31/07/2026
धार्मिक सद्भाव कायम राख्न गौरीगञ्जमा सर्वपक्षीय बैठक
गौरीगञ्ज, झापा। देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएको धार्मिक तनाव तथा सुनसरीमा भएको घटनापछि धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले झापाको गौरीगञ्जमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा गौरीगञ्ज गाउँपालिकाको सभा हलमा सम्पन्न बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्का, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पूजन न्यौपाने कुँवर, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सुनसरीमा भएको घटना दुःखद भएको उल्लेख गर्दै झापामा यस्ता घटना दोहोरिन नदिन समयमै आवश्यक पूर्वसावधानी अपनाउन सद्भाव बैठक आयोजना गरिएको बताए। उनले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्दै धार्मिक सङ्घसंस्थाबीच निरन्तर संवाद, सहकार्य र आपसी विश्वासलाई थप मजबुत बनाइने जानकारी दिए।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले गौरीगञ्ज धार्मिक तथा सांस्कृतिक विविधता र समुदायबीचको आपसी सद्भावलाई अझ सुदृढ बनाउन गाउँपालिका सदैव प्रतिबद्ध रहने बताइन्। उनले कुनै पनि प्रकारका अफवाह वा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दै सामाजिक एकता कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरिन्।
उपाध्यक्ष पूजन न्यौपाने कुँवरले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता स्थानीय विकासको महत्वपूर्ण आधार भएको बताउँदै कुनै पनि समुदायबीच अविश्वास सिर्जना हुने गतिविधिलाई निरुत्साहित गर्न सबैले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताए। उनले सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्रीप्रति सचेत रहनसमेत आग्रह गरे।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सामाजिक अगुवाहरूले धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्ति कायम राख्न सबै समुदायबीच निरन्तर संवाद, सहकार्य र संयम आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले कुनै पनि उक्साहट, अफवाह वा भ्रामक सूचनाबाट प्रभावित नहुन सर्वसाधारणलाई आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकले जिल्लामा धार्मिक सद्भाव, सामाजिक एकता र पारस्परिक विश्वास कायम राख्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्षसमेत निकालेको छ।