11/12/2025
अस्ट्रेलियाली वृद्धाश्रममा ७६ वर्षीया महिलामाथि यौन आक्रमण: आरोपी पुरुष दोषी ठहर
न्यू साउथ वेल्सको कोफ्स हार्बरस्थित एक वृद्धाश्रममा घुसपैठ गरी ७६ वर्षीया अशक्त महिलामाथि यौन आक्रमण गरेको आरोपमा एक अस्ट्रेलियाली पुरुष दोषी ठहर भएका छन्।
३१ वर्षीय हैडन कार्ल स्किनरले २०२४ जनवरी १ को बिहान वृद्धाश्रमको कोठामा पसेर महिलामाथि हमला गरेको अदालतले पुष्टि गरेको हो। स्किनरले अदालतमा आफू मूल्यवान सामान खोज्न मात्र भित्रिएको र महिलाले नै आफूमाथि आक्रमण गरेको दाबी गरेका थिए। तर न्यायाधीश माइकल म्याकह्यूले उनका सबै दाबी अस्वीकार गर्दै उनलाई सहमतिविना गरिएको यौन आक्रमण अभियोगमा दोषी ठहर गरे।
अदालतमा प्रस्तुत प्रमाणअनुसार, घटनापछि पीडित महिला कराउँदै गलैँचामा अर्धनग्न अवस्थामा भेटिएकी थिइन्। महिलाले छोरालाई, छोराको साथीलाई र एक नर्सलाई तुरुन्तै कोठाभित्रै मास्क लगाएको व्यक्तिले हमला गरेको बयान दिएकी थिइन्।
घटनास्थलबाट प्रहरीले महिलाको पाइन्ट, अन्तर्वस्त्र र इनकन्टिनेन्स प्याड ओछ्यानछेउमै फेला पारेका थिए। अदालतमा स्किनरको DNA महिलाका कपडामा, शरीरका संवेदनशील भागमा र नङमुनि समेत भेटिएको तथ्य प्रस्तुत गरिएको थियो।
स्किनर वृद्धाश्रमको बार फालेर भित्र पसेका थिए। पीडित महिला आँधीहेर्न निस्कँदा स्लाइडिङ ढोका लक नगरेकाले उनी सजिलै कोठामा छिरेको अनुसन्धानले देखाएको छ।
स्किनरले महिलाले आफूलाई समातेर ओछ्यानमा तानेको, कपाल र शरीरका अन्य भाग समातेको दाबी गरे पनि अदालतले उक्त बयानलाई अविश्वसनीय ठहर गर्यो। साथै बचाउ पक्षका वकिलले महिलाको बयान अस्थिर रहेको तर्क गरे पनि अदालतले स्वीकार गरेन।
घटनापछि केही दिनमै स्किनर पक्राउ परेका थिए र अहिले पनि हिरासतमै छन्।
उनी फेब्रुअरी २ मा फेरि अदालतमा उपस्थित हुनेछन्, जहाँ उनको सजायको मिति तोकिनेछ।
-विभिन्न अष्ट्रेलियन सञ्चारमाध्यमहरूको सहयोगमा तयार गरिएको।