20/10/2025
इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै स्वदेश ल्याइएर कञ्चनपुर पठाइने भएको छ। विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विपिनको शव काठमाडौंबाट धनगढी हुँदै उनको जन्मस्थान भिमदत्त नगरपालिका, कञ्चनपुर लगिनेछ, जहाँ आजै अन्तिम संस्कार गरिने तयारी छ। इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
डीएनए परीक्षण र फरेन्सिक रिपोर्टका आधारमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। अध्ययनका सिलसिलामा इजरायल पुगेका विपिन जोशीलाई २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा अपहरण गरेको थियो। उनको मृत्यु अपहरणकै क्रममा भएको फरेन्सिक जाँचमा पाइएको छ।
नेपाल ल्याउनुअघि विपिनप्रति इजरायलको तेल अवीवस्थित बेनगुरियन विमानस्थलमा विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो। विपिनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो, जसले नेपाली समुदाय र इजरायली अधिकारीबीच भावनात्मक दृश्य सिर्जना गरेको बताइएको छ।