12/10/2026
**पोखरा–२८ विद्यालय बस दुर्घटना अपडेट
पोखरा महानगरपालिका वडा नं. २८ ओख्ले भिरमा शुक्रबार बिहान भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्तिम बिदाइ गरिएको छ।
मेयर धनराज आचार्यका अनुसार दुर्घटनामा निधन भएका कालिका बोर्डिङ स्कुलका विद्यार्थीहरू **शुभेच्छा तिवारी, असिम कँडेल र ममता तिवारीलाई** हिजो साँझ रामघाटमा संयुक्त श्रद्धाञ्जली अर्पण गर्दै भारी मनका साथ अन्तिम बिदाइ गरिएको छ।
यस्तै विद्यार्थी **रोमिका नेपाली** र स्थानीय अभिभावक **बाबुराम तिवारी**को अन्तिम बिदाइ आज र भोलि गरिने जानकारी पारिवारिक स्रोतबाट प्राप्त भएको मेयर आचार्यले बताउनुभएको छ। यस दुर्घटनामा ४ विद्यार्थी र १ सर्वसाधारण गरी ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।
# # # घाइतेको अवस्था
दुर्घटनामा घाइते भएका अन्य विद्यार्थी तथा चालकको पोखरामै उपचार भइरहेको छ। मेयर आचार्यका अनुसार उहाँहरुको स्वास्थ्यमा राम्रो सुधार भएको छ र क्रमिक रुपमा डिस्चार्जको क्रममा हुनुहुन्छ।
तर गम्भीर घाइते विद्यार्थी **अस्मि कँडेलको अवस्था जटिल** भएकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्यमा पनि क्रमिक सुधार भइरहेको छ।
# # # बी एन्ड बी अस्पतालसँग समन्वय
यसै सन्दर्भमा मेयर आचार्यले हिजो साँझ बी एन्ड बी अस्पतालका संस्थापक तथा वरिष्ठ सर्जन **प्रा. डा. जगदीशलाल वैद्य**सँग घाइते नानीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा अस्पतालबाट उपलब्ध गराउन सकिने सहयोगका विषयमा कुराकानी गर्नुभएको थियो।
> "उहाँले मेरो अनुरोध र आग्रहलाई अत्यन्तै सकारात्मक रुपमा लिँदै उपचारमा आवश्यक सबै प्रकारको साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले आफ्नै नेतृत्वमा चिकित्सकहरूको टोलीसहित नानीको स्वास्थ्य अवस्थाबारे हिजो साँझ नै जानकारी लिनुभएको छ र नानीलाई स्वयं हेर्नुभएको छ," मेयर आचार्यले भन्नुभयो।
डा. वैद्य स्वयं पोखरावासी समेत हुनुभएकाले घाइते नानीको उपचारमा अभिभावकीय भूमिका निर्वाह गर्दै देखाउनुभएको आत्मीयता र जिम्मेवारीले थप भरोसा र आशा दिलाएको भन्दै मेयर आचार्यले कृतज्ञता व्यक्त गर्नुभएको छ।
मेयर आचार्यले यस दुःखद घडीमा घाइतेहरूको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै घाइते नानी अस्मि कँडेलसहित सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै दुर्घटनाबाट प्रभावित सबै परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ।