22/09/2025
नेपाल सरकार का सहसचिव नरहरि घिमिरे लेख्नुहुन्छ..✍️🤗
प्रिय निजामती र सरकारी सेवामा नवप्रवेशी र आकांक्षि भाइबहिनीहरू!
विभिन्न सन्दर्भमा नवआकांक्षी भाइबहिनिहरूसंग भेटघाट, कुराकानी र छलफल हुन्छ । कतिपयले कसरी सरकारी सेवामा प्रवेश गर्ने, के पढ्ने, कसरी पढ्ने भनेर सल्लाह पनि माग्नुहुन्छ । यहाँहरूको सरकारी सेवामा प्रवेश गर्ने उत्साह, जाँगर र परिश्रमले मलाई आह्लादित बनाउँछ! हजारौं लाखौं युवा युवती रोगजारीको लागि बिदेशिंदै गर्दा यहाँहरूको देशभित्रै जीवन यापन गर्ने र त्यो पनि राष्ट्रसेवा गर्ने अभिलाषा र यसका लागि खर्चेको श्रम र पसिना देखेर मेरो मन उद्वेलित हुन्छ ।
सरकारी स्थायी सेवाका आफ्नै फाईदा र सकारात्मक पक्ष छन्! जुन तपाईंहरू पनि बुझेरै यसप्रति आकर्षित हुनुभएको होला भन्ने लाग्छ । सरकारी सेवामा नवप्रवेशीका लागि सबैभन्दा ठूलो सकारात्मक पक्ष भनेको रोजगारीमा स्थायित्व, निश्चित तलब र पेन्सन प्रणालीजस्ता सामाजिक सुरक्षा हो। नयाँ प्रवेश गर्ने व्यक्तिहरूले प्रतिस्पर्धा मार्फत प्राप्त पदमा कार्यरत भएपछि केही हदसम्म समाजमा प्रतिष्ठा, सम्मान र विश्वास प्राप्त गर्छन् । यससँगै पदोन्नति, तालिम र अनुभव आदिमार्फत व्यावसायिक सीप बढाउने अवसर पनि दिन्छ।
नवप्रवेशीका लागि सरकारी सेवा केवल रोजगारी मात्र नभई जीवनभर सुरक्षित भविष्य, सामाजिक हैसियत र समाजप्रतिको प्रत्यक्ष योगदानको माध्यम हो । यो राष्ट्रसेवा गर्ने अनुपम अवसर हो । मातृभूमी बुझ्ने अद्वितीय माध्यम हो । यो अमूल्य अवसर बिना परिश्रम प्राप्त हुन्न । तर सरकारी सेवा तपाईहरूले कानुनमा पढेको र बाहिरबाट देखे बुझेको मात्र हैन, अन्य पक्षहरू समेत छन् ।
सार्वजनिक सेवा राष्ट्र सेवकको सेवा हो! माथि नै भनियो, यो राष्ट्रप्रेम, देशभक्ति, जनसेवाका मूल्य मान्यताले ओतप्रोत हुने सेवा हो । यस सेवामा प्रवेश गर्दासम्म तपाईंहरूको योग्यता हेरिन्छ, merit-based हुन्छ! तर आजभोलि सरकारी र निजामती सेवाको साख जनतासामु खस्कँदै गएको, जनताको विश्वास गुम्दै गएको र सरकारी कर्मचारीले जनतासामु शीर ठाडो पारेर हिड्न नसक्ने अवस्थाको सिर्जना भएको छ । निजामती कर्मचारीहरू घुसखोरी, भ्रष्टाचारी, अनियमितता गर्ने, जनतालाई दुख र हैरानी दिने, आफ्नो स्वार्थ पूर्ती गर्ने, मोलाहिजा गर्ने जस्ता विभिन्न आरोपहरूको सामना गर्नुपरेको अवस्था छ भने सेवाभित्रका केही खराब मानिसहरूको कारण समग्र निजामती सेवालाई नै बदनाम गरिएको छ। हाम्रोजस्तो राजनीतिक, प्रशासनिक र सामाजिक संस्कार रहेको देशमा समग्र समाजभन्दा राम्रो निजामती सेवा पनि हुन सक्दैन । किनकी हाम्रो शिक्षा प्रणाली, सामाजिक परिवेश, प्रविधिगत परिवर्तन र भौतिकताबादी सोचले नैतिकता, इमान्दारीता, सामाजिक सेवाभाव, निस्वार्थता र निष्ठाजस्ता मूल्य मान्यतालाई तिलाञ्जली दिएर निजामती मात्र हैन सबै क्षेत्रमा अनैतिकता, अनियमितता, उपभोक्ताबादीता जस्ता कुराहरूलाई प्रश्रय दिएको छ । जसको कारण मानिसहरू जसरी पनि धन आर्जन गर्नुपर्छ भन्ने उद्देश्यबाट परिचालित देखिन्छन् ।
रामायणको बालकाण्डमा शुरुमै भनिएको छः-
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई । गर्न्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई ।।
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी । अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी ।।
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी । धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी ।।
यस्तो परिवेशमा सेवाप्रवेशपछि तपाईंहरूको योग्यता र क्षमताको मूल्य घट्दै जानेछ, नैतिकता र इमान्दारीता र निष्ठा भन्दा बेइमानी, झुठ र छलछाम गर्नेहरूको महत्व बढ्दै जानेछ !
आज म तपाईंहरूलाई सरकारी सेवाभित्रका यस्ता वास्तविकताहरू बताउन गईरहेको छु, जुन सेवा र संगठनमा रहेका औपचारिक नियम, कानुन र प्रणालीभन्दा धेरै कठोर छन् । एल्टन मायोले भनेजस्तो अनौपचारिक समूह र तिनको प्रभावले संगठनमा कार्यसम्पादनलाई प्रभाव पार्ने नै भयो । सेवा प्रवेशपछि तपाईंहरूले पनि यी अनौपचारिकतासंगै सकी नसकी उठबस गर्नुपर्ने हुन्छ जसरी हामी सेवाभित्र गरिरहेका छौं । तपाईंहरूले यी कुराहरू सेवा प्रवेश गर्नुभन्दा पहिले थाहा पाउनुभयो भने सेवा प्रवेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्न र प्रवेशपछि आफुलाई सोही अनुकूल समायोजन गर्न सहज हुन्छ; र सेवा प्रवेशपछि पछुताउनु पनि पर्ने छैन । यो सेवा यस्तो हो, जहाँ प्रवेश गर्न धेरै गाह्रो छ, प्रतिस्पर्धा उच्च छ र पनि आफ्नो मेहनत, योग्यता र क्षमताले प्रवेश गर्न सकिन्छ तर सेवा प्रवेशपछि धेरै कुराहरू आफ्नो नियन्त्रणभन्दा बाहिर हुन्छ, संगठन, वातावरण, कार्यसंस्कृति र अन्य धेरै कुराहरूले असर गर्न थाल्छ, छोडेर जान प्रवेश गरेभन्दा गाह्रो हुन्छ र धेरै अवस्थामा यो आफ्नो बशमा समेत हुन्न ।
सेवा प्रवेश गर्दा आफुमा जोश जाँगर हुन्छ, केही राम्रो गर्छु, बनाउँछु भन्ने पनि लाग्छ, केही गर्न सकिन्छ भन्ने मनमा आत्मबल पनि हुन्छ तर त्यो आत्मबल सेवाप्रवेशपछि विस्तारै कमजोर हुँदै जान्छ र केही वर्षपछि केही गर्न सकिन्न रहेछ भन्ने भावना बलियो हुंदै जान्छ ! योग्यताप्रणालीको लक्ष्मणरेखा लोकसेवा आयोगको गेटभित्र मात्रै हो, त्यहाँबाट निस्केपछि यो सकिन्छ अनि शुरु हुन्छ, पार्टी, गुट, दल, क्षेत्रियता, जात, थर, नातागोता, भनसुन र पैसाको शक्तिको खेल ।
सेवाभित्र तपाईंको योग्यता, क्षमता, ज्ञान र सीपको आधारमा तपाईंहरूलाई सुविधा र अवसरको वितरणमा सहभागी गराईंदैन । सेवाभित्र प्रवेश गरेपछि तपाई एउटा संख्यामात्र हो, एउटा कर्मचारीको संख्यामात्र । त्यसका लागि तपाईंले जुन स्थानमा रहेपनि तलब पाउनुहुन्छ । सेवाभित्र अन्य धेरै नदेखिने चुनौती, सुविधा र अवसरहरू हुन्छन् । जसको वितरण समानुपातिक र न्यायोचित छैन । जस्तो कि आफ्नो ज्ञान र सीपको प्रयोग हुने निकायमा काम गर्न, परिवारका सदस्य रहेकै स्थानमा सरुवा हुन वा घरपायक सरुवा हुन, विदेश यात्रामा छनौट हुन, चुनौतीपूर्ण कामको जिम्मेवारी पाउन, उच्च शिक्षामा अवसर पाउन, कानुनतः पाउने सुविधा राम्रो हुने कार्यालयमा काम गर्न पाउन, आफु सरहकाले कार्यालयबाट पाउने सुविधा पाउन, राम्रो काम गर्दा पुरस्कार पाउन, गलत गर्दा दण्डको भागिदार हुन (यो रहर सबैलाई नहुन सक्छ), परिवारको सदस्य बिरामी हुँदा बिदा पाउन यस्ता कुराहरूमा गतिलो मापदण्ड नभएका कारण र माथि भनिएजस्ता अनौपचारिक तत्त्वको प्रभावका कारण यी अवसरको वितरणमा गिद्धे शैली हाबि हुन्छ । यस्ता सुविधाहरू सेवाभित्र विक्रिमा छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यी तीन प्रकारले विक्रिमा छन्- कि त तपाईले त्यसका लागि मौद्रिक मूल्य नै तिर्नुपर्छ, जुन गैरकानुनी र अनैतिक हो । कि त नहुने काम पनि गर्दिन्छु, सहयोग गर्छु भनेर निश्चित स्थानमा सरुवा हुन माग्नुपर्छ र बाचा गरेर मात्र तपाईलाई सुविधामा सहभागी गराइन्छ वा सरुवा गरिन्छ र तेश्रो, तपाई शक्तिकेन्द्रको नजिकको आफन्त वा नातेदार, ढोके, हुक्के वा यस्तै केही हुनुपर्छ । पहिलोलाई प्रिपेड, दोश्रोलाई पोष्ट पेड भनिन्छ भने तेश्रोलाई कृपा भनिन्छ भन्ने चलन शायद तपाईंहरूलाई थाह छैन! हुंदा हुंदा सार्वजनिक सेवा यस्तो भईसकेको छ कि सरुवामा समेत अनियमितता हुनु कुनै नौलो कुरा होइन ।
तपाईलाई अचम्म पार्ने अरू कुरा पनि छन् । तपाई ईमान्दार र कामप्रति जिम्मेवार बन्न खोज्नुभयो भने तपाईलाईं जिस्काउने, “देश बनाउन आएको” भन्ने, घोचपेच र हांसोको पात्र बनाउने गरिन्छ। यसभन्दा पर पुगेर तपाईं आफुले देखेका गलत कामको बारेमा जानकारी दिन वा बिरोध गर्न लाग्नुभयो भने तपाईंलाई नै सिध्याउन लागिन्छ । अन्ट-सन्ट सरुवा गराईन्छ, दुख दिईन्छ, उजूर-बाजूर गरिन्छ। यसमा तपाईंकै वरिपरीका मान्छे ज्यान फालेर लाग्छन्! नलागुन् पनि किन? उनीहरूकै कुरा माथिमात्र हैन, धेरै माथिसम्म सुनिन्छ, उनीहरूको शक्ति केन्द्रका घर र बेडरुमसम्म पुग्ने तागत हुन्छ । तपाईंले कुनै नवीन काम, राम्रो काम गर्न लाग्नुभयो, यस्तो गर्न विचार आयो र कसैसंग त्यो छलफल गर्नुभयो भने तपाईको विचार कि त बेकार भनेर लत्याइन्छ कि त यसले पो जस लिने भयो भनेर अनेक बहाना गरेर रोकिन्छ र तपाईलाई हाँसोको पात्र बनाइन्छ । पछि कुनै बेला अन्य कसैले त्यो विचारको जस र त्यसबाट लाभ लिन्छ । कतै गलत गरेकोमा आफु मातहतका कर्मचारीलाई कारबाही वा सचेत गराउन लाग्नुभयो भने सुण्ड-मुण्ड लगाएर तपाईलाई धम्क्याईन्छ, त्रास देखाईन्छ । नेपालमा कर्मचारीलाई विभागीय प्रमुखले विभागीय कारवाही गर्न नसक्नुको मूल कारण यो हो । किन जोखिम लिईरहने भन्ने हुन्छ ?
सार्वजनिक सेवामा कार्यालय, मन्त्रालय, विभाग र अड्डाहरूमा एकले अर्कालाई सहयोग गर्ने, समस्या मिलेर समाधान गर्ने र जनता र राज्यको भलो चाहने भन्दा व्यक्तिगत दुनो सोझ्याउने, व्यक्तिगत फाइदाका अवसर लिनका लागि चाप्लुसी गर्ने, अरुका खुट्टा तान्ने, भेट हुँदा सराहना गर्ने तर पिठ्युपछाडि छुरा रोप्नेहरूको समेत कमी छैन । निजामती सेवा ठुलो संगठन भएकोले यहाँ समाजमा रहेका अन्य सबै खाले विकृति संगसंगै छन् । समाजभन्दा राम्रो सार्वजनिक सेवा हुन सक्दैन, यसैले भनिएको हो ।
जब तपाईं इमान्दार र कर्तव्यनिष्ठ हुँदा खेदाईमा पर्नुहुन्छ भने तपाईंमा पनि त्यो जांगर हराउँछ र संगठनमा क्रमशः अकर्मण्य, चाप्लुसी, चाकडीबाज, घुस्याहा, ठग र निजी लाभका लागि जे जस्ता हर्कत समेत गर्न पछि नपर्नेहरुको बाहुल्य हुंदै उनीहरूकै चंगुलमा संगठन यसरी फस्छ कि त्यहां सुधार गर्न खोज्ने, ईमान्दार हुन खोज्नेहरूलाई टार्गेट गरिन्छ र त्यस संस्था वा संगठनमा सुधारको कुनै गुञ्जाईस नै रहन्न ! अचम्मको कुरा त के हुन्छ भने इमान्दारहरूलाई उल्टै बदनाम गरेर खेदाईन्छ!
हाम्रो सार्वजनिक क्षेत्रमा यस्ता निकाय नै धेरै भइसकेका छन् ! यस्तोमा तपाईंले सुधारको कुरा गर्नुभयो भने उनीहरू पत्याउँदैनन्, “यसरी नै चल्ने हो” भनेर सहजै भनिदिन्छन् र तपाईमा बचेकुचेको अलिकति सुधारको भावनालाई पनि यीनिहरूको भनाइले निमिट्यान्न पारिदिन्छ । यस्ता “चालु” र “भ्रष्ट” हरूको आत्मविश्वासले नै भन्छ कि यस्ता अनियमितताका सञ्जाल कति गहिरोसंग जरा गाडेका छन् ! यिनीहरूबाट सुधार हुने कुरा त पर जाओस् सुधारबारे सुन्ने समेत धैर्य हुन्न किनकी सुधारका कुराले यिनीहरूलाई ...... मा खुर्सानी दलेजस्तो पीडा हुन्छ । भोली कसैले साँच्चै सुधार गर्यो भने कानुनको डण्डा पर्ला भन्ने डरले यिनीहरूको टेम्पर हाइ भैहाल्छ । तर यी Evil Forces को भन्दा Good Forces को आत्मबल बलियो हुनु आबश्यक छ, सत्य, निष्ठा र नैतिकता जत्तिको बल कुनै झुठ, बेइमान र अनैतिकतामा हुनै सक्दैन, जित सत्यकै हुन्छ तर धैर्य गर्नुपर्छ ।
तपाईंलाई खरिदमा मिलेमतो गर्न, ठेक्का पट्टा आफ्ना मान्छेलाई पार्न, सरकारी पदमा आफ्ना मान्छेलाई भर्ना गरिदिन, सार्वजनिक सम्पत्ति जस्तै वनजंगल, खोलानाला, ढुंगागिट्टी बालुवाका ठेक्का आफ्ना मान्छेलाई पार्न, सरकारी जमीन व्यक्तिका नाममा नामसारी गर्न, बिना प्रतिस्पर्धा ठेक्कामा लगाउन, कानुनले रोकेको काम गरिदिन, भन्सारबाट गैरकानुनी रूपमा सामान छुटाउन, नागरिकता, पासपोर्ट, सर्टिफिकेट सिफारिस जस्ता कागजात सच्च्याउन, थोरै मूल्य पर्ने सामानलाई धेरै मूल्यको बिल बनाउन, नभएको कामलाई गरेको, भएको भनी गलत प्रतिवेदन दिन, बजार अनुगमनमा गलत गर्नेलाई कारवाही नगर्न वा कम कारवाही गर्न, अन्य नियम उल्लंघन गर्नेलाई कारवाही गर्न खोज्दा कारवाही नगर्न, सवारी चालक जाँच फेल हुनेलाई लाइसेन्स निकाल्न र अन्य यस्ता सयौं गैरकानुनी, राज्यलाई नोक्सानी गर्ने, व्यक्तिहरूलाई फाइदा गर्ने काम गर्नका लागि विभिन्न खाले प्रलोभनमा पार्न खोजिनेछ, तपाईलाई लोभ, लालच लाग्न सक्छ, तपाईमाथि धम्की र दबाब पनि पार्न खोजिनेछ । यी सबै कुरालाई चिर्न र नैतिक बल राख्न सक्ने क्षमता तपाईंमाथि छ, तपाई लोभ र मोहको प्रभावमा पर्नबाट आफुलाई रोक्ने हिम्मत छ भने सरकारी/सार्वजनिक सेवामा आउनुहोला । आउनुहोला मात्रै हैन आउनैपर्छ, यस्तै कामकाजी, इमान्दार राष्ट्रसेवकको बहुमत बनाउन सक्यो भने मात्र सार्वजनिक सेवाप्रति जनताको गुमेको विश्वास आर्जन गर्न सकिन्छ । सरकारप्रतिको नागरिकको सम्बन्ध बलियो बनाउन सकिन्छ ।
तपाईंलाई राज्यले दिएको तलब भत्ताले सामान्य जीवनयापन गर्न पुग्छ, यसमा नै सन्तुष्ट हुन सक्छु र म ३०-४० वर्षसम्म यस प्रकारको वातावरण र परिवेशमा रहेर राष्ट्र सेवा गर्न सक्छु भन्ने र आफ्नो निष्ठामा आफुलाई विश्वास छ, त्यसको धरातल बलियो छ भन्ने लाग्छ भने सरकारी सेवामा आउनुहोला । आफुभन्दा माथिकाले, दायाँबायाँकाले गलत काम गराउन खोज्दा र तपाईले यस्तो काम गर्न सक्दिन भन्दा तपाईमाथि अप्रत्याशित रूपमा हुने अपमान र आक्रमण सहन गर्न सक्ने क्षमता र दृढता छ भने यस सेवामा आउनुहोला । यस्ता मान्छे पनि यस सेवामा छन्, धेरै छन् । सबै खराबमात्र छैनन् । तर तपाईंले यस्ता मान्छे चिन्न र सर्कल बनाउन सक्नुपर्छ ।
अर्कोतर्फ म चाकडी पनि गर्छु, अन्य परिआएको सबै गर्छु, धन्दा चलाउन सकिने अड्डाहरूमा सरुवा हुन्छु, त्यसका लागि प्रिपेड-पोष्टपेड-बादाइ सबै गर्छु, राज्यको कानुनले अपराध मानेको र समाजले अनैतिक मानेको काम पनि गर्छु, त्यसको लागि सरकारी सेवालाई भऱ्याङ बनाउँछु भन्ने सोच राख्ने हो र यस प्रकारको धन्दा सधै चलिरहन्छ र म पनि जोगिइहाल्छु भन्ने लाग्छ भने सेवामा नआउनुहोला । यस्ता काम गर्दा २-४ पैसाले तपाईको भविष्य शायद सुन्दर पनि होला, गैरकानुनी र अनैतिक आर्जनले तपाईको देखावटी बैभव बढ्ला तर कानुन र जनताको नजरबाट यस्ता कुराहरू लुक्ने छैनन् र कारवाहीको दायरामा आउनु नै पर्नेछ । गलत मार्गबाट आर्जन गरेको पैसाले कसैलाई पनि सन्तुष्टि हुनेछैन । अनैतिक र गैरकानूनी काम गर्ने सोचमा हुनुहुन्छ भने कृपया सरकारी सेवामा नआउनुहोला, यसबाट तपाईहरूको आफ्नो जिन्दगी पनि राम्रो हुनेछैन, जनतालाई समेत हुनेछ र राज्य कमजोर हुनेछ ।
आगे तपाईहरूकै मर्जी !!