19/04/2025
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण मार्फत नेपाल सरकारले काभ्रेपलाञ्चोक जिल्लाका १० वटा पालिकाका २ हजार ८ सय ९५ घर परिवारका लागि पहिलो किस्ता बापत २५ हजार रकम उपलब्ध गराउने गरी रकम निकासा गरेको छ । दोश्रो किस्ता बापत थप २५ हजार उपलब्ध हुनेछ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण बैशाख ४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेलाई ७ करोड २३ लाख ७५ हजार रुपैया निकासा गरेको हो । पहिलो चरणमा महाभारतमा १७, बेथान्चोकमा २ सय ३९ र नमोबुद्धमा ८ सय २४ घर परिवारका लागि २ करोड ७० लाख रुपैया निकासा माग गरिएको थियो । चैत्र २१ गते दोश्रो चरणमा जिल्लाका ७ वटा पालिकाको रकम निकासा माग गरिएको थियो । पनौती ६ सय ३४, पाँचखाल ८८, धुलिखेल ८६, मण्डनदेउपुर १ सय ३३, खानीखोला ४६, चौरीदेउराली २ सय ८०, रोशी ५ सय ४८ घर परिवार गरी ४ करोड ५३ लाख ७५ हजार रुपैया निकासा माग गरिएको थियो । अस्थायी आवासका लागि बनेपा, तेमाल र भुम्लु बाहेकका १० वटा पालिकाका नागरिकहरुका लागि पहिलो किस्ता बापतको रकम निकासा माग गरेको डेढ महिनासम्म रकम प्राप्त हुन सकेको छैन । तीनवटा पालिकाका स्थानीय विपद ब्यवस्थापन समितिले गर्नु पर्ने निर्णय नगरी सिधै विवरण मात्रै भरेकाले अस्थायी आवासको पहिलो किस्ता बापतको रकम निकासा माग नगरिएको हो
‘असोज १०–१२ गते परेको अविरल वर्षा, वाढी र पहिरोका कारण क्षति भएका घरपरिवारको अस्थायी आवास निर्माणका लागि स्थानीय तहका लाभग्राहीलाई पहिलो किस्ता भूक्तानीका लागि जिल्ला विपद् ब्यवस्थापन कोषमा रकम निकासा गरिएको छ’–पत्रमा भनिएको छ–‘निजी आवास पूर्ण रुपमा क्षति भएको आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने निर्णय अनुसार पहिलो र दोश्रो किस्तामा २५÷२५ हजारले ५० हजार उपलब्ध गराउन निकासा गरिएको छ
असोज १०–१२ को अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा अरबौको क्षति भयो । ८१ जनाले ज्यान गुमाए । हजारौ परिवार विस्थापित बन्न पुग्यो । सयौ घाईते भए । अलपत्र परे । विपत्ति पछि तत्काल गुजाराका लागि १३ वटा पालिकाका ६ हजार ३ सय १५ परिवारले १५ हजार र २० हजारका दरले १० करोड ३९ लाख ३६ हजार ५ सय रुपैया नगद प्राप्त गरेका छन् । यो रकम सरकारले युनिसेफ, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थाको सहयोगमा उपलब्ध गराएको हो । यो पनि विपत्तिको ५ महिना पछि उपलब्ध गराईएको हो
जसमध्ये सबैभन्दा धेरै रोशी गाउँपालिकामा १२ सय ३२ घर परिवारले १ करोड ९९ लाख ५ हजार रुपैया प्राप्त गरेका छन् भने तेमालमा १ हजार २१ घर परिवारले १ करोड ९० लाख २५ हजार रुपैया नगद प्राप्त गरेका छन् । बनेपा नगरपालिकामा ४६ घर धुरी, पनौतीमा ९ सय ६३, धुलिखेलमा ८५, नमोबुद्धमा ९ सय २४, मण्डनदेउपुरमा ९ सय ८, पाँचखालमा ६९, बेथान्चोकमा ४ सय ७६, भुम्लुमा ३ सय ३८ घर परिवारले नगद सहयोग प्राप्त गरेका छन् । चौरीदेउरालीमा १ सय ८०, महाभारतमा २७, खानिखोलामा ४६ घर परिवारले नगद बुझेका छन्