30/08/2026
“शवलाई यसरी गाड्नु हुँदैन!” विनय जंग बस्नेतको कडा आपत्ति
रसुवाको भोटेकोशी बाढीमा परी चितवनसम्म बगाएर ल्याइएका पहिचान नखुलेका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णयप्रति विनय जंग बस्नेतले आपत्ति जनाएका छन्।
शनिबार चितवन पुगेका बस्नेतले पहिचान नखुलेका शवलाई सामूहिक रूपमा गाड्नुको सट्टा देवघाट वा सम्बन्धित घाटमा परम्पराअनुसार दाहसंस्कार गर्न आफू र आफ्नो टोली तयार रहेको बताएका छन्।
उनले सबै शवको डीएनए नमुना, फोटो तथा आवश्यक विवरण सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा आफन्तले आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्ने भएकाले शव व्यवस्थापन संवेदनशील रूपमा गर्नुपर्ने उनको भनाइ छ।
बस्नेतका अनुसार उनी विगत १७ वर्षदेखि बेवारिसे तथा पहिचान नखुलेका शवको सद्गत गर्दै आएका छन्।
उनको आग्रह स्पष्ट छ— “मृत्यु भएपछि हरेक व्यक्तिले सम्मानपूर्वक अन्तिम संस्कार पाउनुपर्छ।”