29/08/2026
अहिले सुत्छु, दिउँसो फोन गरौँला’ भनेका सुमन कहिल्यै फर्किएनन्, बिहानै बाढीले बगायो
😢 दिउँसो श्रीमतीलाई फोन गर्ने वाचा गरेका सुमनको शव नवलपरासीमा भेटियो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, भोर्लेका २६ वर्षीय सुमन गोलेको शव नवलपरासीमा फेला परेको छ। रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीमा परी बेपत्ता भएका गोलेको शव शुक्रबार नवलपरासीमा फेला परेको हो।
सुमन राम्रो तलबको आशामा दुई महिनाअघि मात्रै रसुवाको हाइड्रोपावरमा स्काभेटर चालकका रूपमा काम गर्न गएका थिए। यसअघि उनी हेटौँडा–१५ मै रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरको रूपमा कार्यरत थिए।
बाढी आएको दिन बिहान करिब ६ बजे उनले श्रीमती रेविकासँग फोनमा कुरा गरेका थिए। रातभर नाइट ड्युटी गरेकाले निद्रा लागेको भन्दै उनले श्रीमतीलाई, ‘अहिले सुत्छु, दिउँसो फोन गरौँला’ भन्दै फोन राखेका थिए।
तर त्यो फोन नै परिवारसँगको उनको अन्तिम कुराकानी बन्न पुग्यो। त्यसपछि सुमन परिवारको सम्पर्कमा आउन सकेनन्। बिहानै आएको बाढीले उनलाई बगाएको खबर परिवारले पायो। 😥