31/08/2026
महाविपत्तिमा शव व्यवस्थापनबारे तथ्य बुझौँ, संवेदना जोगाऔँ
महाविपत्तिमा ठूलो संख्यामा मानवीय क्षति हुँदा उद्धारसँगै मृतकको सम्मानजनक, सुरक्षित र वैज्ञानिक व्यवस्थापन पनि अत्यन्त चुनौतीपूर्ण हुन्छ।
नेपालमा मृत शव लामो समय सुरक्षित राख्न पर्याप्त क्षमताका फ्रिज/शीत भण्डारण पूर्वाधार उपलब्ध छैनन्। उपलब्ध फ्रिजमा समेत नकुहिएको शव मात्र केही समय राख्न सकिन्छ; कुहिन थालेको शव फ्रिजमा राखेर सुरक्षित राख्न सम्भव हुँदैन। बाढीले गलाएको शरीर र तराईको गर्मीमा शव केही घण्टामै विघटन हुन थाल्छ। ठूलो संख्यामा शव एकै ठाउँमा जम्मा हुँदा दुर्गन्धसँगै वातावरणीय तथा सार्वजनिक स्वास्थ्यमा अर्को जोखिम उत्पन्न हुन सक्छ।
उपलब्ध स्रोत-साधनको विकल्पमा केही घण्टामै ठूलो क्षमताको ‘चिसो घर’ निर्माण गर्नु नेपाल मात्र होइन, विश्वका विकसित मुलुकहरूका लागि समेत व्यवहारिक रूपमा कठिन कार्य हो। त्यसैले उपलब्ध क्षमताभन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्थामा अमेरिका, अस्ट्रेलिया, चीन, बेलायतलगायतका विकसित मुलुकमा समेत जमिनमुनि सुरक्षित रूपमा राख्ने अस्थायी व्यवस्थापन विधि अपनाइन्छ।
यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने शव जमिनमुनि राख्नु अन्तिम संस्कार होइन। अन्तिम विकल्प भने अवश्य हो ।
यो पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा नभएसम्म शवलाई सुरक्षित राख्ने अस्थायी व्यवस्थापन हो। पछि आफन्त पहिचान भएमा आवश्यक प्रक्रिया पूरा गरी शव निकालेर परिवारलाई बुझाउन सकिन्छ (DNA पहिचानबाट)।
त्यसैले यस्तो संवेदनशील विषयलाई अपुष्ट सूचना, भावनात्मक उत्तेजना वा अनर्गल प्रचारको माध्यम नबनाऔँ। पीडित परिवारलाई भ्रम र उत्तेजना होइन, सत्य सूचना, संयम, सहानुभूति र साथ चाहिएको हुन्छ।
आम नागरिक तथा सञ्चार जगतलाई शव व्यवस्थापनसम्बन्धी अपुष्ट वा भ्रामक सामग्री प्रचार नगरी उद्धार, राहत, हराइरहेका व्यक्तिको खोजी, पहिचान तथा आफन्तसम्म सूचना पुर्याउन सहयोग पुग्ने सामग्री मात्र प्रवाह गर्न हार्दिक अनुरोध गर्दछौँ।
पीडाको घडीमा उत्तेजना होइन संयम बाँडौँ।
भ्रम होइन सत्य सूचना प्रवाह गरौँ।
मृतकप्रति सम्मान र पीडित परिवारप्रति मानवीय संवेदना कायम राखौँ।
धन्यवाद ।
जय नेपाल ।