20/08/2026
साउन महिनामा मात्रै ७० हजारभन्दा बढी नेपालीले #वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको श्रम, रोजगार तथा वैदेशिक रोजगार विभागले जनाएको छ। ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेशिने क्रम जारी रहँदा सरकारले भने विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने नीति तथा योजना अघि सारेको बताउँदै आएको छ।
सत्तापक्षका सभापति रवि #लामिछानेले यसअघि १०० दिनभित्र विदेशका गल्ली–गल्लीमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउने आश्वासन दिएको भए पनि वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्न नसकेको भन्दै नागरिकस्तरबाट सरकारप्रति प्रश्न उठ्न थालेको छ।
सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र विदेशिएका नेपालीलाई फर्काउने नीति अघि सारेको दाबी गरिरहँदा अर्कोतर्फ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च रहनुले सरकारी नीति र कार्यान्वयनबीचको अन्तरलाई उजागर गरेको देखिन्छ।
युवालाई स्वदेशमै टिकाउन पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा बाध्य भएर विदेशिनुपर्ने अवस्था कायमै रहेको भन्दै नागरिकहरूले सरकारको रोजगारी नीति र प्रतिबद्धताको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।