28/07/2026
दुई तस्वीर, दुई देशको प्रहरीको व्यवहार र ठूलो प्रश्न!
एउटा तस्वीर नेपालकाे छ, जहाँ प्रहरी आफ्नै देशका नागरिकमाथि गोली चलाइरहेको देखिन्छ। अर्को तस्वीर भारतको हो, जहाँ ‘जेनेरेशन जेड’ आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण हुँदा पनि भारतीय प्रहरीले आफ्नै देशका युवामाथि गोली चलाउनुको सट्टा संयम अपनाएको देखिन्छ।
भारतीय प्रहरी नेपाल प्रहरीभन्दा धेरै कठोर मानिन्छ, तर आफ्नै देशका नागरिकमाथि गोली चलाउनुभन्दा आफूले चोट सहनु उचित ठानेको देखिन्छ। तर नेपालमा भने सामान्य विवाद वा आन्दोलन हुनासाथ प्रहरीको गोली चल्ने अवस्था किन आउँछ?
‘जेनेरेशन जेड’ आन्दोलनमा कति युवाले प्रहरीको गोलीबाट ज्यान गुमाए? आजसम्म त्यसको निष्पक्ष जवाफ जनताले पाएका छन् त?
अझै आज सुनसरीमा दुई समुदायबीच झडप हुँदा प्रहरीले एकतर्फी रूपमा कारबाही गरेको आरोप छ। घटनामा १०–२० जनामाथि गोली चलाइएको र दुई जनाको ज्यान गएको खबर आएको छ। यदि यी कुरा सत्य हुन् भने, यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनी कारबाही हुनुपर्छ।
प्रहरी जनताको सुरक्षा गर्न हो, आफ्नै जनतामाथि अन्धाधुन्ध गोली चलाउन होइन। दोषी जोसुकै होस्, कानुनअनुसार कारबाही गरियोस्। तर छानबिनबिनै एकतर्फी कारबाही र गोली चलाउने प्रवृत्तिले देशमा शान्ति होइन, झन् डर र अविश्वास पैदा गर्छ।
सरकार कहाँ छ? गृह मन्त्रालय के गर्दैछ?
के सरकार र सुरक्षा निकायले जनताको आवाज सुन्न छोडिसकेका हुन्?
अब समय आएको छ—सरकारले जवाफ दिनुपर्छ, घटनाहरूको निष्पक्ष छानबिन गर्नुपर्छ र नागरिकको ज्यानको सुरक्षा सुनिश्चित गर्नु पर्छ।