Mahendra Aidi - महेन्द्र ऐडी

Mahendra Aidi - महेन्द्र ऐडी कसैको साथ नहुँदा एकजनाको साथ हुँदा जिन्दगी भर भुल्न सकिदैन Mahendra Aidi muskan

27/04/2025

मातातीर्थ औंसी अनि स्मृतिमा मेरी आमा❤️‍🩹❤️‍🩹
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, आमाहरूले आफ्ना सन्तानका निम्ति गरेको त्याग, समर्पण अनि दश धारा अमृतको सम्मान गर्दै सन्तानहरूले आफ्ना आमाहरूलाई सम्झने, भेट्ने र खुसी साट्ने दिन।
त्यसैले त दिनहुँ जसो तिमीलाई सम्झने यो मनले आज तिमीलाई झन् धेरै सम्झिरहेको छ, तिम्रो सम्झनामा द्रवीभूत भएकी छु। तिम्रै हातका औंला समाई हिँड्दै गर्दा म कहिले तिमी जस्तै ठूलो भएर तिम्रो सहारा बन्नु जस्तो लाग्थ्यो तर जब म सक्षम भएँ तिमी मेरा लागि केबल मीठा स्मृतिमा मात्र सीमित भयौ। तिम्रो हातलाई समाएका औंलालाई अहिले मेरो नानीले स्पर्श गरिरहँदा अझै पनि मेरो औंलाले तिम्रा औंलाको साथ खोजेको भाव महशुस गर्छ।
आमा, मलाई सम्झना छ ती बाल्यकालका मातातीर्थ औंशीका यादहरू जुनबेला आमाको मुख हेर्ने दिन भन्दै सबेरै उठेर तिम्रो छेउ गई तिम्रो अनुहार पल्टाइ पल्टाइ हेर्थ्यौं। त्यो बाल हृदयमा त्यो बाहेक आजको दिनको महत्व पनि त थाहा थिएन।
महत्व थियो त केबल मिठाइका परिकार अनि स्कुलको बिदा तर समय कति बलवान हुँदो रहेछ,आज पात्रोमा तिथि उही छ, केबल तिमी मेरो स्मृतिमा अनि केबल तिमी भित्ताका फोटाहरूमा कैद।
आज तिमी साथमा नभए पनि परापूर्व कालदेखि मनाइँदै आइरहेको यस पर्वलाई समय सापेक्ष बनाउँदै सम्पूर्ण माता, पिता एवम् वृद्धवृद्धाप्रति समर्पणको भाव व्यक्त्त गर्नु र स्नेह दर्शाउनु हामी जस्ता सन्तानहरूको दायित्व हो भन्ने कुरालाई बोध गरेको छु।
मातृजाति अर्थात् महिलाहरूको सम्मान गर्ने दिनको रूपमा नेपालमा हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्षको अमावास्या तिथिमा मातातीर्थ औंसी मनाउँदै आइएको छ।
भगवान् विष्णुले पनि आजकै दिन आमा नभएका मानवहरूलाई कुण्डमा लागि आमाको स्वरूपको दर्शन गराएको किम्बदन्ती रहेको छ। आमालाई ईश्वरको स्वरूप मानिन्छ त्यसैले त हाम्रो वैदिक परम्परामा मातृदेवो भव: भनेर भनिएको छ।
आफ्ना सन्तानको सुरक्षाको लागि ढाल बनेर रहने, आफ्ना इच्छा सन्तानको खुसीका निम्ति त्याग दिने ,आफ्ना हरेक दु:ख लुकाएर सन्तानका निम्ति हाँस्ने आमाहरूको सम्मानका लागि छुट्टाइएको यो अत्यन्तै महत्व बोकेको अनि व्यवहारिकता बोकेको सनातन पर्व हो।
अझ आजको यो व्यस्त जीवनमा यस पर्वको सान्दर्भिकता प्रष्ट देख्न सकिन्छ। परिस्थिति र बाध्यताले चाहेर पनि आफ्ना आमाहरूसँग रहन नसकेका कयौं छोराछोरीहरू यही पर्वको निहुँ पारी आफूले यथाशक्ति खाद्यान, मिष्ठान तथा लत्ताकपडा बोकेर आफ्ना आमा भेट्न आउँछन्।
यदि भेट्न सम्भव नभए फोनबाटै कुरा गरेर भए पनि आफ्नो मातृस्नेहलाई दर्शाउँछन्। यसरी यो पर्वले एक सुमधुर पारिवारिक सम्बन्ध कायम राख्दै छोराछोरीहरूलाई आफ्ना आमाबुवा र अग्रजप्रतिको दायित्व बोध गराएको छ जसले गर्दा आमाहरू पनि आफ्नो सन्तानको सात्विक भाव देखेर प्रशन्न हुन्छन्।
दुर्भाग्यवास आमा गुमाएकाहरूले पनि आज ब्राह्मण तथा वृद्धञवृद्धाहरूलाई मिष्ठान भोजन, दान दक्षिणा गर्ने , श्राद्ध गर्ने तथा जल अर्पण गर्ने प्रचलन रहिआएको छ। यसरी आजको दिनमा गरिएको दान आमाको हातमा पर्ने विश्वास गरिन्छ।
यसै क्रममा काठमाडौंबाट करिब १० किलोमिटर दूरीमा रहेको चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थ कुण्डमा पनि आफ्ना आमा गुमाएका व्यक्तिहरूको विशेष भीड लाग्ने गर्छ। तर यसपटक भने लकडाउनले गर्दा मातातीर्थ औंसी नमनाइने भएको छ।
यस कुण्डमा श्राद्ध गर्दा आफ्नी आमा भेट्न सकिने र दिएको खाना आफ्नी स्वर्गीय आमाको मुखमा पर्ने किम्बदन्ती रहेको पाइन्छ। पूर्वीय दर्शनकै कुरा गर्दा पनि आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठूलो मानिन्छ, त्यसैले त भनाइ छ “जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी “।
नेपालमा सामान्य बोलीचालीको भाषामा आमाको मुख हेर्ने दिन भनेर चिनिने यो पर्व विश्वमा “मदरस डे“ को नामले परिचित छ। आमाको महिमाको वर्णन गर्न विश्वका चर्चित वैज्ञानिक, विद्वान, दार्शनिक, राजनीतिज्ञ पनि चुकेका छैनन्। अब्राहम लिङ्कनले भनेका थिए, “म जे छु र जे हुने चेष्टा गर्छु, त्यो सबै मेरी आमाको देन हो।’ अमेरिकन लेखिका जोडी पिकल्ट भन्छिन् “ रूँनका लागि सबभन्दा उत्तम स्थान भनेकै आमाको अँगालो हो।’
यसरी आमाको माया भनेको संसारले स्वीकारेको नि:स्वार्थ माया हो। त्यसैले विश्वभरमा करिब ५० वटा देशहरूमा यही पर्व “मदरस डे“ को रूपमा भव्यताका साथ मनाउने गरिन्छ।
यस दिनमा विभिन्न खानेकुरा, कार्ड तथा उपहारहरू लिएर आफ्ना आमालाई भेट्न जाने प्रचलन छ।
पुरातन युनानीहरूको समयमा नै उनीहरू देवताको आमा रियालाई सम्मान गरी उत्सव मनाउँथे भने आधुनिक “मदरस डे“ को सुरूआत सन् १८७० मा जुलिया वार्ड होवेले आफ्ना रचना “ मदर डे प्रोवलामेशन “ मार्फत् सुरू गरेकी थिइन्।
त्यसपश्चात अन्ना जार्भिसले मातृत्वको सम्मान गर्दै यो चाडलाई अझ परिस्कृत गरेकी थिइन्। साथै उनकी आमाको मृत्यु पश्चात सन् १९०८ बाट यसलाई औपचारिक रूपमा सार्वजनिक बिदा दिएरै मनाउन थालिएको थियो। हाल मे १० लाई मेक्सिको, भारत, पाकिस्तान लगायतका देशहरूमा मदरस डे मनाउने प्रचलन छ भने मे महिनाको दोस्रो आइतबारलाई डेनमार्क, अस्ट्रेलिया, इटाली, स्विजरल्याण्ड जस्ता देशहरूले मदरस डे को रूपमा मनाउने गर्दछन्।
थाइल्याण्डमा भने आफ्नी महारानी सिरिकितको जन्मदिन अगष्ट १२ तारिखलाई मदरस डे को रूपमा मनाउने गरिन्छ।
पूर्वीय शास्त्रले पनि भन्छ, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। व्यस्तताको बाबजुत वर्षमा एकदिन मात्र भए पनि आफ्नी आमाको गुणगान गाउन पाउनु ,रमाइलो भेटघाट गर्न पाउनु र उनीहरूलाई आफू सदैव साथमा रहेको कुरा विश्वास दिलाउन सक्नु यस पर्वको अत्यन्त सकारामक पाटो हो। यस्तो पर्वको प्रतिष्ठा कायम राख्दै यसलाई जीवन्त राख्न सक्नु आजको समयको आवश्यकता हो।
प्रविधिको विकासँगै फैलिएका सामाजिक संजालका भित्ताहरूमा खोजी खोजी राखिएको एउटा तस्बिर र शुभकामना सन्देशले मात्र यस्ता पर्वको महत्त्व प्रस्तुत हुन सक्दैन।
वर्षभर आमाको वास्ता नगर्ने र आज एक दिन मात्र हालखबर बुझ्दा अनि भेट्दा मात्र पनि यस्तो पर्वको खिल्ली उडाउनु शिवाय केही हुँदैन। कार्यव्यस्तता एकातिर छ भने आमाबुवाप्रतिको हामी सन्तानको जिम्मेवारी तथा दायित्व अर्कातिर।
यी दुवैलाई सन्तुलित गर्दै लान सक्नेले जीवनलाई सार्थक बनाउँछ। यस्ता चाडलाई समय र परिस्थितिसँग बदल्दै अनि यससँग जोडिएका समाजका विसंगति हटाउँदै समय सान्दर्भिक बनाउनु आजको आवश्यकता हुन्छ।
एक आमालाई सम्मान गरिरहँदा अन्य उत्पीडनमा परेका आमाहरूको उद्दार गर्ने वातावरणको सृजना गर्न सक्नुपर्छ। अझ पनि उही आमाहरूका सन्तान भए पनि छोरा र छोरीको नाममा हुने भेदभाव हटाइ समान व्यवहारले हेर्ने आँखाहरूको विकास गर्नुपर्छ।
बोक्सी भन्दै महिलामाथि गरिने कुटपिट अनि शोषणको अन्त्य गर्दै त्यस्ता अन्धविश्वासलाई जारीबाट निर्मूल पार्न सक्नुपर्छ। गर्भमा रहँदा अनेकौं कारण दिई गरिने भ्रूण हत्या जस्ता आपराधिक क्रियाकलापहरूको अन्त्य गर्न जरूरी छ। समाजमा हुने बलात्कार जस्ता अपराधको जरैबाट निर्मूल गरी एक सभ्य, सुसंस्कृत, नैतिकतापूर्ण समाजको निर्माण गर्नुपर्छ।
मरेपछि श्राद्ध गर्दा दानमा दिइने मिष्ठान भोजन अनि लत्ताकपडाको भन्दा जिउँदो हुँदा मिठो बोलिवचनले दिइने दुई गाँस खानाको महत्व बढी हुन्छ भन्ने जागरण हरेक सन्तानहरूमा ल्याउनु जरूरी छ।
समग्रमा भन्नुपर्दा विभिन्न निँहुमा हुने महिला माथिको अन्याय, अत्याचारको निर्मूल गरी नारीलाई माता, चरित्र निर्माणकी आदर्श, सन्तानकी पथ प्रदर्शकका रूपमा हेर्ने वातावरणको सृजना गर्नु आजको आवश्यकता हो।
अन्त्यमा ,
तिमी मेरो साथमा नभए पनि सत्कर्म गरी तिमी जस्ता हजारौं आमाहरूको सदैव आशीर्वाद पाउन सकूँ । आशीर्वाद देऊ आमा, अर्को जन्ममा पनि तिम्रै छोरी भएर जन्मन सकूँ, अनि अनेकौं मातातीर्थ औंसी तिम्रै साथमा मनाउन सकूँ ।
जय माता ! जय मातृभूमी !
महेन्द्र ऐडी मुस्कान

21/02/2025

Address

Kalikot

Alerts

Be the first to know and let us send you an email when Mahendra Aidi - महेन्द्र ऐडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahendra Aidi - महेन्द्र ऐडी:

Share