26/09/2026
३२ दिनसम्म बुबा फर्किने आशामा बसेका १७ वर्षीय आदित्यराजले दिए कुशको प्रतीकात्मक शवलाई मुखाग्नि
मटिहानी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ३२ दिनदेखि बेपत्ता रहेका मटिहानी नगरपालिका–७ का गंगाराम मण्डलका १७ वर्षीय छोरा आदित्यराजले अन्ततः बुबाको कुशको प्रतीकात्मक शवमा मुखाग्नि दिएका छन्।
बुबा सकुशल फर्किनुहुन्छ भन्ने आशामा ३२ दिनसम्म बाटो हेरेका आदित्यराजले बुबाको वास्तविक शवसमेत देख्न नपाई धार्मिक परम्पराअनुसार प्रतीकात्मक शवलाई अन्तिम संस्कार गरेका हुन्।
बुबाको अनुहार अन्तिमपटक हेर्न नपाएको पीडा बोकेर छोराले दिएको यो अन्तिम बिदाइले परिवारजन तथा स्थानीयलाई भावुक बनाएको छ। बुबा फर्किने आशा बोकेर बसेको एउटा छोराले अन्ततः कुशको प्रतीकात्मक शवलाई मुखाग्नि दिनुपर्ने अवस्था आफैंमा अत्यन्त पीडादायी बनेको छ।
गंगाराम मण्डल भोटेकोशी बाढीपछि बेपत्ता भएका थिए। लामो समयसम्म खोजी तथा उद्धार प्रयास जारी रहे पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले परम्पराअनुसार प्रतीकात्मक अन्तिम संस्कार गरेको हो।