Saran Rai (सरण राई )

Saran Rai (सरण राई ) I am an Author andI love ordinary people and write for them .Ordinary men are great - the foundation of sociaty.

सबै साहित्त्यकार एवं साहित्यप्रेमी नेपालीहरूमा समर्पण गर्दै.....विस्थापित मुटुसरण राईबाबु मरे आधा टुहुरा, आमा मरे पूरै ट...
12/11/2025

सबै साहित्त्यकार एवं साहित्यप्रेमी नेपालीहरूमा समर्पण गर्दै.....

विस्थापित मुटु
सरण राई

बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा ।
‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’
बोजुको मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् ।
बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ ।
नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्कित गर्नु पर्ने र ती सबलाई ठीक प्रकारले बुझेर बोली र शब्दमा प्रकट गर्नु पर्ने उमेरमा राम्रा र नराम्राको अनुभूति, माया, ममता, प्रेम, घृणा, उपहास, हेला, विवेध र विभिन्नताको महसुसीकरण र त्यसको स्वाभाविक सहज प्रकटीकरण गर्ने उमेर ! मन परे मुस्कुराउने, हाँस्ने र प्रफूल्लित भएर वातावरण र परिवेश झलमल्ल पार्ने; मन नपरे चिच्याएर, रोएर बिरोध, बिद्रोह र आक्रोश पोख्ने निश्छल बाल उमेर ! त्यही उमेरमा आमाबाबु, प्रिवार र आफन्तजनको सबैभन्दा बढी माया चाहिन्छ । आमाको काखमा लुट्पुटिएर मुस्कुराउने, हाँस्ने र रुने उमेर !
‘छोरालाई भनाँै कि क्या हो ? बुहारी सा¥है बरालिन थाली । नानीलाई खाजा पु¥याउने निहुँ गरेर घरबाट निस्किन्छे, दिनभर बेपत्ता हुन्छे ।’
‘के भन्नु ? आमाबाबुले छोराबुहारीको सम्बन्ध बिगारी दिए, भन्लान् । बेकारमा दोष मात्र लाग्ला ।’, म भन्छु । हुन त मलाई पनि बुहारीको स्वच्छन्द चलन र व्यवहार मन परेको छैन । हामी परदेशमा हुँदा बुहारी राती अबेला मात्र धर आउथी । सकीनसकी आमा आफैँ खाना पकाउनु हुन्थ्यो, कुनै कुनै रात त घर नै पनि आइन रे भनेर आमाले सुनाउनु भएको थियो । मैले त्यसलाई सानो कुरा भनेर खासै महत्व दिइनँ ।
हामी सासुससुरा घरमा हुँदा बुहारी दिनभर घुमे पनि बेलुकी ठीक समयमा नै घर आउँथी । तर अब केही दिनदेखि भने अबेला राती फर्किन थालेकी छे । छोरा पनि उस्तै छ, राती दस बजेभन्दा अगाडि घर आउँदैन । अब त अचाक्ली भयो । बुहारी अझै घर आएकी छैन । म छोरालाई उसको मोबाइल फोनमा भन्छु ‘बुहारी अझै घर आएकी छैन । तँ पनि आउदैनस्, नानीहरूको विजोग भयो ।’
‘बुहारी माइती गएकी छे, भोलि मात्र आउँछे ।’ केहीबेर पछि छोराले फोनमै जवाफ दिन्छ । बुहारीसँग मोबाइल फोनमा कुरा गरेर जवाफ दिएको हो भन्ने म लख काट्छु ।
हामी बुढाबुढीले के बोल्ने ? बुहारी छोराको खटनमा हुनुपर्ने हो । जब छोरालाई नै बुहारीको चालचलन, गतिविधि र हिडाइडुलाइबारे चिन्ता छैन । बुहारी घरमा नभए पनि नातिनातिनी, बुढी सासु (मेरी आमा) लाई भोकै राख्नु भएन । जीवनमा हार खान नमान्ने, नजान्ने मेरी धर्मपत्नी बोजुले मलाई जीवनको सुख दुःखको दौडमा साथ दिई र म यहाँसम्म यो अवस्थामा आइपुग्न सकेको छु । तिनकै साथ, सहयोग र आडभरोसामा आफ्नो आस्था, विचार र विवेकको धरातलमा अडिन सकेको छु । तिनी आजसम्म पनि विचलित भएकी छैनन्, सकीनसकी खाना पकाउछिन् । सासु, केटाकेटी र मलाई खाना खुवाउछिन् र भन्छिन्, ‘यो बुढेसकालमा छोराबुहारीले पो हेर्छन् भनेको त उल्टो आफूले पो उनीहरूलाई समेत हेर्नुपर्ने भयो ।’
‘के गर्छौ त ? युग पूरै आधुनिक भएको छ । नारीहरू स्वतन्त्र भएका छन् । भातभान्सामा सीमित अघिल्लो पुस्ताको तिमीजस्तै बुहारी हुन सक्तिन ।’ म मनभरि झुसिलो अमिलो स्वादको अनुभूति गर्दै भन्छु ।
‘होइन, हाम्रो छोरा नै पानीमरुवा, लाछी, जोइटिङ्ग्रे । स्वास्नीलाई तह लाउन नसक्ने । ऊ त काम गर्दैन, गर्दैन, बुहारीलाई समेत बिगा¥यो । बुहारीलाई फेसन गर्न लगायो, तथाकथित आधुनिक रहनसहनको अन्धा अनुयायी बनायो ।’
‘कसरी ?’
‘पोहोरदेखि नै बुहारी बिग्रिन थालेकी हो । हामीले भनेका थियौँ, ‘काखको नानी सानो छ, त्यो काम नलाग्ने तीन महिने, छ महिने व्यावसायिक तालिम गर्न नपठा ।’ तर उसले पठायो । आफ्नो आर्थिक हैसियतको वास्ता नगरी उल्टो आपूmसित भएको माखामुन्द्री मासेर स्कुटर किनिदियो । जागिर छैन, आम्दानी छैन । किन स्कुटर चाहियो । अर्काले हात्ती चढ्यो भनेर धुरी चढ्यो । ‘बाँदरलाई लिस्नु’ स्कुटर किनेपछि त कहिले कहाँ, कहिले कहाँ ? घरमा दिनभर हुँदिनथी, हुँदिनथी, अब त राती पनि घर आउन छाडी ।’
‘छोराले माइती गएकी छे भनेपछि कुरा सकियो ।’
‘छोरा त खेर गएको छ । स्वास्नीको फरियामा लुट्पुटिएर बस्छ । स्वास्नीले धोका दिइरहेकी पनि थाहा पाउदैन ।’
‘धोका नै त दिएकी छैन होला ।’
‘धोका दिइ सकी । छिमेकीहरूले पनि उसलाई रेस्टुराँ र होटेलहरूमा निकै पल्ट भेटेकादेखेका रहेछन् । मलाई त लाग्छ बुहारी केटाहरूसँग लागेकी छे । केटा खेलाउँदै छे कि केटाहरूले खेलाइरहेका छन् । नत्र दिनभर कहाँ हराउछे, नकच्चरी, बाइफाल्नी.... साँझमा मातेर पनि आउन थालेकी छे, इज्जत माटोमा मिलाई ! बालक काखे छोराको पनि माया छैन, वास्ता छैन ।’
‘त्यसो भन्नु हुँदैन ।’ म तिनको झ्वाँक अलिक मत्थर बनाउने हेतुले भन्छु, ‘नाति खेलाउन पाएका छौँ, बुहारीलाई धन्यवाद दिनुपर्छ । नातिनातिनीहरू पाइ दिई । नातिनीहरू त हुर्कि सके भन्दा पनि भयो । नाति सानै छ त्यो पनि हुर्किन्छ । अरू हामीलाई के चाहियो ?’
‘यो बुढो ! छक्क पर्छु, अरु के चाहियो ? भन्नु हुन्छ । के चाहिएको छैन ? बुहारी हो, उसले हाम्रो स्याहार सम्भार गर्नु परेन ? बुढी आमालाई हेर्नु परेन । नातिनातिनीहरू हेर्नु परेन ? घर हेर्नु परेन ? घर हेर्दिन भने पनि नाति त हेर्नु पर्ने हो । नाति मेरो भरमा छ । ठीकै छ म सन्च भएँ भने आफ्नो नाति हो जसरी पनि हेर्छु, हुर्काउँछु । त्यो बजिनी पोइल नै जान्छे भने पनि नातिलाई अरुभन्दा घटी हुन दिन्नँ ।’
‘यही तिम्रो साहसी आँटिलो बानी मनपर्छ । तर तिमी आफै बिरामि भइरहन्छ्यौ । बुढाबुढी हामी के गर्न सकौलाँ ? हामी नै पनि कति बाँच्छौँ र ? आज हो कि भोलि ...।’
‘यो मान्छेको कुरा ! ‘मर्नुभन्दा अगाडि खुट्टा तन्काउनु’ हुँदैन । जहिलेसम्म बाँच्छौँ, बाँच्छौ, हामी बाचुन्जेल नातिनातिनाहरूले टुहुरापन महसुस गर्न नपाऊन् । आज हो कि भोलि ...त्यसो भनेर धर पाइन्छ ? जिम्मा आइ लागे पछि बिरामी भन्न पाइन्छ ? आफ्ना नातिनातिनाहरू हुन् टाउकाले टेकेर पनि सक्नु प¥यो नि ।’
हो पनि, अब बुहारीको भर भएन । छोरा त हाम्रो अगाडि चेब्रे पार्ने मात्र हो । बुहारीको वकालत गर्छ । घरको ल्यान्डलाइन फोनमा समेत केटाहरूले बुहारीलाई फोन गर्न थालेका छन् । मोबाइलमा नै फेसबुक र नेट आइहाल्छ । नेट र फेसबुक ! हुन त म पनि नेट, फेसबुक र त्यहाको साहित्यिक सञ्जालमा नरामर्री नै भुलिन्छु । सयौँ साहित्यकारहरू त्यहा भेटेको छु । मलाई बुढेसकाल बिताउन कम्प्युटर उपयोगी भएको छ । नयाँ कुरा र ज्ञानहरू नेटबाट सिक्न सकिने भए पनि फेसबुक, च्याट, ट्वीटर, गेम, स्काइपआदि प्रोग्रामहरू आजभोलि केटाकेटी भुलाउने र बिगार्ने साधन पनि बन्न गएका छन् । चौबिसै घण्टा मोबाइल फोन मुखमा झुन्डिएको हुन्छ, मोबाइल हेरेको छ, छ । को कोसँग कुरा गरिरहेकी हुन्छे ? कति व्यस्त ! घरको काममा ध्यान दिन छाडेकी छे, सधैँ उम्कने दाउमा हुन्छे । एउटा एउटा निहुँ पा¥यो, घरबाट निस्केपछि बेपत्ता । बुढेसकाल ! हामी आफैँ साठी नाघेका वृद्धहरू.... शरीरमा स्फूर्ति–तागत छैन, चिताएको काम कुरा गर्न सकिदैन । साना नानीहरू र सतासीको उमेरमा लाग्नु भएकी आमालाई कसरी स्याहार्ने होला ? अब घर कसरी चल्ला ? हामी चिन्तित भइरहेका छौँ ।
‘अबेला घर आउने, मनपरि गर्ने, छोराछोरी, सासुससुराको वास्ता नगर्ने, लोग्ने नटेर्ने कस्तो बुहारी पाइएछ ?’ ‘कोसित पोखूँ मनको ताप’को स्थितिमा रहेका हामी चिन्ताको गहिरो समुद्रमा डुबिरहेका हुन्छौँ ।
‘होइन, यो युग छिप्पिइ सकेको छ भोजभतेर, ‘गेट टुगेदर’, बर्थडे, डान्स पार्टि, अनेकौँ भेला, उत्सव ... आजका बुहारीहरू हाम्रा पालाका जस्ता घरभित्र कोच्चिएर बस्न कहाँ मान्छन् र ? हामीलाई हाम्रो बुहारीको बारेमा मात्र थाहा छ । जमाना फेरिएको छ । नयाँ जमानाको हावा, सबै बुहारीहरूको चालामाला उस्तै होला नि, छिमेकका वृद्धहरूका स्थिति पनि हाम्रै जस्तो होला भन्ने मलाई लाग्छ ।’ बोजु मेरो कुरामा ध्यान दिनुभन्दा आफ्नै गुनासो सुनाउन बढी लालायित छिन् ।
‘घरभित्रका कुरा बाहिरकालाई बढी थाहा हुन्छ । बुहारीले गन्ध चलाइ सकी । बदनाम हुनुभन्दा त बरु विदेश जाओस् कि !.. छोराको लाटो रिस, कुटेर केही भयोभने झन् नराम्रो, लाजमर्दो । सोधि हेरौँ, मानी भने त्यसै गरौँ ।’ असह्य मानसिक सन्ताप र पीडामा छट्पटिएका हामी सल्लाह गर्छौ ।
‘तर नाति कसले हेर्छ ?’
‘घरमा बस्दा नै बुहारीले नाति कहाँ हेरेकी छे र ? दिनभर बाहिर बाहिरै, अब त राती पनि घर आउन छाडी । केही बोल्नु भएन ।’
वृद्ध भएपछि छोरा बुहारीसँग पनि डराउनु पर्ने, लच्कनु–हच्कनु पर्ने ! जति बुढो भइन्छ, सामथ्र्य, शक्ति, जाँगर शरीरमा घट्दै जान्छ तर मनमा भने झन् धेरै मायामोह, ममता, लोभ र दायित्व बढ्दै जाँदो रहेछ, झन् बढी सांसारिकताले छोप्दोरहेछ । एक जिउ हुँदा एउटा माया, अब त जति धेरै सन्तानहरू, छोराछोरी, बुहारी, ज्वाइँ, भान्जाभान्जी, नातिनातिनी, नातेदारहरू बढ्दै गएका छन् ती सबैको त्यति धेरै माया लाग्दो रहेछ, तिनीहरूको चिन्ता लाग्दो रहेछ ।
बुहारीको पासपोर्ट बन्छ । बुहारी अलिक सप्रिएजस्ती हुन्छे । घरको काम पहिला जस्तै गरिरहेकी हुन्छे । अब सुध्रिन्छे होला भन्ने आशामा उसलाई विदेश नपठाउने छोरासँग हाम्रो सल्लाह हुन्छ । हाम्रो बुढेसकाल कसरी सुरक्षित रहला ? छोराबुहारीले घर राम्ररी सम्भाली दिए हामी बुढाबुढी आफूले गर्न नभ्याइएका कुराहरू उन्मुक्त भई बाँकी शेष जीवनमा गर्ने थियौँ । तर ‘बा¥ह छोरा ते¥ह नाति ,बुढाको धोक्रो काँधै माथि ।’
मोन्टेसोरी प्लेग्रुपमा नातिलाई पठाउने हतार छोराबुहारीको हुन्छ । हामीले नमान्दानमान्दै पनि नातिलाई स्कुल पठाउन थालिएको हुन्छ । दिनभर स्कुल, स्कुलबाट घर आउनासाथ ‘आमा, आमा’ कराउदै सब कोठा चाहार्छ, आमालाई खोज्छ । बाबु खोज्छ । आमाबाबु दुवैलाई घरमा नपाउदा नियास्रिएर बस्छ । निन्याउरो हुन्छ । बोजु हत्तपत्त गएर प्यारो गर्दै नातिको स्कुल ड्रेस खोलि दिन्छिन् ।
नाति नियास्रो हुँदा नातिभन्दा धेरै हामी नियासंो मान्छौँ । हामीलाई किन यस्तो भएको होला ? हामी भन्न सक्तैनौँ । हाम्रा सपनाहरू जीवनमा अधुरा नै रहे । जे चाहेका थियौँ त्यो पाइएन । जे खोजेका थियौँ, त्यो पनि पाइएन । ती अधुरा सपनाहरू छोराछोरीहरूले पूरा गलानर््, सोचेका थियौँ । छोराछोरीहरूबाट पूरा भएनन्, अब नातिमाथि हामीले हाम्रा अधुरा सपनाको भारी बिसाएका छौँ । हामी हाम्रो क्षणभङ्गुर जीवन र सपनाको निरन्तरता नातिनातिनामा पाउछौँ । सपनाको निरन्तर क्रमिकता !
सानो नानीका लागि आमाभन्दा प्यारो अरु केही हुन सक्तैन । आमा चाहिने बेला पनि त्यही उमेरमा हो । सुनिन्छ विदेशका विकसित देशहरूमा जहाँ आमाबाबु दुवै काममा व्यस्त हुन्छन्, नानीहरूलाई पनि सानैदेखि छुट्टै सुताइन्छ, एक्लै बस्ने र बाँच्ने तौरतरीका सिकाइन्छ । त्यता अठार वर्षको उमेरपछि छोराछोरीहरू आमाबाबुसित छुट्टिएर अलग बस्छन् । तर अझै हाम्रोमा त्यस्तो चलन परिपाटी आइसकेको छैन ।
मैले एउटा सत्य कथा पढेको थिएँ । त्यस सत्य कथामा अमेरिका भन्ने देशमा बसेका छोराबुहारीले वृद्ध आमाबाबुलाई उतै झिकाए । बुढेसकालमा छोराको आछापिछामा बाँच्नुपर्ने बाध्यता भएको हाम्रो देशका तिनीहरू त्यता गए । छोराको जागिर अर्कै सहरमा र बुहारी पनि जागिरे । जेक्सन भन्ने त्यतैको मानिस छोराबुहारीको ‘पेइङ्ग गेस्ट’ भएर बसेका थिए । किनमेल गर्ने, खाना बनाउन बुहारीलाई सघाउने, केटाकेटीलाई स्कुल लाने, लैजाने र अन्य घरको काममा उसले मद्दत गरिरहेको हुन्थ्यो । अरू त आमाबाबुलाई ठीकै लागेको थियो तर बुहारी र जैक्सनको सम्बन्ध तिनीहरूलाई मन परिरहेको थिएन । जेक्सन र बुहारी राती पनि सँगसँगै सुतेको देखेर आमालाई पर्नु पीर प¥यो । सती साबीत्रीजस्तो पतिव्रता बुहारी हेर्न चाहने आमाबाबु ! छोरालाई भन्दा ‘त्यो मामुलि घटना’ भनेर वास्तै गरेन । आमाबाबुले त्यसलाई सामान्य रूपमा लिन सकेनन् । जीवनको अन्तिम कालखण्ड बुढेसकालमा त्यस देशको भिन्न संस्कृति, प्रचलन, परिपाटि र जीवनशैली पचाउन र अपनाउन नसक्ने भएर तिनीहरू दिक्क भएर आफ्नै मुलुक फर्किए ।
आजभोलि पुरानो संस्कृति, प्रचलन र जीवनशैली सुस्तसुस्त विस्थापित हुँदै छ । नयाँ सोच र नयाँ परिपाटीको आगमनसँगै हामी बुढाबुढी पुरानो संंकुचित सोच बोक्ने पुरानो पिँढी बन्न थालेका छौँ । म गम्छु, जस्तोसुकै सभ्यता र युग आए पनि आमा र नानीको सम्बन्ध त साश्वत हो । आमाको माया, ममता र प्रेमले नानीको जीवन सुखकर, सरस, सुमधुर दिव्य र सुन्दर हुन्छ । सम्पूर्ण सांसारिक दुःख, कष्ट, झमेलाबाट रक्षा गर्दै आफ्ना नानीहरूलाई जीवन र भविष्य दिने आमा होइन र ?
नानीको लागि आमा सबैभन्दा ठूलो कुरो हो । आमा आफ्नो नानीको लागि सारा संंसारसित जुध्न सक्छिन्, ज्यानको बाजी थापेर प्राणाहुति दिन सक्छिन्, सम्पूर्ण दुःखहरू आफ्नो थाप्लोमा बोकेर नानीलाई जीवनको सारा सुख दिन्छिन् । यस्ता आमाको त्याग र ममतामा पनि स्वार्थी आधुनिक रहनसहन, तडकभडक र चहकले ग्रहण लगाउन थालेको हो कि ?!
आधुनिक जीवन पद्धत्ति, रहनसहनमा आमा पनि जागिरे छिन् भने आफ्नै नानीहरूको लागि भनेर मुस्किलले प्राप्त हुने आफ्नो फुर्सद त्याग्न चाहन्छिन् र ? आज त नानीहरू फ्याक्टरीबाट उत्पादन गरिने एकै प्रकारका सामानहरूजस्ता भएका छन् । तीन वर्षकै उमेरदेखि प्लेग्रुप, नर्सरी, के.जी.मा भर्ना गरिएका नानीहरू शिक्षिकाको निर्मम नियन्त्रणमा परिहाल्छन् । उनीहरूको पहिलो सिकाइ नै दबिएर बस्नु हुन्छ । शिक्षिकाको रूपमा डर, त्रास, भय र आतङ्कसँग उनीहरूको पहिलो साक्षात्कार हुन्छ । उनीहरू स्वाभाविक वा प्राकृतिक रूपले न हाँस्न सक्छन् र न रुन । डर, त्रास, भय र आतङ्कको छायामुनि उनीहरूको स्वाभाविक विकास कसरी सम्भव हुन्छ ?
सब एक समान एक प्रकारले सेनाजस्तो उर्दी मान्ने बालकहरू, परीक्षामा जसरी पनि उत्तिर्ण हुनुपर्ने बाध्यता र मानसिकता बोकेका तिनीहरूलाई आमाको काखमा बसेर बालहठ गर्ने फुर्सद कहाँ ? आमाबाबुलाई पनि डे केयर सेन्टर, मोन्टेसोरी र स्कुलहरूलाई नानीहरू जिम्मा दिइसकेपछि आफ्ना नानीहरूको मानसिक स्थिति, अवस्था र विकासबारे किन चासो राख्नु प¥यो र ? स्वाभाविक वास्तविक जीवनको स्वाद लिन नपाउने आजको बाल पुस्ता !
मेरो नाति पनि अपवाद बन्न सक्तैन । ‘नातिको स्वाभाविक विकास होस्, आमा र परिवारको भरपुर माया पाओस्’, हामी बाजेबोजु चाहन्छौँ । तर हाम्रो चाहनाले मात्र के हुन्छ र ? बुहारी पनि आधुनिक जीवन पद्धत्तिको अन्धाधुन्ध अनुकरण गर्न थालेकी छे । आजभोलिका मान्छेहरू ! आफ्नो इच्छा, स्वार्थ, स्वअस्तित्व र पहिचान, निजी अहंतुष्टि, निजत्व र निजी स्वतन्त्रतालाई नै सर्वोपरि ठान्छन् । अरुको लागि किन आफ्नो इच्छा, चाहना, आनन्द, तुष्टी, आकाङ्छा र तृप्तिको तिलान्जलि दिने ? छोराकै लागि भनेर आमाले किन आफ्नो सुख र आनन्दका क्षणहरू बर्बाद गर्ने ? बुहारी नै आमाको माया मनग्गे रूपमा दिन तयार भएकी अवस्था छैन । त्यो देखेर हाम्रो मन कुटुकुटु खान्छ । क्षतिपूर्तिस्वरूप आमाको माया नपाएको नातिलाई बाजेबोजुको माया दिन तम्सन्छौँ, दिन्छौँ तर त्यो आमाको माया जस्तो कहाँ हुन्छ र ? हामी फेरि पनि उदास नै हुन्छौँ ।
‘आजभोलिका आमाहरू के भएका होलान् ? साना नानी छोरा छोरीको माया छैन , वास्ता छैन । तरुनीजस्तो भएर दिनरात भौतारिन्छन् ।’
‘नारी पनि पुरुष सरह स्वतन्त्र भएका छन् । आजको यान्त्रिक युग, पाइला पाइलामा पैसा चाहिने । उठ्दा, सुत्दा, हिड्दा यहासम्म कि बोल्दा पनि पैसा खर्च गर्नु पर्छ ।’
‘कसरी ?’
‘उठ्नु बित्तिकै चिया खाजा खानु प¥यो, चिया, चिनी, दूध, खाजाको लागि पैसा चाहियो, हिडनु प¥यो, गाडि चढ्नै प¥यो , गाडि भाडा चाहियो, बस्दा पनि पंखा चाहियो टि.भि., कम्प्युटर हेर्नु प¥यो, बिजुली चाहियो । फोन, मोबाइलमा कुरा ग¥यो पैसा चाहियो, औषधि, खाना, लुगा, आवास, आकाश, हावा, पानी, सबथोक, सबथोकहरूका लागि पैसा खर्च गर्नु प¥यो । पैसा पलपल, पाइलापाइलामा चाहिने भएकैले हरपल मानिस पैसाकै पछि दौडिरहेको छ । उच्च जीवनस्तर सबैको चाहना भएको छ । एक पटक जीवनस्तर माथि उठे पछि तल झर्न कोही राजी हुँदैन । आफ्नो जीवनस्तर यथावत कायम राख्न जे पनि गर्न तयार हुन्छन् । एकजनाको कमाइले मात्र नपुग्ने भएर लोग्नेका साथसाथै स्वास्नीले पनि कमाइ गर्नु पर्ने पारिवारिक बाध्यता भएको छ ।’
‘कमाइ गर्नुपर्छ भनेर आफ्ना नानीहरूलाई नै नहेर्नु ? यस्तो त भएन ।’
‘बाहिर हिडन थालेपछि महिलाहरू पनि थाकेर घर आएका हुन्छन् र नानीहरूलाई कम ध्यान दिन्छन् ।’
‘होइन, जेजस्तो भने पनि बुहारीले हामीलाई नटेरीकी हो । मैले नातिलाई हेरेकी छु भन्दैमा उसले घर, छोराछोरीहरू नहेरी बाहिर बाहिरै मोज गर्दै हिड्न मिल्छ ?’
‘मोज होइन होला । एक पटक मान्छेको जीवनस्तर माथि उठेपछि तल झर्न मान्दैन । स्कुटरमा तेल हाल्नै प¥यो, आफ्नो फुरमासी खर्च धान्नै प¥यो, साथीभाइभन्दा घटि देखिनु भएन, काम खोजीरहेकी होली ।’
हाम्रो दिनरात बुहारीको क्रियाकलापले प्रभावित पारिरहेको छ अनुकूल भन्दा प्रतिकूल नै बढी । बोजुमाथि बुहारीले थामीरहेको कामको बोझ थपिएको छ । उसलाई सघाउनु पर्दा ममाथि पनि केही थप कामहरू थपिएका छन् । जीवनभर गधाले जस्तै पारिवारिक बोझ बोकियो । अहिले बुढेसकालमा जीवनभर अनुभूत गरेको अनुभव, शिक्षा र सिपहरूलाई साहित्य लेखनमार्फत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने मेरो मनसुवामा पनि आघात पुग्न लागेको छ ।
‘आमा कहाँ जानु भयो ?’ ठूली नातिनी सोध्छे ।
‘मलाई के सोध्छेस ? आफै फोन गरेर सोध् न तेरी आमालाई ।’ बोजु जवाफ दिन्छिन् ।
‘अघिदेखि गरिरहेको छु, ‘सम्पर्क हुन सकेन’, भन्छ ।’ ठूली नातिनी बोजुलाई केही मसिना कामधन्दा सघाउन सक्ने भएकी छे । सानी नातिनी पनि काम सघाउन चाहन्छे दिदिले जस्तै, तर ऊ अझै सानी नै छे । बोजुलाई केही वर्षपछिदेखि उनीहरूले पनि काम सघाउने छन् भन्ने ठूलो आशा छ ।
बुहारी तीन दिनदेखि घर आएकी छैन । सोच्यौँ सधैंझैँ माइत गएकी छे । छोरा पनि घरबाहिर गएको थियो । आइपुगेपछि बुहारीको सोधीखोजी गर्न थाल्छ । बुहारीको मोबाइल फोनमा सम्पर्क हुन्छ । हामी पनि उनीहरूको वार्तालाप सुन्छौँ ।
‘कहाँ छौ ?’ छोराको प्रश्न ।
‘एयरपोर्टमा ।’
‘कसरी, किन एयरपोर्टमा ?’
‘म विदेश जान लागेकी । एयरपोर्टभित्र ‘इन’ भइसकेँ ।’
‘मलाई किन भनेनौ ? सोधेनौ ?’
‘तपाईँले मान्नु हुन्नथ्यो ।’
‘एकवचन भन्नु त पथ्र्यो ।’
‘... ...नानीलाई राम्ररी हेर्नुहोला ।’
‘नानीको कुरा नगर । ठीकै छ ,जाने भइहाल्यो । बोक्रे रुवाइ बन्द गर । नरोई राम्ररी जाऊँ ।’
‘... ... ’
‘मलाई तिमीले कमाएको एक पैसा चाहिदैन । मलाई भनेकी भए म नै त्यहाँ बसेर तिमीलाई ‘सी अफ’ गर्ने थिएँ ।’
‘... ... ’
हामी बाजेबोजुलाई पनि आश्चर्यको ४०००वाटको करेन्ट लाग्छ, मुच्र्छित हुन्छौँ कि भन्ने डर लाग्छ । मुलुकभित्र रोजगारीका अवसर शून्य छ । मुलुकभित्रै यस्ता अवसरहरू भए बुहारी पनि किन विदेश जान्थी ? कस्तो अचम्भ ? कस्तो यो आधुनिक युगको विडम्बना ? काखको नानी छोडेर कसैसँग सल्लाह नै नगरी बुहारी विदेश जान सक्छे । आमा हुँदाहुँदै नाति टुहुरो भएको छ, कसरी हुर्कला ?
आज मानिसको आफ्नो मन र मुटु छैन । सम्पन्नताको चटकमटक, चहलपहल, कृत्रिमता र टलकले मानिसको मन र मुटुलाई विस्थापित गरेको छ । सर्वोपरि निजी सुख, व्यक्तिगत स्वतन्त्रता, आकाङ्क्षा, आत्मकेन्द्रित दृष्टि र आधुनिक सम्पन्नताको स्वार्थकेन्द्रित अन्धाधुन्द दौडमा आमाको मन पनि आमाको मन रहन पाएन ! आमाको मुटु आमाको रहेन !
मन भक्कानिएर आउँछ । बुहारी फर्केर आउछे या आउदिन, त्यो अहिले नै भन्न सकिँदैन । आइ नै भने पनि धेरै वर्ष पछि आउली । उसको काखमा बस्ने नातिको उमेर बितिसकेको हुनेछ । आमा र नानीको न्यानो सम्बन्ध समयको निष्ठुरी हुरीले उडाएर बिलाइसकेको हुनेछ ।
आमाबाबु हुँदाहुँदै पनि टुहुरा जस्तै भएर हुर्किने नानीहरूजस्तै मेरो नाति पनि हुने भयो !
मनभित्र आआफ्नो व्यथा कथा लुकाउँदा पनि आँखाबाट आँसु झर्न खोज्छ । जबर्जस्ती मन थाम्दै आँखाको आँसु आँखामै लुकाएर हामी आमाबुबा र छोरा एकआपसमा हेराहेर गर्छौँ ।

मधुपर्क पूर्णाङ्क – ५२७, २०७०, वैशाख
सरण राईको कथा हेर्न -- http://kathaasansaar.blogspot.com/

(याे कथा देश विदेशमा छरिएर रहनुभएका र पुस्तक प्राप्त गर्न असमर्थ कथाका असल पाठकहरूप्रति सदभाव ,प्रेम र शुभ जीवनकाे शुभका...
07/11/2025

(याे कथा देश विदेशमा छरिएर रहनुभएका र पुस्तक प्राप्त गर्न असमर्थ कथाका असल पाठकहरूप्रति सदभाव ,प्रेम र शुभ जीवनकाे शुभकामनासाथ सादर सप्रेम समर्पण --- सरण राई -कथाकार )
🌹🙏☯️

(कथा)
नाति

सरण राई

मानिस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु । आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्ानो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ ।
हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।
वृद्धावस्था !
वृद्धावस्थामा शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहा जस्ता रहेछन् ।
पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नयाँ प्राप्ति केही छैन, सामर्थ्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस, आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ! ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा ! यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिरहन पाउदैनन् । मृत्युले सब जिउँदाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरीन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।
फेरि एक जन्म वा अर्को थप एक जीवन बाँच्न पाए.... म कल्पिन्छु । तर कसैले दुइ जीवन बाँच्न पाएका छन् र ? म पनि डाँडाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।
अजङ्गको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसितत्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आँ..आँ..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आफ्नो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्बित रूप आÏनै नातिको अनुहारमा ।
नाति !
मेरै जीवनको क्रमिकता होइन र ? म पछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति....मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ्र । आँसु आँखामा बिलाएर जान्छ । बुबाको रूपबाट म आफू र म आफूबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई ...। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।
नाति ! केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउँने कुरा उनले आफ्नो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनाहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।
मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा (बाजे,बाजे) !” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अवोध बाल संसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वस्फूर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दोरहेछु, नातिनातिनीहरूको अबोध बाल संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनाहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।
म मेरा नातिनातिनाहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु । तिनीहरूलाई जब मेरा छोराबुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोराबुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हु“ जसको कोपिलाजस्ता नातिनातिनाहरू छन् ।
समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ, तिनीहरू त्यत्रै रहिरहुन् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रीडा सदैव रहिरहोस् । तिनीहरू सधैं मसँग खेलिरहून् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।
हामी बाजे बोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यौँ । सम्पूर्ण सांसारिक दुःख कष्ट बिर्सन्थ्यौँ र तिनीहरूका लागि अनेकौ‘ दुःख कष्ट झेल्न तयार थियौँ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहेँ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लोएक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलिमली र हैकम पनि समाप्त हुँदै गएको छ, मेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्राय घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।
कुनैकुनै बेला साथीहरू आउनेजाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित सम्मान, मान र आतिथ्यता हुन छाडेको छ जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहाँ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हुँदा खातिरदारी, स्वागत सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।
जाने पनि कहाँ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आफूले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझै हरप्रकारले मद्दत गरुँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु कैयौँ दसक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले’ । म उपयोगिताविहीन बूढो, मेरा सल्लाह सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला ।
घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना तैपनि केही तडकभडक गर्नै पर्यो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी, टेलिभिजन च्यानल महशुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू...मलाई पनि थाहा छ, धानी सक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहन बाहेक म के नै गर्न सक्छु र ?
घरखर्च चलाउने देखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहोर्याइ तेहर्याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आइभने दन्त्यकथा, पञ्चतन्त्र, जातक र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई अग्घोर आनन्द आउँछ । कथाको प्रवाह मेरो खोकिले बीचबीचमा रोकिँदा भने नातिनी नियास्रो मान्छे ।
“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुने झैँ गर्छु । प्रतिकार गर्ने सामर्थ्य मसँग अब रहेन ।
“म घरमै बस्छु, कोपालाई छोडेर जान्न“ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आँखा टलपलाउछ, कठै... मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई ।
नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ । मेरो पुरानो पुस्तक कपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बाँचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।
छोरालाई बोलाएर हामी दुइका बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभि’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइ देओ ।”
“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि ‘प्रिन्ट’ गरौला“ ।”छोराको जवाफ हुन्छ । तर ती तस्विरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।
समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन प्रंतिदिन झन्झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, असक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग्र्रप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टिको दिनमा मात्र केही बेर ऊसँग खेल्न पाउँछु । ऊसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।
एकदिन अकस्मात मेरो निम्ति नयाँ पोसाक लिएर छोरा बुहारी मेरो कोठामा आउँछन् । मलाई “नयाँ पोसाक ठीक भयो, भएन” लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, फुरुङ्ग हुन्छु मेरो पनि छोराबुहारीले ध्यान दिन थालेछन् ।
“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरा भन्छ ।
“बुबाको थोरै आउने पेन्सनले मात्र त्यहा शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ“ । सबै बन्दोबस्त मिलाएका छौ“ ।”बुहारी थप्छे ।
“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनु पर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छिन् । घरमा बुबाको सह्यार सम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरियो । भोलिदेखि नैै बुबाले त्यहाँ बस्नु पर्छ, हामी तपाईँलाई बिहानै पुर्याइ दिनेछौ“ ।” छोराको आदेश ।
कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोड्नै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।
अहा, यो घर, यो कोठा ! हामी(पत्नी र म)ले कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचि अनुसार यो घर निर्माण गरेका थियौँ । यही घरमा हामीले छोराछोरी हुर्कायौँ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डि कस्न सक्तिनँ । छोराबुहारीको आदेश शिरोपर गर्नु बाहेक मसँग अर्को उपाय छैन ।
यो मेरो घर, मेरो कोठा, मेरो पलङ ! भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दसक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझैँ कोठाका भित्ता, पलङको छेउ कुना सबसब सुम्सुमाउछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आँखाले सबैलाई हेरेझैँ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आँखाबाट आँसुको भेल बग्छ तर यो आँसुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाँइ खान्छु, अर्धविक्षिप्तझैँ ती सबलाई हेरेर भावविव्हल हुन्छु । म रातभर निदाउन सक्तिनँ, सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।
रातभर म मेरो र पत्नीको युगल तस्विर हेरेर गुनगुन कुरा गरिरहन्छु, c तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो....।” यस्तै के के म शोभना जीवित भएझैँ उसको तस्विरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्डाइएको हाम्रो युगल तस्विर झिक्छु र भोलि आफूसँगै लैजाने निधो गर्छु र तस्विरकी शोभनालाई भन्छु, “जहाँ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्विरको कुनै इज्जत हुनेछैन ।”
मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ । बाबुले बुढो बाजेलाई डोकोमा बोकेर लगि भीरको टुप्पोबाट डोकोसँगै बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाहीँ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाईँलाई फाल्न काम लाग्छ’ भनेको थियो र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बाँचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ“ ।”
बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्गस्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडिमा राखिसकेपछि छोराबुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की– फर्की घर हेर्छु तर मेरो धित मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनु पर्दा मन भक्कानिएर आउँछ ।
मृत्युमा सबसँग छुट्टिनु पर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नु पर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सबसब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झैँ सब मसँग छुट्टिदै छ ।
“बिदा, मलाई र मेरो परिवारलाई आस्रय दिने घर बिदा ! मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।
“छोरा, मलाई नातिसँग बसेर खिचेको हाम्रो तस्विर देऊ ।”
“किन चाहियो तपाईँलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउँ हुँदैन । तपाईँलाई भेटन नातिनातिनीहरू आइरहने छन् नि ।”
अब मेरो तस्विर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्विरको खॉचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउँछ ?”
गरिमा २०६८,असोज ,(पहिलाे पल्ट प्रकाशित)
अन्तिम आयाम (कथासङ्ग्रमा सङ्गृहित)
🔴
https://kathaasansar.blogspot.com/2011/10/blog-post_16.html

🌹🙏☯️🌹

सरणको साहित्य-कथामा भएका कथाहरुका कथाकार सरण राई हुनहुन्छ | उहाको पुर्व अनुमति बिना कुनै कथा वा कथाको अंशहरु अन्य....

https://youtu.be/gOjCUDu4kVM
06/11/2025

https://youtu.be/gOjCUDu4kVM

The Onion FlowerSaran RaiThe Onion Flower is not really the name of a flower. It’s called that because its root resembles that of an onion, and its petals ar...

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Saran Rai (सरण राई ) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saran Rai (सरण राई ):

Share