26/09/2025
भ्रष्ट कर्मचारीतन्त्र रहेसम्म जस्तोसुकै व्यवस्था आएपनि देश उभो लाग्दैन भन्ने उदाहरण भर्खरै देखिएको छ। भ्रष्टाचारको विरुद्धमा सयौं जेनजी युवाहरूले ज्यान गुमाए, हजारौं घाइते अवस्थामा छन्, पुराना दलको सत्ता नै गुम्यो, देश निर्वाचनतर्फ जान लागेको छ, तर पनि भ्रष्टाचारका घटना रोकिएका छैनन्। कारण भनेको—घुसिया कर्मचारी।
यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ। आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट उनलाई पक्राउ गरेको हो।
सूचनाअनुसार कार्कीले सडक स्तरोन्नतिको बिल भुक्तानीका लागि ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएको बताइएको छ। जेनजी आन्दोलनपछि सरकारी कर्मचारी सुध्रिने अपेक्षा गरिए पनि कार्कीको यो घटनाले त्यसमा चुनौती आएको छ।
अख्तियारले कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ र आवश्यक कानुनी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ। यस घटनाले सार्वजनिक अपेक्षा र विश्वासमा थप प्रश्न खडा गरेको छ कि के जेनजी आन्दोलनपछि पनि भ्रष्टाचार रोक्न सकिनेछ वा सरकारी कर्मचारीतन्त्रमा सुधार अझै ढिलाइ हुनेछ।