06/01/2026
नेपालमा “नेपो बेबी” भन्ने शब्द अहिले चलनमा आएको भए पनि यसको अभ्यास भने दशकौँ पुरानो हो। मेरो विचारमा यो केवल केही व्यक्तिको समस्या होइन, नेपाली प्रणालीकै संरचनागत रोग हो, जहाँ अवसर योग्यता भन्दा पहिचानले निर्धारण गर्छ।
राजनीतिमा हेर्दा नेतृत्व हस्तान्तरण जनमत र संघर्षभन्दा पनि परिवारभित्रै घुमिरहन्छ। जनताको नाममा सत्ता चढ्नेहरू आफ्नै सन्तान र नातेदारलाई अगाडि सार्न कुनै हिचकिचाहट देखाउँदैनन्। यसले लोकतन्त्रलाई वंशानुगत अभ्यासमा सीमित बनाइदिएको छ। मतदाता बदलिन्छ, तर शक्ति केन्द्र उही परिवार वरिपरि घुमिरहन्छ।
मिडिया र मनोरञ्जन क्षेत्रमा पनि यही प्रवृत्ति दोहोरिन्छ। स्थापित परिवारबाट आएका अनुहारलाई ‘स्टार क्वालिटी’ को नाममा सहजै मञ्च दिइन्छ, जबकि बाहिरबाट आएका प्रतिभाशाली युवाहरू वर्षौँसम्म अवसरको ढोका ढकढक्याइरहन्छन्। यसले संघर्षको मूल्य घटाउँछ र प्रतिभामाथि अन्याय गर्छ।
व्यापार र प्रशासनिक क्षेत्रमा नेपो कल्चर अझै सूक्ष्म तर गहिरो छ। ठेक्का, पद, अवसर र पहुँच सीमित घेराभित्र बाँडिँदा प्रतिस्पर्धा मर्छ र नयाँ सोच जन्मिन पाउँदैन। यही कारण सक्षम युवा विदेशिन बाध्य छन्, किनकि उनीहरूलाई थाहा छ। यहाँ मेहनतभन्दा “को चिनेको छौ” भन्ने प्रश्न भारी पर्छ।
नेपो बेबी हुनु व्यक्तिको दोष नहुन सक्छ, तर नेपो बेबीलाई प्राथमिकता दिने प्रणाली अवश्य दोषी हो। यदि हामीले यसलाई सामान्य मानिरह्यौँ भने नेपालमा योग्यता होइन, थर नै भविष्य तय गर्ने चलन झन् बलियो हुँदै जानेछ।
मेरो निष्कर्ष स्पष्ट छ। नेपालले प्रगति गर्ने हो भने सम्बन्ध होइन, क्षमता, वंश होइन, योग्यता र पहुँच होइन, परिश्रम लाई केन्द्रमा राख्नुपर्छ। नत्र “नेपो बेबी” केवल शब्द मात्र होइन, हाम्रो असफल लोकतन्त्रको परिचय बन्दैछ।