28/05/2026
मजदुर देखि च्याम्पीयनसम्म — बझाङ्गको दुर्गम गाउमा जन्मिएका रविन्द्रको कुनै सपना थिएनन्, गरिबको के सपना हुनु । यसैले धुलो, माटो र हिलोमा हुर्किएका उनि एसएलसी पछि आफ्नो बुवा र दाइ जस्तै १५ वर्षकै उमेरमा भारत हानिए । भारतमा उनले के सम्म गरेनन् ? ढुंगा बोके, गिट्टी फोडे र एक वर्षसम्म १९० किल्लोसम्मको विजुलीको पोल बोके । त्यो संघर्षको कारण उनको ढाडका हड्डी बाहिर निस्किएका थिए । उनको खुट्टालाई दह्रो फलाम सरह बनाएको थियो ।
जम्मा १७ वर्षकै उमेरमा यति दुख गरेको देखेर बाले उनलाई दिल्ली पठाए, अफिस ब्वाई हुन् । त्यहाँ चिया पकाउने र पोछा लगाउने काम गरे । एक दिन भर्यांगमा पोछा लगाउदै गर्दा एक हुल विधार्थी झोला बोकेर आए । उनीहरू जस्तै उमेरमा आफू पोछा लागिरहेको देखेर रविन्द्रले आफूलाई सम्हाल्न सकेनन्, धेरै रोए र जीवनमा केही गर्ने प्रण लिए ।
यसपछि साथीको सल्लाहमा उनले कराते, तेक्वान्दो र मिक्स मार्सल आर्ट सिक्न सुरु गरे । यसरी सिके कि उनि आफै गुरु बने । तर घरलाई पैसा चाहिएको थियो, परिवारले पैसा मागिरह्यो । रविन्द्रले पैसा कमाउन भने सकेनन् । यसैले नेपाल फर्किए, पासपोर्ट बनाए र विदेश जाने तयारी थाले ।
यस्तैमा एकदिन भारतबाट वान च्याम्पियनसिपमा लड्ने अवसर पाए । तर पैसा थिएन, उनले प्राक्टिस गरिरहेको दिविज पिया लामाले आधि पैसा हालिदिए र उनि भारत गए । रसियनसँगको फाइटमा जितेर आए । यो जित नै उनको जीवनको टर्नीङ्ग पोइन्ट बन्यो ।
यसपछि त हरेक खेलबाट विश्वभरका नेपालीमाझ उनि परिचित हुन थाले । २६ वर्ष देखिको त्यो संघर्षले अन्तत: उनलई जीवनमा केही बनायो । जुन आशु उनले संघर्षका दिनमा झरेका थिए, तीनै आशुले उनको सफलतामा झरे ।
आज उनि Road to UFC को सेमिफाइनलसम्म पुग्ने मिस्क मार्सल आर्ट्स (MMA) का पहिलो नेपाली बनेका छन्, उनलाई बधाई सहित आउँदो जितको लागि धेरै धेरै शुभकामना ।