14/07/2026
"राहदानी कम्पनीलाई होइन, आफैंसँग राख्नुहोस्", मलेसियास्थित नेपाली दूतावासको अत्यावश्यक अपिल,
काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले रोजगारीका लागि मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई राहदानी (पासपोर्ट) सधैं आफ्नै साथमा राख्न विशेष आग्रह गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा मलेसियाको कानुनअनुसार आफ्नो राहदानी आफैंसँग राख्नु श्रमिकको अधिकार भएको उल्लेख गर्दै सबै नेपालीलाई सचेत रहन आग्रह गरेको छ।
दूतावासले मलेसियाका रोजगारदाताहरूलाई पनि स्पष्ट सन्देश दिँदै कामदारको स्पष्ट सहमति र कानुनले अनुमति दिएको विशेष अवस्था बाहेक नेपाली श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न आग्रह गरेको छ।
यदि कुनै नेपालीको राहदानी उसको सहमतिविना रोजगारदाता वा अन्य कुनै व्यक्तिले नियन्त्रणमा राखेको छ भने तत्काल नेपाली दूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ। दूतावासका अनुसार राहदानी व्यक्तिगत सरकारी परिचयपत्र भएकाले त्यसको सुरक्षा र संरक्षण सम्बन्धित व्यक्तिकै जिम्मेवारी हो।
दूतावासले नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्याउने रोजगारदाता तथा मलेसियामा रहेका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै स्थानीय कानुनको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।
स्रोत :- हिमाली पत्रीका