08/09/2025
मेरो प्रिय देश,
आज फेरि तिम्रो सडक र गल्ली रगतले रन्जिएको छ। आफ्ना सपना बोकेर भविष्यको बाटो खोजिरहेका नयाँ पुस्ताका युवा छातीमा गोली खाएर ढलेका छन्। उनीहरू पढाइ, रोजगारी, सम्मान, र एउटा उज्यालो भोलिको खोजीमा थिए, तर आज चिहानमा सुत्न बाध्य भए।
मेरो देश, कत्तिदिन तिमी यसरी आँसुमा डुबिरहन्छौ?
कत्तिदिन माताको काख रित्तो पार्छौ?
कत्तिदिन तिमी आफ्ना छोराछोरीलाई गोलीले विदा गर्छौ?
आजसम्म हाम्रो देश धेरै पछाडि छ।
यहाँ रोजगारी छैन, अवसर छैन, सपना बाँच्ने वातावरण छैन।
हजारौं युवा आफ्ना घर, आमा-बुबा र सपनालाई छोडेर खाडी र विदेशी भूमिमा पसिना बगाइरहेका छन्।
त्यो पसिनाले कमाएको रेमिटेन्स बाटै तिमीहरूको तलब, भत्ता, गाडी, दरबार चलिरहेको छ, नेता हो।
तर गरिब जनता भने सधैं रुनुपर्ने, मर्नुपर्ने।
सत्तामा बसेकाहरू सधैं परिवर्तनका मीठा वाचा गर्छन्, तर सडकमा सदैव रगत पोखिन्छ। नयाँ पुस्ताको सपनासँगै तिम्रो भविष्य पनि टुक्रिन्छ।
मेरो देश, तिमीलाई माया गर्ने हरेक युवाले अब प्रश्न सोध्न थालिसकेको छ—
“कहिलेसम्म हाम्रो बलिदान खेर जानेछ?”
“कहिलेसम्म हामीले परिवर्तनको नाममा चिहान मात्र पाउनेछौं?”
मेरो देश, अब समय आएको छ
रगतले होइन, विचारले
घृणाले होइन, ममताले
भयले होइन, आशाले
तिमीलाई अघि बढाउने।
म तिमीलाई अझै माया गर्छु,
तर माया पीडामा बदलिँदै जाँदा मन रोइरहेको छ।
मेरो देश, कृपया भन्नू—
कत्तिदिन? कत्तिदिन यसरी
B***n Sharma