Laxman Oli

Laxman Oli स्वान्त सुखाय ...

10/09/2026

मैले सधैँ भन्ने गरेको छु
डिग्रीधारी होइन, निष्ठाधारी चाहिन्छ।
किनकि योग्यता ज्ञानले देखाउँछ, तर निष्ठा चरित्रले प्रमाणित गर्छ।

09/09/2026

भोटेकोसीको भेलमा हराएको आवाज

एकदिन बाघ साँच्चिकै आयो
गोठालो फेरि करायो
उसको स्वरमा अभिनय थिएन
आँखा आतंकित थिए
घाँटीमा मृत्युको हतार थियो
तर गाउँलेहरूले
पहिलाका दिन सम्झिए
र यसपटक गोठ चुप रह्यो

कहिलेकाहीँ
राज्य पनि गोठालोजस्तै देखिन्छ
र नागरिक गाउँलेजस्तै

राज्य भन्छ “जोखिम छ”
हामी सोध्छौँ “फेरि उही सूचना हो कि?”
राज्य भन्छ "यहाँ नबस्नू”
हामी भन्छौँ “केही हुँदैन”
राज्य भन्छ “नो पार्किङ”
हामीलाई लाग्छ “दुई मिनेटले के बिगार्छ र?”
राज्य भन्छ “आकाशे पुल प्रयोग गर”
हामीलाई लाग्छ “यति पनि के नियम?”

हाम्रो अटेरीपन मात्र दोषी छैन
राज्यका कतिपय पुराना
अविश्वसनीय व्यवहारले पनि
नागरिकको विश्वासमा
सानातिना चिरा पारेका हुन सक्छन्

जब भोटेकोसी उर्लिन्छ
त्यसले विगतका
सबै बहसहरू बगाएर लैजान्छ

राज्य सही थियो कि नागरिक
कसको गल्ती ठूलो थियो
यी प्रश्नहरूलाई एकछिनका लागि
अर्थहीन बनाइदिन्छ
त्यो बेला सबैभन्दा ठूलो प्रश्न एउटै हुन्छ
“मान्छे बाँच्यो कि बाँचेन?”

कसैले बाढीको आवाज सुनेर
घर छोड्यो होला
कसैले अझै केही समय बाँकी छ
भनेर ढोका बन्द गर्‍यो होला
कसैले मोबाइल उठायो होला
कसैले सामान समेट्यो होला
कसैले परिवार बोलायो होला

कसैले त्यही भेललाई
क्यामेराभित्र कैद गरिरहेको होला
हामीलाई दोष दिनु सजिलो छ
तर मान्छे डरको बीचमा
सधैँ विवेकको पूर्ण आकारमा उभिन सक्दैन

त्यसैले यो कथा उपहासको होइन
हाम्रो सामूहिक कमजोरीको कथा हो
र त्यही कमजोरीको बीचमा
एउटा प्रहरी कराइरहेको थियो
“हट्नुहोस् !
खतरा छ !
माथी जानुहोस् !”

सायद उसले आफ्नो परिवार सम्झिरहेको थियो
उसका बालबालिका
घरमा उसको प्रतीक्षामा थिए
तर कर्तव्यले उसलाई
भेलको किनारमा उभ्याइरहेको थियो

हामीलाई बचाउन ऊ अगाडि बढ्यो
हामीले उसको स्वर सुनेनौँ
अथवा सुनेर पनि विश्वास गर्न सकेनौँ
जब भोटेकोसीले आफ्नो बाटो बनायो हामीमध्ये
केही मात्र बाँच्यौँ तर ऊ बाँचेन

त्यसपछि मात्र
उसको आवाजको अर्थ हामीले बुझ्यौँ
कति विडम्बना !
मान्छेले कहिलेकाहीँ
जीवनको मूल्य
जीवन गइसकेपछि मात्र बुझ्दोरहेछ
उसले हामीलाई बचायो
तर हामीले उसलाई बचाउन सकेनौँ

काग कराउँदा ढुंगा नहानौँ
उसले सधैँ अपशकुन ल्याएको हुँदैन
कहिलेकाहीँ उसको कर्कश आवाजभित्र
जीवनको खबर हुन्छ

राज्य कराउँदा पनि
हरेकपटक आँखा चिम्लिनु हुँदैन
राज्यलाई प्रश्न गरौँ
तर चेतावनीलाई होइन
नियममाथि बहस गरौँ
तर जीवनसँग सम्झौता नगरौँ
प्रश्न गरौँ
असहमति राखौँ
उत्तर मागौँ
तर बाढीको किनारमा उभिएर
बाढीसँग तर्क नगरौँ

किनकि भोटेकोसीले
कसैलाई जिताएको छैन
उसले त केवल
एउटा कठोर सत्य छोडेर गएको छ
विश्वास ढिलो गरी फर्किन्छ
तर विपत्ति पर्खेर आउँदैन

आज हामीले सुन्नुपर्ने आवाज
बाढीको गर्जन होइन
त्यो प्रहरीको अन्तिम चेतावनी हो
“भाग्नुहोस् !”

त्यो आवाजमा
राज्यको आदेशभन्दा ठूलो
एउटा मान्छेको जीवनप्रतिको आग्रह थियो
हामीले त्यो आग्रह बुझ्न ढिला गर्‍यौँ

अब पश्चात्तापलाई
सिर्फ आँसु नबनाऔँ
उसको मृत्यु एउटा समाचार बनेर
नसकिने बनाऔँ

भोलि फेरि कुनै गोठालो करायो भने
पहिले उसलाई दोष नदिऔँ
पहिले आकाश हेरौँ
धरातल हेरौं
नदी हेरौँ
परिस्थिति हेरौँ
र जीवनलाई हेरौँ

बाघ आयो भने
गोठालो मात्र दोषी हुँदैन
कहिलेकाहीँ विश्वास गुमाएको गाउँ पनि
आफ्नो मौनताको मूल्य चुकाउँछ

भोटेकोसी बगेर गयो
तर उसले एउटा प्रश्न
किनारमा छोडेर गयो
“अर्कोपटक राज्य कराउँदा हामी सुन्छौँ ?”

02/09/2026

नेपाल प्रहरीको राहत तथा मानवीय उत्तरदायित्व

नेपाल प्रहरीले प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा रु. ४० करोड सहयोग गर्ने निर्णय गरेको छ। साथै, बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारलाई जनही रु. १० लाख तथा व्यक्तिगत भौतिक सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कनका आधारमा जनही अधिकतम रु. ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ।

कर्तव्य निर्वाहका क्रममा प्रहरी कर्मचारीले आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको सुरक्षा गर्छन्। विपद्को कठिन घडीमा समेत परिवार र व्यक्तिगत पीडाभन्दा कर्तव्यलाई प्राथमिकता दिने उनीहरूको त्याग अतुलनीय छ। त्यसैले, कर्तव्यकै क्रममा जीवन गुमाएका प्रहरीका परिवारको पीडा केवल आर्थिक क्षतिले पूरा हुन सक्दैन।

यस्तो अवस्थामा संस्थाले आफ्ना सदस्य र तिनका परिवारको दुःखमा साथ, सहारा र अभिभावकत्वको अनुभूति गराउनु महत्वपूर्ण हुन्छ। राहत रकम आर्थिक सहयोग मात्र नभई “तपाईंको पीडामा संस्था तपाईंको साथमा छ” भन्ने भावनात्मक सन्देश पनि हो।

प्रहरीको मनोबल र परिवारको भरोसा कायम राख्न यस्ता मानवीय तथा संस्थागत पहलले महत्वपूर्ण भूमिका खेल्छन्।

02/09/2026

आगोले मात्र होइन, कसै-कसैलाई इगोले पनि खरानी बनाउँछ।

31/08/2026

महाविपत्तिमा शव व्यवस्थापनबारे तथ्य बुझौँ, संवेदना जोगाऔँ

महाविपत्तिमा ठूलो संख्यामा मानवीय क्षति हुँदा उद्धारसँगै मृतकको सम्मानजनक, सुरक्षित र वैज्ञानिक व्यवस्थापन पनि अत्यन्त चुनौतीपूर्ण हुन्छ।

नेपालमा मृत शव लामो समय सुरक्षित राख्न पर्याप्त क्षमताका फ्रिज/शीत भण्डारण पूर्वाधार उपलब्ध छैनन्। उपलब्ध फ्रिजमा समेत नकुहिएको शव मात्र केही समय राख्न सकिन्छ; कुहिन थालेको शव फ्रिजमा राखेर सुरक्षित राख्न सम्भव हुँदैन। बाढीले गलाएको शरीर र तराईको गर्मीमा शव केही घण्टामै विघटन हुन थाल्छ। ठूलो संख्यामा शव एकै ठाउँमा जम्मा हुँदा दुर्गन्धसँगै वातावरणीय तथा सार्वजनिक स्वास्थ्यमा अर्को जोखिम उत्पन्न हुन सक्छ।

उपलब्ध स्रोत-साधनको विकल्पमा केही घण्टामै ठूलो क्षमताको ‘चिसो घर’ निर्माण गर्नु नेपाल मात्र होइन, विश्वका विकसित मुलुकहरूका लागि समेत व्यवहारिक रूपमा कठिन कार्य हो। त्यसैले उपलब्ध क्षमताभन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्थामा अमेरिका, अस्ट्रेलिया, चीन, बेलायतलगायतका विकसित मुलुकमा समेत जमिनमुनि सुरक्षित रूपमा राख्ने अस्थायी व्यवस्थापन विधि अपनाइन्छ।

यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने शव जमिनमुनि राख्नु अन्तिम संस्कार होइन। अन्तिम विकल्प भने अवश्य हो ।
यो पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा नभएसम्म शवलाई सुरक्षित राख्ने अस्थायी व्यवस्थापन हो। पछि आफन्त पहिचान भएमा आवश्यक प्रक्रिया पूरा गरी शव निकालेर परिवारलाई बुझाउन सकिन्छ (DNA पहिचानबाट)।

त्यसैले यस्तो संवेदनशील विषयलाई अपुष्ट सूचना, भावनात्मक उत्तेजना वा अनर्गल प्रचारको माध्यम नबनाऔँ। पीडित परिवारलाई भ्रम र उत्तेजना होइन, सत्य सूचना, संयम, सहानुभूति र साथ चाहिएको हुन्छ।

आम नागरिक तथा सञ्चार जगतलाई शव व्यवस्थापनसम्बन्धी अपुष्ट वा भ्रामक सामग्री प्रचार नगरी उद्धार, राहत, हराइरहेका व्यक्तिको खोजी, पहिचान तथा आफन्तसम्म सूचना पुर्‍याउन सहयोग पुग्ने सामग्री मात्र प्रवाह गर्न हार्दिक अनुरोध गर्दछौँ।

पीडाको घडीमा उत्तेजना होइन संयम बाँडौँ।
भ्रम होइन सत्य सूचना प्रवाह गरौँ।
मृतकप्रति सम्मान र पीडित परिवारप्रति मानवीय संवेदना कायम राखौँ।

धन्यवाद ।
जय नेपाल ।

29/08/2026

🧠 मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) मा 3L बारे !

कुनै घटना, विपद् वा गम्भीर संकटका बेला मानिसलाई शारीरिक उपचारसँगै मानसिक तथा भावनात्मक सहयोग पनि आवश्यक पर्छ। यही तत्काल मानवीय सहयोगलाई PFA (Psychological First Aid) भनिन्छ।

PFA विशेषज्ञले दिने काउन्सिलिङ होइन; संकटमा परेको व्यक्तिलाई जोकसैले दिन सक्ने मानवीय साथ र सहयोग हो।

PFA का ३ आधार:- Look, Listen, Link

🔹 Look (हेर्नुहोस्):- व्यक्ति सुरक्षित छ कि छैन र तत्काल शारीरिक वा आपत्कालीन सहयोग आवश्यक छ कि छैन हेर्नुहोस्।

🔹 Listen (सुन्नुहोस्):- धैर्यतापूर्वक, बिना पूर्वाग्रह सुन्नुहोस्। बोल्न नचाहे जबर्जस्ती नगर्नुहोस् र भावनाको सम्मान गर्नुहोस्।

🔹 Link (जोड्नुहोस्):- आवश्यक सूचना, खाना, आश्रय, उपचार तथा परिवार/साथी वा आवश्यक सेवासँग जोड्न सहयोग गर्नुहोस्।

गर्ने:- शान्त, दयालु र सम्मानजनक व्यवहार गर्ने, गोपनीयता कायम राख्ने।
नगर्ने:- झुटा आश्वासन नदिने, सहमतिविना फोटो वा व्यक्तिगत कथा सामाजिक सञ्जालमा साझा नगर्ने।

❤️ मानसिक स्वास्थ्यमा ध्यान दिऔँ, संकटमा एक-अर्काको सहारा बनौँ।

PFA को मूल भावना:
“पहिले सुरक्षा, त्यसपछि साथ, अनि सहयोग।”

28/08/2026

सार्वजनिक अपिल

राहत कोषमा गरिएको सहयोगको सकारात्मक प्रचार गरौँ

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा स्वेच्छिक रूपमा सहयोग गर्नुहुने व्यक्ति, संघ-संस्था तथा निकायहरूलाई आफ्नो सहयोग रकम जम्मा गरेको स्क्रिनसट वा बैंक स्टेटमेन्ट सार्वजनिक गरी व्यापक प्रचार-प्रसार गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सामान्य दान तथा विपद्का लागि गरिने राहत सहयोगको प्रकृति र उद्देश्य फरक हुन्छ। “एक हातले दिएको अर्को हातले थाहा नपाओस्” भन्ने गोप्य दानको मान्यता आफ्नो ठाउँमा सम्मानित छ। तर विपद्को यस घडीमा गरिएको सहयोगको सकारात्मक प्रचारले अरूलाई पनि योगदान गर्न प्रेरित गर्ने, सामूहिक सहभागिताको वातावरण निर्माण गर्ने र राहत कोषमा थप स्रोत जुटाउन उत्प्रेरक भूमिका खेल्ने भएकाले यसको सामाजिक महत्व अझ फरक रहन्छ।

सहयोगको प्रचार देखावटी वा प्रतिस्पर्धाका लागि होइन, अरूलाई सहयोग गर्न प्रेरित गर्ने सामाजिक अभियानका रूपमा गरौँ। एक जनाको योगदान सार्वजनिक हुँदा अर्को व्यक्तिलाई पनि सहयोग गर्ने प्रेरणा मिल्न सक्छ; सकारात्मक होडबाजीले थप पीडितसम्म राहत पुग्न सक्छ।

त्यसैले सहयोग गर्नुभएका महानुभावहरूलाई आफ्नो योगदानको प्रमाणसहितको जानकारी सार्वजनिक गर्न तथा सम्पूर्ण सञ्चार जगतलाई यस्ता सकारात्मक कार्यलाई प्राथमिकताका साथ प्रचार-प्रसार गरी सहयोगी वातावरण निर्माण गरिदिनुहुन अनुरोध गर्दछौँ।

यसपटक पुण्य कर्मको अर्को रूप-आफूले दिएको सहयोग देखाएर अरूलाई पनि सहयोग गर्न प्रेरित गर्नु हो।

पीडितका लागि सहयोग गरौँ, सहयोगका लागि अरूलाई पनि प्रेरित गरौँ।

28/08/2026

रक्षा त्यो होइन, जुन कलाईमा बाँधिन्छ
रक्षा त्यो हो, जो अर्काको पीरमा पसिना बगाउँछ
यो जनै पूर्णिमा बाढीपीडितको पीडामा साथ
राष्ट्रको निम्ति एकता, र मानवताको निम्ति प्रतिबद्धताको
आज हरेक हातमा रक्षा छैन, तर हरेक मनमा संवेदना छ
त्यही हो हाम्रो सच्चा रक्षाबन्धन। 🌊🙏❣️🕉️💓

27/08/2026

कुकुरले मालिक पुरिएको भुइँ कोतर्यो
मान्छेले लाशको कान 😥

Address

Kathmandu
ZIP

Alerts

Be the first to know and let us send you an email when Laxman Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share