07/10/2026
बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि नरिश्वर शर्मा पौडेल टिमकाे उम्मेदवारी घाेषणा
उद्योगी–व्यवसायीको हकहितलाई प्राथमिकतामा राख्छु : अध्यक्ष उम्मेदवार पौडेल
बुटवल । बुटवलको उद्योग–व्यवसाय क्षेत्रको पुरानो र प्रतिष्ठित संस्था बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नरिश्वर शर्मा पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन्।
संघको २६औँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका आकांक्षीका रूपमा पौडेलले आज बुटवलमा पत्रकार सम्मेलनमार्फत आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्षसमेत रहेका पौडेल उद्योगी–व्यवसायीका बीचमा लामो समयदेखि सक्रिय व्यक्तिका रूपमा चिनिन्छन्। स्थानीय तहको जनप्रतिनिधिका रूपमा सार्वजनिक जिम्मेवारी निर्वाह गरिरहेका पौडेलको उद्योग–व्यवसाय क्षेत्रसँगको सम्बन्ध पनि पुरानो हो।
पौडेल यसअघि बुटवल उद्योग वाणिज्य संघमा वाणिज्य उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। २०७७/७८ को नेतृत्व चयनका क्रममा उनी वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका थिए।
उद्योग–व्यवसायको अनुभवसँगै सामाजिक नेतृत्व
पौडेलको परिचय राजनीतिक र स्थानीय जनप्रतिनिधिको भूमिकामा मात्र सीमित छैन। उनी लामाे समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा समेत संलग्न रहँदै आएका छन्। उनको परिवार नै रुपन्देहीको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय रहेको देखिन्छ। यशोदा फुड प्रोडक्टसहित विभिन्न उद्योगमा परिवारको संलग्नता रहेको छ ।
संघको विभिन्न गतिविधिमा सक्रिय रहेकै क्रममा उनी २०८० सालमा कार्यसमिति सदस्यका रूपमा समेत मनोनीत भएका थिए।
जनप्रतिनिधिको जिम्मेवारी पनि सँगसँगै
पौडेल बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष समेत हुन ।
अध्यक्षमा किन उम्मेदवारी ?
बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि पौडेलले उद्योगी–व्यवसायीको हितमा काम गर्ने उद्देश्यसहित अध्यक्ष पदमा अघि बढेको बताएका छन्। उनले उद्योगी तथा व्यवसायीका समस्या समाधान गर्न संघको नेतृत्व आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन्।
उनको उम्मेदवारीसँगै आगामी निर्वाचनमा संघको नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। अध्यक्ष पदका लागि टंकप्रसाद गैरे र दिनेशप्रसाद श्रेष्ठ पनि आकांक्षीका रूपमा देखिएका छन्। गैरे संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने श्रेष्ठ यसअघि अध्यक्ष पदमा प्रतिस्पर्धा गरिसकेका व्यवसायी हुन्।
अनुभव र जनसम्पर्क पौडेलको मुख्य आधार
उद्योग–व्यवसाय क्षेत्रको अनुभव, संघमा विभिन्न जिम्मेवारी निर्वाह गरेको पृष्ठभूमि र स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव पौडेलको उम्मेदवारीका प्रमुख आधार देखिन्छन्।
विशेषगरी उद्योगी–व्यवसायीका समस्या स्थानीय सरकार तथा सम्बन्धित निकायसम्म पुर्याउन र निजी क्षेत्र तथा सरकारबीच समन्वय कायम गर्न आफू सक्षम हुने पौडेल पक्षको दाबी छ।
बुटवलमा व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्दै आएका कर, बजार व्यवस्थापन, पूर्वाधार, बैंक तथा वित्तीय क्षेत्र, सीमावर्ती बजारसँगको प्रतिस्पर्धा तथा लगानीमैत्री वातावरण निर्माणजस्ता विषय आगामी नेतृत्वका लागि महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन्।
पुरानो संस्थाको नेतृत्वका लागि नयाँ प्रतिस्पर्धा
बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते बुटवल व्यापार संघका रूपमा स्थापना भएको संस्था हो। अहिले संघमा करिब २ हजार २ सय सदस्य रहेका छन् । लामो इतिहास बोकेको संघले बुटवल तथा रुपन्देहीको उद्योग–व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस्तो ऐतिहासिक संस्थाको अध्यक्ष पदका लागि पौडेलको उम्मेदवारीलाई व्यवसायी क्षेत्रमा चासोका साथ हेरिएको छ। एकातिर उद्योग–व्यवसाय क्षेत्रको अनुभव र अर्कोतर्फ स्थानीय जनप्रतिनिधिका रूपमा प्राप्त राजनीतिक तथा सामाजिक अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।
अबको निर्वाचनले पौडेलसहित अध्यक्ष पदका आकांक्षीमध्ये कसलाई बुटवलका उद्योगी–व्यवसायीले आफ्नो नेतृत्वका रूपमा रोज्छन् भन्ने निर्धारण गर्नेछ। अध्यक्ष पदको प्रतिस्पर्धासँगै संघको आगामी कार्यसमितिमा कुन समूह र कस्ता एजेन्डाले प्राथमिकता पाउँछन् भन्ने विषय पनि उत्तिकै चासोको विषय बनेको छ।
उद्योगी–व्यवसायीको हकहित, लगानीको वातावरण र बुटवलको आर्थिक विकासलाई केन्द्रमा राखेर नेतृत्व गर्ने प्रतिबद्धतासहित पौडेल अध्यक्षको दौडमा अघि बढेका छन्।
उनकाे टिमबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई उम्मेदवार बनेका छन ।
उनी हाल संघकाे उद्योग उपाध्यक्षका रूपमा कार्यरत छन् ।
यस्तै उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम बिश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, काेषाध्यक्षमा प्रतीक पाेखरेल, सचिवमा दिपकप्रसाद चापागाईं र काेषाध्यक्षमा कमला पाेखरेल पराजुली ( मन्जु ) ले उम्मेदवारी घाेषणा गरेका छन् ।