थियो । विभागले सर्वोच्च अदालतको आदेश तथा स्वीकृत मापदण्डअनुसार सडक क्षेत्राधिकार खाली गराउने कार्य भइरहेको जनाएको छ ।

तर स्थानीय व्यवसायी तथा घरधनीहरूले पर्याप्त पूर्वसूचना बिना बजार क्षेत्रमा डोजर चलाइएको आरोप लगाउँदै आएका छन् । उनीहरूको भनाइमा सडक विस्तारअघि ट्राफिक व्यवस्थापन, वैकल्पिक मार्ग, बजार क्षेत्रको ऐतिहासिक महत्व तथा सम्भावित सामाजिक–आर्थिक प्रभावबारे विस्तृत अध्ययन र सार्वजनिक परामर्श हुनुपर्ने थियो ।

हाल वीरगञ्जको सडक विस्तार बहस विकास र संरक्षणबीचको सन्तुलनको विषय बनेको छ । पूर्वाधार विकास आवश्यक भए पनि प्रभावित नागरिकलाई न्यायपूर्ण क्षतिपूर्ति, पारदर्शी प्रक्रिया र दीर्घकालीन सहरी योजनासहित अघि बढ्नुपर्ने माग स्थानीयस्तरमा बलियो बन्दै गएको छ ।

स्थानीय सरकार, सम्बन्धित निकाय र प्रभावित पक्षबीच संवाद तथा सहमतिमार्फत समाधान खोजिएमा मात्र दिगो र न्यायपूर्ण विकास सम्भव हुने सरोकारवालाहरूको धारणा छ ।

- By Nepal Aajtak

26/05/2026

वीरगन्जको विकास, सहकारी पीडित र सडक विस्तारबारे संसद्मा सरकारको ध्यानाकर्षण

वीरगन्ज, १२ जेठ । मधेश प्रदेशको प्रमुख आर्थिक केन्द्र तथा देशको ठूलो राजस्व संकलन गर्ने महानगरपालिका वीरगन्जलाई विकास बजेटमा निरन्तर उपेक्षा गरिएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद Hari Pant ले संसद्मा बोल्दै वीरगन्जको विकास, सहकारी पीडितको समस्या तथा सडक विस्तारका क्रममा भएको क्षतिबारे गम्भीर प्रश्न उठाएका हुन्।

सांसद पन्तले राज्यलाई ठूलो मात्रामा राजस्व बुझाउने वीरगन्ज विकासका दृष्टिले भने सधैं पछाडि पारिएको आरोप लगाए। उनले यस वर्षको बजेटमा वीरगन्जस्थित ‘नारायणी रंगशाला’लाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरे। दशरथ रंगशालापछिको महत्वपूर्ण खेल पूर्वाधारका रूपमा रहेको उक्त रंगशालाको स्तरोन्नति आवश्यक रहेको उनको भनाइ थियो।

त्यसैगरी, उनले ऐतिहासिक महत्व बोकेको ‘नारायणी अस्पताल’को स्तरोन्नति तथा सेवा विस्तारका लागि पनि विशेष बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे। वीर अस्पतालभन्दा केही वर्ष मात्र कान्छो रहेको नारायणी अस्पतालको क्षमता वृद्धि अपरिहार्य भएको सांसद पन्तले बताए।

सांसद पन्तले वीरगन्जस्थित ‘सानो पाइला सहकारी’का बचतकर्ताको समस्यालाई समेत संसद्मा उठाएका छन्। विगत चार वर्षदेखि सहकारी बन्द हुँदा सर्वसाधारण बचतकर्ताहरू आफ्नो रकम फिर्ता नपाएर समस्यामा परेको उल्लेख गर्दै उनले पीडितहरूको निक्षेप रकम यथाशीघ्र फिर्ता गराउने प्रक्रिया सुरु गर्न सरकारसँग माग गरे।

यसैबीच, वीरगन्जको गण्डकदेखि भन्सारसम्मको करिब पाँच किलोमिटर सडक खण्ड विस्तारका क्रममा गरिएको घर भत्काउने कार्यप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरे। डेढ महिनाअघि डोजर प्रयोग गरेर दुवैतर्फका करिब १२ सय घर भत्काइएको उल्लेख गर्दै उनले पर्याप्त सूचना, योजना र मुआब्जाविना नागरिकलाई विस्थापित गरिएको आरोप लगाए।

लालपुर्जा भएका, नक्सापास गरिएका तथा वर्षौंदेखि सरकारी कर तथा दस्तुर बुझाउँदै आएका घरहरूलाई विना मुआब्जा भत्काइनु अन्यायपूर्ण भएको सांसद पन्तको भनाइ थियो। उनले यस्तो विषयलाई बागमती किनारका सुकुम्बासी बस्तीसरह दृष्टिकोणबाट नहेर्न सरकारलाई चेतावनीसमेत दिए।

आफ्नो सम्बोधनको अन्त्यमा सांसद पन्तले संसद्मा उठाइएका जनताका जायज माग तथा समस्याको यथाशीघ्र सुनुवाइ गर्न सरकारसँग आग्रह गरे। जनताको समस्या देख्ने, सुन्ने र त्यसको जिम्मेवार जवाफ दिने दायित्व सरकारको भएकोमा उनले विशेष जोड दिएका थिए।

- ब्युरो रिपोर्ट वीरगञ्ज, Nepal Aajtak

24/05/2026

मेनरोडलाई शहरी मार्ग कायम गर्न वीरगञ्जमा थाल बजाएर प्रदर्शन

वीरगञ्ज । वीरगञ्जको मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय संघर्ष समितिले आइतबार थाल बजाएर विरोध प्रदर्शन तथा सरकारको ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ।

वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले वीरगञ्जको मेनरोड परिक्रमा गर्दै घण्टाघरसम्म पुगेर थाल बजाउँदै सरकारसमक्ष शहरी मार्ग घोषणा गर्न आग्रह गरेका थिए।

संघर्ष समितिले मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथ स्थानान्तरण निर्णय पूर्ण रूपमा कार्यान्वयन भइसकेको दाबी गरेको छ। समितिका अनुसार मेनरोडबाट त्रिभुवन राजपथ हटाउने प्रक्रिया सम्पन्न भइसकेको छ भने नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन गरिसकिएको छ।

समितिले अब मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग कायम गर्नुपर्ने माग अघि सारेको छ। प्रदर्शनमा सहभागीहरूले मेनरोडलाई शहरी मार्ग घोषणा गरिए यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने तथा शहरको सौन्दर्यीकरणमा समेत टेवा पुग्ने बताएका थिए।

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियार ले सरकारसमक्ष मागप्रति शीघ्र ध्यान दिन आग्रह गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्।

समितिले सरकारलाई मेनरोडको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यसलाई स्थायी रूपमा शहरी मार्गको मान्यता प्रदान गर्न आग्रह गरेको छ।

- Nepal Aajtak

संसद् र सरकारको भूमिकामाथि बढ्दो प्रश्न: बहुमतबीच उत्तरदायित्वको परीक्षाकाठमाडौं, २९ वैशाख । प्रतिनिधि सभामा अत्यधिक बहु...
12/05/2026

संसद् र सरकारको भूमिकामाथि बढ्दो प्रश्न: बहुमतबीच उत्तरदायित्वको परीक्षा

काठमाडौं, २९ वैशाख । प्रतिनिधि सभामा अत्यधिक बहुमतसहित सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि संसद्प्रति उत्तरदायी नभएको आरोप तीव्र बन्दै गएको छ। प्रतिनिधि सभामा १८२ सांसदसहित स्पष्ट बहुमतमा रहेको रास्वपाले लेखा समितिबाहेक अधिकांश विषयगत समितिको नेतृत्वसमेत सम्हालिरहेको अवस्थामा सरकारको कार्यशैलीमाथि संसद्भित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्न थालेका छन्।

वरिष्ठ नेता Balendra Shah को नेतृत्वमा रहेको वर्तमान सरकारले कार्यपालिका शक्तिलाई अत्यधिक केन्द्रित गरेको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन्। प्रधानमन्त्री स्वयंले गृह तथा रक्षा जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका कारण सरकार थप शक्तिशाली बनेको भए पनि त्यसअनुसारको संवेदनशीलता र उत्तरदायित्व नदेखिएको टिप्पणी भइरहेको छ।

विपक्षी दलहरूको आरोप अनुसार सरकारले संसद्लाई पर्याप्त प्राथमिकता नदिई अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति बढाएको छ। सरकारले संसद् अधिवेशन ढिलो बोलाएको, बजेटपूर्व छलफललाई हतारमा सीमित गरेको तथा सांसदहरूले दिएका सुझावहरू बजेट निर्माण प्रक्रियामा समावेश नगरेको गुनासोसमेत उठेको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री Pushpa Kamal Dahal नेतृत्वको सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्दै प्रि–बजेट छलफललाई संस्थागत गर्ने प्रयास गरे पनि त्यसलाई निरन्तरता दिन वर्तमान सरकार असफल भएको आरोप विपक्षीको छ।

संसद्लाई “बाइपास” गरिएको आरोपबारे रास्वपाले भने अध्यादेशलाई विकास निर्माणका कामलाई गति दिन तथा प्रशासनिक जटिलता समाधान गर्ने वैधानिक माध्यमका रूपमा व्याख्या गर्दै आएको छ। तर, विपक्षीहरू सरकार संसद्को बहस, संवाद र जवाफदेहिताबाट टाढिन खोजेको दाबी गर्छन्।

प्रधानमन्त्रीको संसद्मा न्यून उपस्थिति पनि आलोचनाको अर्को विषय बनेको छ। संसद्को पहिलो अधिवेशनमा सम्बोधन नगरेको, सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुको सट्टा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्ने प्रवृत्ति देखिएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्।

विपक्षी सांसदहरूको भनाइमा लोकतन्त्र केवल बहुमतको शासन नभई संवाद, बहस, सहमति र उत्तरदायित्वको प्रणाली हो। संसद्मा जनप्रतिनिधिहरूले उठाएका जनताका सवालहरूको सम्बोधन नगरी सरकार सामाजिक सञ्जाल र प्रशासनिक निर्णयमै सीमित हुन खोजेको उनीहरूको आरोप छ।

संसदीय समितिहरूमा प्रधानमन्त्रीको अनुपस्थितिले पनि सरकारप्रति अविश्वास बढाएको विपक्षीको भनाइ छ। सुकुम्बासी व्यवस्थापन, सीमासम्बन्धी विवाद, सार्वजनिक सेवा सुधार, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता संवेदनशील विषयमा संसद्मार्फत स्पष्ट जवाफ नआएको भन्दै सरकारमाथि दबाब बढिरहेको छ।

विपक्षी दलहरूले सरकारलाई “संख्याको दम्भ” नदेखाउन चेतावनी दिँदै लोकतान्त्रिक संस्थाहरूको गरिमा कायम राख्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा संसद्, न्यायपालिका र कार्यपालिका बीचको संवैधानिक सन्तुलन कमजोर भए लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास घट्ने जोखिम रहन्छ।

विश्लेषकहरूका अनुसार अत्यधिक बहुमत प्राप्त सरकारले संसद्लाई जीवन्त बहसको थलो बनाउनुको सट्टा औपचारिक वैधानिकता दिने संस्थाका रूपमा सीमित गर्न खोजे लोकतान्त्रिक संस्कृतिमाथि नकारात्मक प्रभाव पर्न सक्छ। विशेषगरी अभिव्यक्ति स्वतन्त्रता, सञ्चारमाध्यम नियमन तथा नागरिक अधिकारका विषयमा सरकारको कदमप्रति नागरिकस्तरमा चासो बढ्दो देखिएको छ।

यता सरकार पक्षले भने सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा तीव्रता ल्याउन आफूहरू केन्द्रित रहेको दाबी गर्दै आएको छ। तर संसद्मा उठिरहेका प्रश्नहरूबाट सरकार अब धेरै समय टाढा रहन नसक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

- By Nepal Aajtak

12/05/2026

वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं, २९ वैशाख — हरि पन्त ले वीरगञ्जको सडक विस्तारसम्बन्धी देखिएको अन्योल र विवादप्रति संघीय संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पन्तले वीरगञ्ज अहिले सडक विस्तार विवादका कारण इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे। उनले सडक विस्तारको विषयमा देखिएको अन्योल अन्त्य गर्दै सरकारले शीघ्र ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याए।

पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले भारतबाट नेपाल भित्रिने अधिकांश मालवाहक सवारीसाधन ड्राइपोर्ट हुँदै प्रवेश गर्ने भएकाले उक्त राजमार्गको महत्व अत्यन्त संवेदनशील रहेको बताए। उनले सडक विस्तारको मापदण्ड २५/२५ मिटर कायम गर्ने विषयमा स्थानीयस्तरबाट विभिन्न आवाज उठिरहेको भन्दै सरकारले सरोकारवालासँग समन्वय गरी स्पष्ट निर्णयमा पुग्नुपर्ने धारणा राखे।

सांसद पन्तले सडक विस्तारको अन्योल हटाएर निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाउनुपर्ने तथा त्यसबाट प्रभावित वीरगञ्जको उद्योग, व्यापार र बजार क्षेत्रलाई सहज र पूर्ववत् अवस्थामा फर्काउन सरकारसँग माग गरे।

संसद्मा बोल्दै उनले भने, “करिब एक महिना अगाडि १४० वर्षअघि वीर शमशेरले बसाएको आधुनिक वीरगञ्जको मुख्य बजार क्षेत्र गण्डकदेखि रक्सौलसम्म सडकका दुवैतर्फ डोजर चलाइएको छ। देशलाई कुल राजस्वको करिब ६० प्रतिशत योगदान दिने वीरगञ्ज बजार अहिले अस्तव्यस्त र प्रभावित बनेको छ।”

उनले एउटै राजमार्गअन्तर्गत हेटौंडामा २५–२५ गजसम्म मात्रै संरचना हटाइएको तर वीरगञ्जमा भने २५ मिटर मापदण्ड लागू गरिएको भन्दै विभेदपूर्ण व्यवहार भएको गुनासो समेत गरे।

वीरगञ्जमा जारी सडक विस्तार अभियानका कारण स्थानीय व्यवसाय, व्यापारिक गतिविधि तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै प्रभावित पक्षहरूले पछिल्लो समय निरन्तर विरोध जनाउँदै आएका छन्।

- By Nepal Aajtak

12/05/2026

वीरगञ्जको सडक मापदण्ड घटाउन स्थानीयको माग, मेयरसमक्ष भावुक अपील

वीरगञ्ज, २९ वैशाख (२०८३) — वीरगञ्जमा जारी सडक विस्तार तथा सडक मापदण्डको विषय पुनः चर्चामा आएको छ। मुख्य सडक क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाले हाल कायम गरिएको सडक मापदण्डका कारण आफूहरू विस्थापनको जोखिममा परेको भन्दै महानगरपालिकासँग पुनरावलोकनको माग गरेका छन्।

वीरगञ्जका स्थानीय तथा बीरगञ्ज युवा तथा व्यापारी सडकपीडित संघर्ष समितिका एक संयोजक सदस्य कुन्दन रौनियारले एक भिडियो सन्देश सार्वजनिक गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुखसँग सडकको विद्यमान मापदण्ड घटाउन आग्रह गरेका हुन्। उनले वर्तमान अवस्थामा पुरानै मापदण्ड कायम राख्दा सर्वसाधारणको उठीबास हुने अवस्था सिर्जना भएको दाबी गरेका छन्।

रौनियारले वीरगञ्जको मुख्य सडकमा अहिले ट्रक, बस लगायतका ठूला सवारी साधनको सञ्चालनमा रोक लगाइएको तथा राजमार्गसमेत अन्यत्र स्थानान्तरण भइसकेको अवस्थामा विगतकै आधारमा सडक विस्तारको मापदण्ड कायम गर्नु उपयुक्त नहुने बताएका छन्। “सहरको स्वरूप र यातायात व्यवस्थापनमा परिवर्तन भइसकेको अवस्थामा पुरानै मापदण्ड लागू गर्दा स्थानीय नागरिक अन्यायमा पर्ने अवस्था छ,” उनले भिडियो सन्देशमा उल्लेख गरेका छन्।

उनले हालको मापदण्डका कारण धेरै परिवार आफ्नो पुर्खौंदेखिको बसोबास गुमाउने अवस्थामा पुगेको भन्दै महानगरपालिकाले मानवीय दृष्टिकोणबाट निर्णय लिनुपर्ने माग गरेका छन्।

नगर प्रमुखलाई “नगरको पिता” को संज्ञा दिँदै रौनियारले जनताको पीडा बुझेर मापदण्ड घटाउनेतर्फ पहल गर्न आग्रह गरेका छन्। भावुक हुँदै उनले भनेका छन्, “मेयर साब, वीरगञ्जबासीलाई जोगाइदिनुस्। मनको पीडाले केही बोलेको भए माफी चाहन्छु, तर हामीलाई उठीबास हुनबाट बचाइदिनुस्।”

उनले समस्या समाधानका लागि महानगरपालिकाले संवेदनशील भूमिका खेले सम्पूर्ण नगरवासीको तर्फबाट मेयरलाई सम्मान गरिने समेत बताएका छन्।

वीरगञ्जमा सडक विस्तार, सिमाङ्कन तथा सडक मापदण्डको विषय लामो समयदेखि विवाद र बहसको केन्द्रमा रहँदै आएको छ। स्थानीय बासिन्दा, व्यापारी तथा सरोकारवालाबीच मापदण्ड, क्षतिपूर्ति र व्यवस्थापनको विषयमा निरन्तर मतभेद देखिँदै आएको अवस्थामा पछिल्लो अपीलले महानगरपालिकामाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

- By Nepal Aajtak

Address

वीरगंज, पर्सा, नेपाल
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Nepal Aajtak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share