03/10/2026
सुनसरी–४ मा मतदान रद्द गरी पुनः मतदान गराउन कांग्रेस उम्मेदवारहरूको माग
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा भएको मतदानमा अनियमितता भएको आरोप लगाउँदै उम्मेदवार तथा क्षेत्रीय कार्यसमितिले मतदान रद्द गरी पुनः मतदान गराउन माग गरेका छन्। मतदान केन्द्र तथा बुथ कब्जा गरी एकलौटी रूपमा मतदान गरिएको आरोप लगाउँदै क्षेत्रीय कार्यसमितिमा उम्मेदवारी दिएका उम्मेदवारहरूले पुनः मतदानको मागसहित प्रमुख निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका हुन्।
नेपाली कांग्रेस १५औँ महाधिवेशन, सुनसरीका प्रमुख निर्वाचन अधिकृत भरतबहादुर थापालाई सम्बोधन गरिएको निवेदन क्षेत्रीय कार्यसमितिका सभापति ऐयुव अन्सारी नेतृत्वको टोलीले आज जिल्ला पार्टी कार्यालय, इनरुवा पुगेर बुझाएको हो।निवेदनमा मतदानका क्रममा मतदान केन्द्र तथा बुथ कब्जा गरी एकलौटी मतदान गरिएको आरोप लगाउँदै उक्त मतदानलाई मान्यता नदिई स्थगित मतदान रद्द गरी पुनः मतदान गराउन माग गरिएको छ।
निवेदन बुझाउने क्रममा नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
क्षेत्रीय कार्यसमितिका उम्मेदवारहरूले मतदान प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउँदै पुनः मतदानबाट सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्नुपर्ने माग गरेका छन्। अब प्रमुख निर्वाचन अधिकृत तथा सम्बन्धित निर्वाचन समितिले प्राप्त निवेदनमाथि आवश्यक छानबिन गरी निर्णय गर्ने अपेक्षा गरिएको छ।