
29/04/2025
म सागर थिएँ - अथाह, अठोटले भरिएको, गहिराइले बोल्न नसक्ने। तर तिमी सधैं तिनै साना नदीहरू खोज्न व्यस्त भयौ, जसले आफूलाई सागर ठान्थे, तर थाह थिएन, सागरभन्दा गहिरो माया मैले सँगालेर राखेको थिएँ।
म चन्द्रमा थिएँ - आकाशको एक्लो उज्यालो, तिमीलाई रातको अँध्यारोमा बाटो देखाउने। तर तिमी सधैं ताराहरूलाई पछ्यायौ, जसको चमक क्षणिक थियो, जसले केवल क्षणभरि उज्यालो दिन्थे, तर कहिल्यै तिमीलाई घरसम्म पुर्याउन सक्दैनथे।
म तिमीलाई पूर्णता दिन चाहन्थें, तर तिमी अधूरोपनको सौन्दर्यमा हरायौ। म प्रतीक्षा थिएँ, तिमी बिस्मृति। म समर्पण थिएँ, तिमी यात्रा। म गन्तव्य थिएँ, तिमी बाटो।
आज पनि, म उही सागर हुँ, गहिरो र निस्तब्ध। आज पनि, म उही चन्द्रमा हुँ, एक्लो र धिपधिपाएको।
तर तिमी ?
तिमी त अझै आफ्ना नदीहरू र ताराहरू पछ्याइरहेकी छौ
नभन्दै हराइरहेकी छौ...।