20/05/2026
कस्तो होला केकीको शुक्रबार रिलिज हुने लागेको 'काजी'? के भन्छिन् केकी?
नेपाली फिल्म क्षेत्रमा फरक र सशक्त भूमिकामार्फत आफ्नो पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम, त्याग र सम्बन्धको गहिराइ बोकेको यस फिल्मप्रति उनी निकै उत्साहित देखिएकी छन्।
ग्रामीण परिवेशमा आधारित ‘काजी’ काजी र कजिनीको भावनात्मक प्रेमकथामा निर्माण गरिएको फिल्म हो। हालै काठमाडौंमा आयोजित कार्यक्रममा केकीले ‘काजी’लाई केवल प्रेमकथा नभई विश्वास, समर्पण र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिन्।
उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको भए पनि ‘काजी’को संसारमा भने माया र विश्वासले नै सम्बन्धलाई जोगाइराखेको छ।
“हामीलाई वास्तविक जीवनमा कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’को संसारमा त्यो सोचभन्दा बिल्कुल फरक भावनात्मक गहिराइ छ,” उनले भनिन्।
केकीका अनुसार फिल्मकी पात्र ‘कजिनी’ले आफूले पाएको प्रेमलाई असाधारण रूपमा अनुभव गर्छिन्।
“काजीले कजिनीलाई जति प्रेम गर्छ, त्यो प्रेम सात जुनीसम्म पनि फर्काउन सकिँदैन भन्ने अनुभूति उसलाई हुन्छ,” उनले बताइन्।
फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा उनले रामायणको प्रसंग पनि जोडिन्।
“राम र सीताको कथामा सीताले रामका लागि धेरै त्याग गरेकी थिइन्। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’को संसारमा कजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्छिन्,” केकीले भनिन्।
उनका अनुसार फिल्ममा देखाइएको प्रेम, त्याग र समर्पणले “प्रेमले नै संसार थामेको छ” भन्ने भाव दर्शाउँछ।
कजिनी पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्।
“कजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौँ जन्ममा काजीलाई पाउनु हो भन्ने भाव फिल्ममा छ,” उनले भनिन्।
केकीका अनुसार कजिनीका लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्।
“कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो। संसारका अरू सबै कुरा साना लाग्छन्,” उनले भनिन्।