19/07/2026
लालबन्दीमा साहित्यको भव्य उत्सव: दिनेश अधिकारी, रमेश क्षितिज र कृष्ण समर्पण सम्मानित, 'मेरो पाठशाला' विमोचित
लालबन्दी, सर्लाही
लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा लालबन्दीमा साहित्य, सिर्जना र स्रष्टा सम्मानको भव्य उत्सव सम्पन्न भएको छ। समारोहमा नेपाली साहित्यका विशिष्ट स्रष्टाहरूलाई विभिन्न पुरस्कारद्वारा सम्मान गरिएको छ भने नयाँ कृतिको समेत विमोचन गरिएको छ।
परिषद्का सचिव सुमन घिमिरे 'अग्रिम'का अनुसार नेपाली भाषा–साहित्यमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पुर्याएबापत प्रतिष्ठित कवि तथा गीतकार दिनेश अधिकारी लाई रु. ५० हजार राशिको 'साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२' प्रदान गरिएको हो।
त्यसैगरी कवि तथा आख्यानकार रमेश क्षितिजलाई उहाँको चर्चित कृति 'एउटा मायी नगरमा' का लागि रु. ५० हजार राशिको 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२' (राष्ट्रिय) प्रदान गरिएको छ। लेखक तथा पत्रकार कृष्ण समर्पणलाई भाषा–साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप रु. २५ हजार राशिको 'लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२' बाट सम्मान गरिएको छ।
समारोहको अर्को आकर्षणका रूपमा कथाकार देवराज पौडेलद्वारा लिखित तथा मीना शर्मा न्यौपानेद्वारा प्रकाशित लघुकथा सङ्ग्रह 'मेरो पाठशाला' को सामूहिक विमोचन गरिएको थियो। उपस्थित अतिथिहरूले उक्त कृतिले नेपाली लघुकथा साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरेका थिए।
परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी प्रमुख अतिथि तथा जनज्योति बहुमुखी क्याम्पस, लालबन्दीका अध्यक्ष दिपक अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको प्रारम्भमा परिषद् सदस्य मीनबहादुर पूर्वछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विवश पौडेलले गर्नुभएको थियो।
स्थानीय स्रष्टा, साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहले लालबन्दीको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।