01/09/2026
आकाशबाट जीवन बचाउँदै नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी 🙏🇳🇵
नेपालमा बाढी र पहिरोले ठूलो विपत्ति निम्त्याइरहेका बेला आकाशबाट जीवन बचाउने अभियानमा नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी निरन्तर सक्रिय छिन्। पछिल्ला ६ दिनमा उनले करिब १०० वटा उद्धार उडान पूरा गर्दै सयौँ प्रभावितलाई सुरक्षित स्थानमा पुर्याएकी छन्।
रसुवाको टिमुरेसहित नेपाल–तिब्बत सीमावर्ती क्षेत्रका अत्यन्त जोखिमपूर्ण स्थानमा बाक्लो हिलो, क्षतिग्रस्त संरचना र कठिन भौगोलिक अवस्थाबीच उनले लगातार उडान भरिरहेकी छन्। कतिपय स्थानमा हेलिकप्टर अवतरण गरेपछि इन्जिन बन्द गर्नसमेत सम्भव नहुने भएकाले इन्जिन चालु राखेरै उद्धार गर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेको छ।
उद्धारका क्रममा आकाशबाट उनले बाढीले निम्त्याएको विनाश, छरिएका शव र ध्वस्त जलविद्युत् आयोजनाका दृश्यहरू आफ्नै आँखाले देखेकी छन्। तर, संकटमा परेका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउन पाउँदा सबै थकान र कठिनाइ बिर्सिने उनी बताउँछिन्।
केबिन क्रुबाट सुरु भएको प्रिया अधिकारीको यात्रा आज हजारौँ नेपालीका लागि आशा र साहसको प्रतीक बनेको छ। सन् २०१७ देखि हेलिकप्टर पाइलटका रूपमा कार्यरत उनी अहिले नेपालको कठिनतम उद्धार अभियानको अग्रपंक्तिमा रहेर निरन्तर सेवा दिइरहेकी छन्।
विपत्तिको यो कठिन घडीमा उनको साहस, समर्पण र सेवाभावप्रति सम्मान। 🙏❤️🇳🇵