11/08/2026
साउन २८ गते बुटवल र भैरहवामा सहज हुँदैछ ग्यास वितरण, १० बजेदेखि विभिन्न उद्योगका सिलिन्डर बिक्री हुने
बुटवल । खाना पकाउने एलपी ग्यासको अभाव र वितरणमा देखिएको समस्या समाधान गर्न बुटवल र भैरहवामा ग्यास वितरणलाई थप व्यवस्थित गरिने भएको छ। साउन २८ गते बिहान १० बजेदेखि तोकिएका स्थानबाट विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री वितरण गरिने भएको हो।
नेपाल आयल निगम, ग्यास उद्योगी, ग्यास विक्रेता संघ तथा उपभोक्ता संघबीच भएको संयुक्त छलफलपछि ग्यास वितरणको व्यवस्था मिलाइएको निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जनाएको छ।
यसअघि ग्यास सिलिन्डर बिक्री सुरु भएपछि बजारमा उपभोक्ताबाट गुनासो बढेको थियो। विशेषगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेको गुनासो गर्ने उपभोक्तालाई प्राथमिकता दिइने निर्णय गरिएको छ।
निगमका अनुसार बुटवल उपमहानगरपालिका–स्थित लुम्बिनी वाणिज्य क्याम्पस, देवीनगरबाट बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, लुम्बिनी ग्यास र त्रिशूल ग्यास बिक्री गरिनेछ।
त्यस्तै, भैरहवास्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट बुटवल ग्यास, स्वस्तिक ग्यास, सिद्धार्थ ग्यास, त्रिशूल ग्यास र चण्डेश्वरी ग्यास बिक्री वितरण हुने सूचनामा उल्लेख छ।
यसअघि निगमले राष्ट्रिय खाद्य तथा व्यापार कम्पनीको परिसरबाट ५४० थान तथा बुटवलको हटबजार लाइन बालमन्दिरबाट ८२८ थान ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउन सहयोग गर्नसमेत अनुरोध गरेको छ। नेपाल आयल निगमले हाल एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ।