
04/09/2025
अछाममा दुःखद घटना : दुई युवती मृत फेला, अनुसन्धान अघि बढ्दै
अछाम – अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–६ रानीवन बाडेपानीमा एकै परिवारका दुई युवती मृत अवस्थामा फेला परेपछि स्थानीयवासी स्तब्ध बनेका छन्।
सर्वे कामीकी छोरी साजनी विक र कमल विककी छोरी फिर विक आज बिहानै एकै स्थानमा झुण्डिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। घटनास्थलमा ठूलो संख्यामा स्थानीयको भीड लागेको छ भने घटनाबारे प्रहरी टोली अनुसन्धानमा खटिएको छ।
अचानक यसरी दुई युवतीको मृत्यु भएपछि यसको कारणबारे अनेकौं शंका उत्पन्न भएको छ। प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। प्रारम्भिक अनुसन्धानले घटनाको स्वरूप आत्महत्या वा अन्य कुनै आपराधिक गतिविधि हुन सक्ने सम्भावना खुला छ। तर, आधिकारिक निष्कर्ष आउन बाँकी छ।
स्थानीय बासिन्दाले घटनाबारे सत्य तथ्य उजागर गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले यस्तो घटनाको रहस्य चाँडै सार्वजनिक गर्न आग्रह गरेका छन्। साथै, यस्ता दुःखद घटना दोहोरिन नदिन समयमै सचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिएका छन्।