30/07/2026
अफवाह नफैलाउँ, नपत्याउँ !
नेपालीको सुनसरीको कप्तानगन्जमा उत्पन्न घटना र त्यसपछि सिरहा, धनुषालगायत विभिन्न स्थानमा देखिएको तनाव गहिरिने चिन्ता सुरु भएको छ । स्थानीय तहमै सल्टिनुपर्ने समस्याले धार्मिक तथा सामुदायिक तनावको रूप लिन सक्ने जोखिम बढिरहेका बेला प्रत्येक नागरिक, सञ्चारमाध्यम, राजनीतिक दल, सामाजिक अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवार बन्न पुग्छ ।
यस परिस्थितिमा अपुष्ट सूचना, पुराना तथा असान्दर्भिक भिडियो, सम्पादन गरिएका तस्वीर, उत्तेजक अभिव्यक्ति र सम्पूर्ण समुदायलाई दोषी देखाउने सामग्रीले थप हिंसा निम्त्याउन सक्छ। एउटा गलत सूचना वा भ्रामक पोस्टले केही मिनेटमै हजारौं मानिससम्म पुगेर भय, आक्रोश र प्रतिशोधको भावना उत्पन्न गर्न सक्ने भएकाले कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि यसको स्रोत र सत्य जाँच गर्न सबैमा आग्रह छ ।