06/09/2026
गुजरातको भावनगरमा आफ्नै लिभ–इन पार्टनरको हत्या गरेको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले अपराधस्थल पुनर्निर्माणका क्रममा सार्वजनिक रूपमा डोरीले बाँधेर कुटेको घटना बाहिरिएको छ।
फैजल लखानी नाम गरेका ती आरोपीलाई शनिबार डोरीले बाँधेर लछारिएको र प्रहरी कर्मचारीले लाठीले कुटेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
प्रहरीका अनुसार लखानीमाथि आफ्नी लिभ–इन पार्टनर काजल बरैयामाथि कुटपिट गरेको आरोप छ। गम्भीर घाइते भएकी काजलको उपचारका क्रममा मृत्यु भएको थियो।
नीलमबाग प्रहरी चौकीका प्रहरी निरीक्षक डीपी उनाडकटले आरोपीमाथि गरिएको कुटपिटको बचाउ गर्दै घटनालाई ‘अत्यन्त गम्भीर’ प्रकृतिको बताएका छन्।
उनका अनुसार घटनाका कारण प्रहरीको छवि र जनविश्वासमा समेत असर परेको थियो। अपराधीलाई कडा सन्देश दिन यस्तो कदम आवश्यक परेको उनको दाबी छ।
प्रहरी अधिकारीले कानुन–व्यवस्था कमजोर भएको र महिलामाथि हिंसा गर्ने अपराधीविरुद्ध कडा सन्देश दिनुपर्ने अवस्था आएको बताएका छन्।
प्रहरीका अनुसार काजल र लखानी करिब सात वर्षदेखि फुटपाथमा सँगै बस्दै आएका थिए। जेलबाट छुटेपछि लखानीले काजल आफ्नै परिचित रविसँग सम्बन्धमा रहेको थाहा पाएपछि बिहीबार विवाद भएको थियो।
त्यस क्रममा लखानीले काजल र रविमाथि कुटपिट गरेको आरोप छ। गम्भीर घाइते काजललाई भावनगरस्थित सरकारी सर टी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले शुक्रबार लखानीलाई हत्या आरोपमा पक्राउ गरेको थियो।
लखानीविरुद्ध यसअघि पनि डकैतीलगायत विभिन्न गम्भीर प्रकृतिका मुद्दा रहेको प्रहरीले जनाएको छ।
यसैबीच, आरोपीलाई सार्वजनिक रूपमा कुटपिट गरिएको घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ। गुजरात उच्च अदालतमा सार्वजनिक स्थानमै आरोपीलाई कुटपिट गरिएको सम्बन्धी स्वःसंज्ञान जनहित याचिकामा समेत यस्ता गतिविधि नियन्त्रण गर्न राज्यको गृह विभागले परिपत्र जारी गरेको उल्लेख गरिएको छ।
मे ७ मा जारी गरिएको उक्त परिपत्रमा आरोपीलाई सार्वजनिक रूपमा उठबस गराउने, घुँडाले घिसार्ने, लात्ती हान्ने वा लाठीले कुट्ने जस्ता कार्यमा संलग्न प्रहरी अधिकारीमाथि कडा विभागीय कारबाही हुने उल्लेख छ।
परिपत्रअनुसार यस्तो व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीसँगै सम्बन्धित क्षेत्रका वरिष्ठ अधिकारीलाई समेत जिम्मेवार बनाइने व्यवस्था गरिएको छ।