31/08/2026
बाढीपीडित १२९ घरधुरीलाई राहत सामग्री वितरण
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढीका कारण सयौँ परिवार घरबारविहीन हुनुका साथै खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन् ।
बाढीपीडितलाई केही राहत पु¥याउने उद्देश्यले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार तथा श्रम संस्कृति पार्टी धादिङका जिल्ला सचिव प्रलाद सिलवालको पहल र निर्पेश मिजारको समन्वयमा राहत सामग्री वितरण गरिएको छ ।
Days For Girls Nepal र Eternal Hope Nepal को सहयोग तथा गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको रोहबरमा आइतबार गजुरी गाउँपालिका–५ अन्तर्गत गलौंदी बजार, बाँगे बजार र पोखरे खोलाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
महिलाका लागि धुन मिल्ने प्याड, डिस्पोजेबल प्याड, साबुन, सानो रुमाल, टुथपेस्ट, टुथब्रस, काइँयो, प्यान्टी, कपडाको मास्क र क्यारी पाउचलगायत अत्यावश्यक सामग्री समेटिएको एक–एक प्याकेट वितरण गरिएको थियो । यस्तै, बाढी प्रभावित सबै परिवारलाई ओढ्ने कम्बलसमेत वितरण गरिएको छ । अति आवश्यक परिवारलाई ८१ थान त्रिपाल वितरण गरिएको छ ।
राहत सामग्रीबाट गलौंदी बजारका ८१, बाङ्गे बजारका ३७ र पोखरे खोलाका ११ गरी कुल १२९ घरधुरी लाभान्वित भएका छन् ।
बाढीपछि आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोगिरहेका पीडित परिवारलाई राहत सामग्रीले तत्कालका लागि केही सहयोग पुगेको छ ।