03/06/2026
लैङ्गिक हिंसा न्यूनीकरणका लागि ७ बुँदे प्रतिबद्धता, नेत्रावती डबजोङमा सचेतना कार्यक्रम सम्पन्न
www.edivyadarshantv.com
धादिङ, जेठ २०— नेत्रावती डबजोङ गाउँपालिकाको न्यायिक शाखाको आयोजनामा न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि तथा महिला समूहका प्रतिनिधिहरूबीच लैङ्गिक हिंसा र सचेतना कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, पीडितको अधिकार संरक्षण, न्यायमा पहुँच तथा समुदायस्तरमा सचेतना अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सीता माया चोदेनले लैङ्गिक हिंसा समाजको गम्भीर चुनौती भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले हिंसामुक्त, सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, कानुनी जानकारी र सामुदायिक सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।
उहाँले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा, विभेद र अन्यायविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताउँदै पीडितलाई न्याय दिलाउन स्थानीय तह सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, महिला समूह तथा सरोकारवालाहरूले लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, पीडितलाई सहज न्यायमा पहुँच सुनिश्चित गर्ने, सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने, संरक्षण तथा परामर्श सेवाको विस्तार गर्ने, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने, स्थानीय तहमा समन्वय र जवाफदेहिता अभिवृद्धि गर्ने तथा सकारात्मक सामाजिक सोचको विकास गर्ने लगायत ७ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले समुदायमा न्याय, मेलमिलाप र सहअस्तित्वको भावना विकास गर्नुका साथै लैङ्गिक हिंसामुक्त समाज निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
“समुदायमा न्याय, मेलमिलाप र सहअस्तित्व सभ्य समाजको आधार” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।